बागलुङ- बागलुङ क्षेत्र नं. १ का प्रतिनिधि सभा र प्रदेश सभाका पाँच दलिय गठबन्धनका उम्मेदवारहरुले आफुहरु प्रति मतदाता उत्साहीत रहेको बताएका छन । चुनावी प्रचार प्रसार कार्यक्रमको बुधबार अन्तिम दिन पश्चात पत्रकार भेटघाट कार्यक्रममा बोल्दै तिन वटै उम्मेदवारले मतदाता उत्साहित रहेको बताएका छन ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा गठबन्धनको तर्फबाट बागलुङ निर्वाचन क्षेत्र न. १का प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका चित्र बहादुर केसीले गाउँ गाउँमा पुग्दा मतदाताको उत्साहले आफुलाई पनि झै उत्साह थपेको बताए । उनले प्रतिगमनको विरुद्धको यो लडाईमा जनताको साथ रहनेमा आफुहरु विश्वस्त रहेको बताए । केसीले देशमा अझै पनि लोकतन्त्र असुरक्षित रहेको भनि दुःख व्यक्त गरेका थिए । उनले दुई–दुई पटक संसद विघटन गरि प्रतिगमन गरेका तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीबाटै लोकतन्त्र असुरक्षित रहेको औल्याए ।
‘दुई–दुई पटक संसद भङ्ग गरेका, सर्वोच्च अदालतको फैसलालाई समेत उल्टाएका र नौ महिनासम्म संसदलाई बन्दक गराउने ओली र राजा फर्काउनु पर्छ भन्ने राप्रपा संयुक्त चुनावी मैदानमा छन’ उनले भने–‘यदि उनीहरुले जिते भने पहिलो प्रहार गणतन्त्र र धर्म निरपेक्षलाई गर्नेछन् ।’
उनले ओलीको प्रतिगामी कदम मुलुकको लागि खतरनाक भएको समेत औल्याए । २०१७ साल र २०५९ सालमा राजाद्वारा भएको ‘कू’मा बैदेशिक समर्थन नभएको तर ओलीले संसद बिघटन गर्दा भारतीय समर्थन समेत रहेको उल्लेख गर्दै त्यसले मुलुकलाई झनै कमजोर बनाएको बताए ।