बागलुङ- बागलुङ नगरपालिकाले अन्टार्कटिका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मालाई सम्मान गरेको छ । मंगलबार बागलुङ नगरपालिकाले आयोजना गरेका बसपार्क उद्घाटन कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको हातबाट नगद २५ हजार र सम्मानपत्रले विकलाई सम्मान गरिएको हो । झण्डै ३८ वर्षअघि एन्टार्टिकामा पाईला टेकेका भुवनसिंहलाई बागलुङमा पहिलो पटक सम्मान गरिएको बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए ।
‘उहाँ बागलुङ नगरपालिकाकामा जन्मनु भएको भन्ने कुरा हामीलाई पनि थाहा थिएन, युट्युबतिर देखेपछि बल्ल थाहा भो,’उनले भने,‘त्यसपछि मैले उहाँलाई सम्मान गर्नुपर्छ भनेर बोलाएको हुँ । बागलुङको नाम चिनाउने देशकै नाम चिनाउने व्यक्तिलाई सम्मान गर्नु हामी सबैको दायित्व हुन्छ ।’ मुख्यमन्त्रीकै हातबाट सम्मान गर्दा त्यसको गरिमा बढ्ने भएकाले अहिले नै उनलाई सम्मानका लागि बोलाएको उनको भनाई छ । विक बागलुङ नगरपालिका—१४ नारायणस्थान जन्मघर भई हाल बुटवल बस्दै आएका छन् ।
लामो समयपछि भए पनि जन्मठाउँमा सम्मान पाउँदा खुसी लागेको भुवनसिंह बताउँछन् । ‘मलाई पूर्व पश्चिम धेरैतिर सम्मानका लागि बोलाउँदा पनि बागलुङमा अहिलेसम्म कसैले सम्झेका थिएनन्,”उनले भने,‘मलाई मनमा कता कता लाग्थ्यो म त बागलुङकै माटोमा जन्मेको मान्छे हो । किन यस्तो भयो होला भनेर कुरा खेल्थ्यो ।अहिले नगरप्रमुखले बोलाएर मलाई सम्मान गर्नुभयो । म त निकै खुसी छु ।’ २०४३ सालमा भारतीय सेनाको प्राविधिक टोलीले अध्ययनका लागि अन्टार्कटिका जाँदा उनी पनि त्यो दलमा सहभागी थिए ।
अन्टार्कटिका पुगेको पहिलो नेपाली भएपछि उनलाई राजा बीरेन्द्रले तत्कालिन समयमा गोरखा दक्षिणबाहु दोस्रो पदकबाट सम्मान गरेका थिए । पहिलो पटक भुवनसिंह एन्टार्कटिका पुग्दा नेपाल झण्डासंगै यहाँको माटो पनि लिएर गएको बताए । उनको यो योगदानलाई झल्काउने अन्टार्कटिकामा नेपाली माटो भन्ने वृत्तचित्र समेत तयार भएको छ ।