बागलुङ - मोवाइल फोनमा ठुलो स्वरमा कुरा गरेको आरोपमा आफ्नै सहकर्मीले धारीलो हतियार प्रहार गर्दा एक युवकको ज्यान गएको रहस्य खुलेको छ । गत साउन २६ गते राती जिल्लाको काठेखोला गाउँपालिका वडा नं. ३ माझकटेरामा उनको हत्या भएको हो ।
ढोरपाटन नगरपालिका वडा नं. ७ घर भइ वडा नं. ५ बस्ने ३६ वर्षिय अशोक खत्रीको आफ्नै साथीले चक्कु प्रहार गरेर हत्या गरेको प्रहरीले खुलासा गरेको छ ।
काठेखोला गाउँपालिका वडा नं. ३ माझकटेराका देवेन्द्र खत्रीको घरमा ओखरको बिरुवा रोप्नका लागि खाडल खन्न आएका ढोरपाटन नगरपालिका–५ का २५ वर्षिय अर्जुन घर्तीमगर र ३६ वर्षिय रिखे दमाईले उक्त हत्या गरेको खुलासा भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाइले जानकारी दिए ।
साउन २६ गते खाडल खन्ने काम सकेर बास बस्ने गरेको स्थानमा फर्केपछि तीनै जनाले रक्सी सेवन गरेको र फोनमा कुरा गर्दा चर्को आवाज बोलेको भन्दै अर्जुनले अशोकमाथि चक्कु प्रहार गरेको प्रहरी अनुसन्धानमा खुलेको हो ।
घाँटीमा लागेको चोटपछि अत्याधिक रक्तश्रावले खत्रीको मृत्यु भएको पाइएको प्रहरी उपरीक्षक प्रसाईले बताए । ‘ घटना रातीको पौने १० बजे को समयमा भएको रैछ , प्रहरीले उनिबेलै सूचना पाएको थियो । तत्काल उद्दार टोली खटायौं’ प्रसाईले भने, ‘स्थानियको सहयोगमा राती नै उनीहरुलाई पक्राउ गरेर ल्यायौं ।प्रतिवादीलाई म्याद थपेर अनुसन्धान अगाडि बढाइरहेका छौं । ’
साउन २० गतेदेखि नै प्रतिवादी घर्ती र खत्री काममा हिंडेका थिए । तर, बिच बाटोमा खत्रीले काम परेको भन्दै घर फर्किएका थिए । साउन २४ गते मात्र मृतक खत्री सोही काममा आएका थिए ।
तीनैजना स्थानीय एक विद्यालयको कोठामा बस्दै आएकोमा उक्त दिन पनि संगै काम गरेर फर्केपछि रक्सी सेवन गरेका थिए । अघिल्लो दिनको सामान्य झगडाको विषय उठाएर फेरी झगडा थपिएपछि घर्तीले तरकारी काट्ने चक्कुले गर्दनमा प्रहार गरेको खुलेको हो ।
घटनामा प्रयोग भएको चक्कु, रगत लागेका कपडाहरु समेत प्रहरीले संकलन गरी ल्याएको छ । दुवै जनालाई कर्तव्य ज्यान मुद्दा अगाडि बढाउने तयारी भएको प्रहरीले बतायो । मृतक खत्रीको एक पत्नि, १२, ९ र ७ वर्षका तीन छोरा रहेका छन् । गर्भवती रहेकी पत्नि दिलमाया भण्डारीले किटानी जाहेरी दिएपछि प्रहरीले मुद्दा अगाडि बढाएको हो ।
घटनाको बारे विस्तृत विवरण सार्वजनिक गर्दै प्रहरी प्रमुख फडिन्द्र प्रसाई