मूल्य वृद्धिको विरोधमा बागलुङमा एमालेका जनसंगठनहरु आन्दोलनमा

  • जेठ १२, २०७९

बागलुङ- सरकारले गरेको मूल्य वृद्धिको विरोधमा बागलुङमा एमालेका जनसंगठनहरु निरन्तर आन्दोलनमा उत्रीएका  छन् । एमालेका जनसंगठनहरु अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल महिला संघ लगायतले मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरिरहेका छन् ।

एमालेका जनसंगठनहरुले पहिलो दिन जेठ ९ गते जीपपार्क चोकमा सडकमा चुलो बाल्नुका साथै खाली सिलिण्डर र सवारी साधन प्रदर्शन गरेर सांकेतिक रुपमा विरोध प्रदर्शन गरेका थिए ।

मूल्यवृद्धिका विरुद्धमा अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले जेठ १० गते आव्हान गरेको देशव्यापी आन्दोलनका क्रममा बागलुङको लोकतान्त्रिकचोकमा विरोध प्रर्दशन गरे । विरोध प्रर्दशनका क्रममा जेठ ११ गते धौलागिरी बहुमुखी क्याम्पसको गेटबाट मशाल जुलुश प्रदर्शन गरेका थिए ।

मुल्यवृद्धि फिर्ता गर लगायतका नारा लगाउदै युवा, विद्यार्थी र महिलाहरुको जुलुशले बजार परिक्रमा गरेको थियो । विरोध जुलुशमा नेकपा एमालेका विभिन्न जनसंगठनमा आवद्ध महिला, युवा तथा विद्यार्थी नेता कार्यकर्ताको सहभागिता रहेको थियो । धौलागिरी बहुमुखी क्याम्पस गेटबाट शुरु भएको मशाल जुलुश जिल्ला प्रशासन कार्यालय हुदै बजार परिक्रमा पछि लोकतान्त्रिकचोकमा पुगेर सम्पन्न भएको थियो ।

प्रतिक्रिया