बागलुङ - जिल्लाको बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१।०८२ को निति तथा कार्यक्रम र बजेटका निर्माणका लागि सुझाव संकलनमा जुटेको छ । टोल—टोल र वडा तहमा सुझाव संकलनको काम सकाएको नगरपालिकाले नगरस्तरमा विभिन्न सरोकारवालाहरु बजेटको बारेमा छलफल चलाएको छ ।
आगामी असार १० गते सम्म नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने प्रावधान अनुसार नगरपालिकाले राय सुझाव संकलनको तयारी थालेको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए ।
नगरपालिकाले निवर्तमान नगरप्रमुख जनकराज पौडेल सहित नगरका पुर्व जनप्रतिनिधिहरु नगरक्षेत्रमा क्रियाशिल विभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधिहरु, संघसंस्था, सञ्चारकर्मी, समाजसेवी, उद्योगी व्यवसायी र आमनागरिकबाट आगामी वर्षको निति तथा कार्यक्रम कस्तो बनाउने त्यसका बारेमा राय सुझाव सहित छलफल संचालन गरेको हो ।
‘हामी समृद्ध बागलुङ नगरको परिकल्पनाका साथ आगाडी बढेका छौं । यसमा हरेक क्षेत्र र वर्गका नागरिकको सल्लाह सुझाव र साथ चाहिन्छ नगरप्रमुख श्रेष्ठले भने,—‘आउँदो वर्षको निति तथा कार्यक्रम कस्तो बनाउने र बजेटमा कुन कुन योजनालाई प्राथमिकतामा राख्ने त्यो आम नागरिकको सुझावबाटै नगरपालिकाको कार्यक्रम र बजेट निर्माण हुनेछ । त्यसका लागि सवै नागरिकको सल्लाह र सुझावका लागि छलफल चलाएका छौं ।’ उनले सवै क्षेत्रबाट उठेका कुरालाई समेटर उत्कृष्ट निति र बजेट बनाउने योजना नगरपालिकाको रहेको बताए ।
सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, पर्यटन पुर्वाधार, सार्वजनिक सेवा प्रवाह र सुशासनका सवालमा विभिन्न रायसुझावहरु प्राप्त भएको र तिनलाई आत्मसाथ गरी नगरपालिका आगाडी बढ्ने नगरप्रमुख श्रेष्ठको भनाई छ ।
नगरपालिकाले निति तथा कार्यक्रम बजेट ल्याउनु अगाडी यसरी छलफल गरेर योजना बनाउने यो उकृष्ट कार्य भएको छलफलमा सहभागीले बताउछन् । उनिहरुले नगरपालिकामा दिर्घकालिन देखिने योजनालाई प्राथमिकतामा राखेर अगाडी बढ्नुपर्ने र बजेटलाई कनिका छरेछै सानो—सानो योजना बनाउन नहुने सुझाव दिएका थिए । ‘सामाजिक संघ संस्था सँग ‘जोईन्ट इभेन्ट’मा काम गरौं, नगरको विकासका लागि सवैको उत्तिकै दायित्व छ सहभागी गैसस महासंघ बागलुङका उपाध्यक्ष मणिभद्र शर्माले भने,—‘नगरको आउँदो निति तथा कार्यक्रम उत्पादनमा आधारित कार्यक्रमका साथै हरेक विकासमा बहुपक्षित सहभागीता हुनुपर्छ । यहाँको संस्कृति जोडिनुपर्छ, शिक्षा स्वास्थ्य, कृषि, पर्यटन मुल आधार हुन यिनलाई अझै विकसित हुने कार्यक्रम अगाडी बढाऔं ।’ उनले हरेक योजना बनाउनुपुर्व तथ्याङ्क आवश्यक पर्ने हुँदा नगरपालिकाले आउँदो वर्ष तथ्याङ् संकलनको कामलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए । छलफल कार्यक्रममा सहभागीहरुले स्थानिय उत्पादनलाई प्राथमिकता दिनुपर्ने, बाँझो जग्गा सदुपयोग, युवालाई विदेशिनबाट कसरी रोक्न सकिन्छ त्यसका लागि नयाँ कार्यक्रम ल्याउनुपर्ने बताएका थिए ।
छलफलमा नगरपालिकामा ल्याउन सकिने नविनतम कार्यक्रम र कुन योजनालाई कस्तो प्राथमिकतामा राख्ने भन्ने विषयमा पनि छलफल गरिएको प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कंडेलले बताए । नगरपालिकाको निति तथा कार्यक्रम अधिकतम समुदायको माग अनुसार विगतका वर्षमा भन्दा अझै उत्कृष्ट बनाउनका निम्ती सर्वपक्षिय छलफल गरिएको हो ।