• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • स्थानीय सरकार

शैक्षिक गुणस्तर बृद्धिका लागि कक्षा घटाउँदै बागलुङ नगरपालिका  

  • ब‌ैशाख ११, २०८१

बागलुङ -     पछिल्लो समयमा सामुदायिक विद्यालयमा विद्यार्थींको संख्या घट्दै गएको छ । बढ्दो बसाईसराई र शहरी क्षेत्रको रोजाईका कारण सामुदायिक विद्यालयमा विद्यार्थीका संख्या घट्दै गए पछि जिल्लाको बागलुङ नगरपालिकाले विद्यालय स्थगन तथा विद्यालयको कक्षा घटाएको छ । नगरक्षेत्र भित्रका सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर बृद्धि गर्नका निम्ती यो अभियान संचालन गरेको नगरपालिकाले जनाएको छ । नगरभित्रका  १४ वटा वडामा चार विद्यालयलाई स्थगन गर्नुका साथै ३१ विद्यालयको कक्षा घटाएर तह मिलान गरेको हो । बागलुङ नगरपालिकाले शैक्षिक गुणस्तर बृद्धि गर्दै लिड विद्यालय, आवासीय सहितको विद्यालय र बिग विद्यालयको अवधारणा कार्यान्वयनका लागि  विद्यार्थी थोरै भएका ३१ सामुदायिक विद्यालयको हाल भइरहेको कक्षाको तह घटाएको हो ।  
विद्यार्थी संख्या नभएका विद्यालयहरुमा जनशक्ति केन्द्रित हुँदा पठन पाठनमा गुणस्तरीयता कायम गर्न नसकिएको भन्दै विद्यालय स्थगन तथा तह घटाउने निर्णयमा पुगेका बागलुङ नगरपालिकाले जनाएको छ । बागलुङ नगरपालिका–९ तित्याङका रानेभूमि प्रावि र सरस्वती प्रावि स्थगन गरिएको छ । त्यस्तै लक्ष्मीनारायण संस्कृत पाठशाला बानपा—१३ र कालिगण्डकी प्रावि बानपा—१२ पनि यस अगाडि नै स्थगनमा गएको हो ।
३१ विद्यालय तह मिलान
 विद्यालयमा भौतिक पूर्वाधार थपिदै जाने र विद्यार्थीको संख्या घट्ने अवस्थामा विद्यार्थीको संख्याका आधारमा कक्षा सञ्चालन गर्दा गुणस्तरमा वृद्धि हुँने विद्यार्थी संख्या धेरै भएको विद्यालयमा शिक्षकको अभाव नहुँने र विद्यालयमा गरिएको लगानी सदुपयोग हुने भएकाले बागलुङ नगरपालिकाले ३१ विद्यालयको तह मिलान गरी घटाइएको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताए । 
नगरपालिकाले दुई वर्ष सम्म गरेको विद्यालयको अध्ययन अनुसार विद्यालय तह मिलान कार्यविधि अन्र्तगत तहमिलान गरिएको श्रेष्ठको भनाई छ । “१३ औं नगरसभाबाट विद्यालय व्यवस्थापन गर्ने सम्बन्धमा भएको निर्णय, नगर शिक्षा समितिको सुझाव र विद्यालयको स्थलगत अनुगमन समितिको सिफारिस प्रतिवेदनको आधारमा विद्यालय स्थगत र तह मिलान गरेको हो” नगरप्रमुख श्रेष्ठले भने “तह घटाउदा एक घण्टा हिड्नेपर्ने अवस्थाका विद्यालयलाई असर पारिएको छैन, न्यून विदार्थी भई घर नजिकै बैकल्पिक विद्यालय भएका विद्यालय छनौट गरेर तह घटाइएको छ, तह घटाउदा धेरै हुन आएका शिक्षकलाई विद्यार्थी संख्याको अनुपातमा दरबन्दी मिलान गरिन्छ ।” 
तह घटाएका ठाउँमा बालविकास केन्द्र संचालन
तह घटाइएपछि बालविकास केन्द्र संचालन हुने विद्यालयको संख्या ८, बालविकास केन्द्र र कक्षा एक मात्र संचालन हुने विद्यालयहरु ११, कक्षा एक मात्र सञ्चालन हुने विद्यालय १, कक्षा एकदेखि तीनसम्म संचालन हुने विद्यालय ५, कक्षा एकदेखि चारसम्म संचालन हुने विद्यालय दुई र चार विद्यालयमा कक्षा एकदेखि ६ कक्षासम्म सञ्चालन हुने छ । नगरपालिकाले विद्यालयमा गरेको लगानी बालुवामा पानी भएको भन्दै विद्यार्थी भएको विद्यालयमा मात्रै भौतिक पूर्वाधार, प्रविधि र अंग्रेजीमा पठनपाठन गराउनेगरी तह मिलान गर्न थालेको नगरउपप्रमुख राजु खड्काले बताए । 
खड्काका अनुसार जनसंख्या बढ्दा आवश्यकता देखिएर समुदायस्तरको पहलमा खोलिएका विद्यालयहरुमा क्रमश घट्दो जनसंख्या, बसाई सराई, संस्थागत विद्यालयमा आकर्षण जस्ता कारण विद्यालयमा विद्यार्थीको संख्या अपुग हुन थालेपछि विद्यालय घटाउन थालिएको हो । नगरपालिकाले टाढाका विद्यार्थीलाई आवसीय सहितको विद्यालय बनाउने र गुणस्तरी शिक्षामा जोड दिनका लागि एकिकृत विद्यालयको अवधारणा ल्याइएको नगरशिक्षा अधिकारी धनप्रसाद पोख्रेलले बताए । 
“कतै शिक्षकले विद्यालय कुर्नुपर्ने त कतै विद्यार्थीले शिक्षक नपाउने अवस्था हाम्रो नगरमा आयो, एक हजार ३०० विद्यार्थी भएको विद्यालय, जिल्लाकै नमूना विद्यालय हाम्रै नगरभित्र छन्, तर एउटा÷दुईवटा विद्यार्थी पढाएर शिक्षक बस्नुपर्ने अवस्था अन्त्य गर्न आवश्यक छ, त्यहाँका विद्यार्थीलाई आवासीय सहितको सुविधा दिन सकिन्छ” पोख्रेले भने “तत्कालै स्थगन गरिएका र तह घटाइएका विद्यालयमा विद्यार्थी संख्या बढेमा पुन विद्यालय सञ्चालनमा ल्याउन सकिने र तह बढाउन सकिन्छ, अहिले स्थगन गरिएका दुई विद्यालयलाई वार्षिक दुईलाख खनुदान दिइनेछ, जसबाट त्यहाँका विद्यार्थी नजिकको विद्यालयमा पठाउन सहजीकरण हुनेछ ।”
विद्यार्थीको संख्या बृद्धि भए पुन संचालनमा ल्याउने
विद्यालय स्थगन र तह मिलानपछि धेरै हुन आउने शिक्षकहरुलाई सोही वडाभित्रका आवश्यक रहेका विद्यालयमा व्यवस्थापन गरिने नगरपालिकाका सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतम बताउँछन ।  नजिकमा विद्यालय नभएको, अलग्गै बस्ती र भौगोलिक विकटता भएको विद्यालय तथा कक्षा स्थगनले पढाईबाट बञ्चित हुने बालबालिकालाई आवश्यक वैकल्पिक व्यवस्था मिलाइएको गौतमले जानकारी दिए ।  । नगरपालिकाले स्थगन भएका विद्यालयमा सञ्चालित प्रारम्भिक बालविकास कक्षा आवश्यक रहेसम्म कायम राखिने, स्थगन भएका विद्यालयमा दोब्बर संख्यामा विद्यार्थी उपलब्ध भए पुनः विद्यालय संचालन गर्न सकिने जनाएको छ । 
नगरपालिकाले यो अभियान संचालन गरे सँगै वडा तहबाट विद्यालयको संख्या नघटाउन दबाब आएको छ । दबाब आए पनि नगरपालिकाले गरेको निर्णय कार्यान्वय हुने नगरप्रमुख श्रेष्ठले बताए । 
स्थगन भई खाली हुने विद्यालयलाई वडा कार्यालयको संरक्षकत्वमा विद्यालय छात्रावास, पुस्तकालय, सामुदायिक सिकाई तथा प्रशिक्षण केन्द्र, सामुदायिक प्रयोजनका भवन, टोल सुधार, महिला समूहको भवनको रुपमा प्रयोगमा ल्याईने छ । 
दिवा खाजामा अब २० रुपैयाँ
अनुगमन समितिले तय गरेको मापदण्ड बमोजिम विद्यालय स्थगन भई विद्यार्थीहरु जाने विद्यालयको लागि बढीमा २ लाख र तह मिलान हुने विद्यालयहरुलाई प्रतिकक्षा बढीमा २५ हजारको दरले एक पटकको लागि अनुदान दिइने छ । यस्तै नगरपालिकाले नेपाल सरकारले दिवा खाजाका लागि दिने १५ रुपैयामा नगरले ५ रुपैयाँ थप अनुदान निकासा दिईने छ । यसो गर्दा दिवा खाजामा मात्रै नगरपालिकाको वार्षिक ५० लाख अतिरिक्त खर्च हुनेछ । 

प्रतिक्रिया