महिला स्वास्थ्य स्वयंसेविकालाई मोवाइल फोन

  • मङ्सिर २१, २०८२

बागलुङ, -जिल्लाको निसीखोला गाउँपालिका महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकालाई मोबाईल फोन वितरण गरिएको छ । निसीखोला गाउँपालिका वडा नंं २ को कार्यालयले २३ औँ महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका दिवसमो अवसरमा सम्मान सहित मोबाईल फोन वितरण गरेको हो । समुदायमा नागरिकको स्वास्थ्य सेवामा सहजता होस भन्ने उद्देश्यका साथ वडा भित्र रहेका १० जना स्वयं सेविकालाई मोवाइल फोन बितरण गरिएको वडा अध्यक्ष कुबिर विश्वकर्माले जानकारी दिए । 
“महिला स्वास्थ्य स्वयं सेविका हाम्रो समाजको धरोहर हुन । स्वस्थ्य समाज निर्माणमा यिनिहरुको भुमिका महत्वपूर्ण हुन्छ । उनिहरुलाई उत्प्रेरणा जगाउन मोबाईल फोन वितरण गरिएको हो, अध्यक्ष विश्वकर्माले भने,–हात हातमा मोबाईल फोन भए पश्चात गर्भवती महिला र बालबालिकाको खोप लगाउनका निम्ती फलोअपका काम पनि हुन्छ । यसले आम नागरिकलाई नै सहज बनाउने छ ।” उनले महिला स्वास्थ्य स्वंय सेविकालाई राज्यबाट प्रदान हुने सेवा न्युनतम मात्र रहेको हुँदा वडा तहबाट थप प्रोत्साहनका कार्यक्रम संचालन गरिएको बताए । 
स्वयं सेविकाको हात–हातमा मोबाइल फोन भए पश्चात गण्डकी प्रदेशमा संचालन भएको गर्भवती दर्ता तथा अनुगमन कार्यक्रममा गर्भवती दर्ता गर्न र नियमित फलोअपका साथै बालबालिकाको खोपमा पनि थप सहयोग पुग्ने टारीफाँट आधारभुत स्वास्थ्य सेवा केन्द्र प्रमुख विमला परियार बताउँछिन । बितरण गरिएको मोवाइलमा नेपाली भाषा टाइप गर्न सकिने छ । ‘पहिले गाउँमा कुनै महिला गर्भवती भएमा उहाँकै घरमा पुग्नुपर्ने बाध्यता थियो केही वर्ष पहिले मेडिक मोबाईल मार्फत स्वंमसेविकालाई मोबाइल फोन दिएको थियो, स्वास्थ्य संस्था प्रमुख परियारले भनिन्–‘त्यसैबाट उहाँहरुले गर्भवतीलाई दर्ता गर्ने बच्चाको खोपका लागि फोन गर्ने गर्नुहुन्थ्यो त्यो बेलाको मोबाईल फोन पुरानो पनि भै गयो, त्यही कामलाई सहज होस भनेर नयाँ मोबाईल फोन वितरण गरेका हौँ । यो स्वयं सेविकाका लागि प्रोत्साहन पनि हो  । ” मोबाइल फोनकै माध्यमबाट स्वास्थ्य संस्थामा सेवा प्रवाहका लागि सहज हुने बताईन । 
शैक्षिक रुपमा कमजोर र ग्रामीण तथा दुर्गम स्थानमा बस्नेहरुले नियमित तालिका अनुसार गर्भ परीक्षण लगायतका लागि स्वास्थ्य संस्थामा आइरहन नपाउने, कतिपय त घरमै सुत्केरी हुने खतरा समेत छ । तसर्थ मोवाइल मार्फत नियमित सम्पर्कमा रहेर स्वास्थ्य संस्थामा ल्याउने पहलका लागि मोवाइल फोन प्रदान गरेको अध्यक्ष वि.कले जानकारी दिए ।उनले पछिल्लो समय वडामा आम नागरिकको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन अन्य घरदैलो भेट, आमा समूहको बैठकमा स्वास्थ्य सेवा बारे जानकारी दिने काम पनि गराइएको बताए ।  
महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाले स्थानियस्तरमा स्वस्थ्य समाज निर्माणको राम्रो भुमिका खेलेका हुन्छन । उनिहरुले सुरक्षित मातृ, शिशु तथा परिवार योजना कार्यक्रम, नवजात शिशुस्याहार, बालरोग, पोषण, यौन तथा यौन जन्य रोग, नसर्ने रोगहरु व्यक्तिगत सरसफाई तथा जनस्वास्थ्य अभियानमा पनि समाजमा सघाउँदै आएका छन । उनिहरुले प्राथमिक उपचारमा सहयोगका साथै स्वास्थ्य सम्बन्धि जनचेतना समुदाय सम्म पु¥याउँदै आएका छन । 
बिशेषगरी आमा र बालबालिकाको स्वास्थ्य सुरक्षा अभियानमा मेडिक मोबाईलको सहयोगमा गण्डकी प्रदेशमा संचालन भएको गर्भवती दर्ता तथा अनुगमन कार्यक्रम थप प्रभावकारीता बनाएसँगैै नियमित गर्भजाँच गर्ने गर्भवती महिलाको संख्या पनि बढ्दै गएको छ । यसका साथै फेयरमेड फाउण्डेसन, नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको सम्बोधन कार्यक्रमले पनि विभिन्न सहयोग गरेको छ । पछिल्लो समय स्वास्थ्य आमा समूहको बैठकमा नियमित स्वास्थ्य शिक्षाको जानकारी गराउने, स्वास्थ्य संस्थाको भौतिक उन्नती र अत्यावस्यक उपकरण खरिदका लागि परियोजनाले सहयोग गरेको छ । परियोजनाले जिल्लाका स्वास्थ्य संस्थामा ल्याब स्थापनाका  साथै गर्भवती महिलाको लागि प्रसुती प्रतिक्षा कक्षको निर्माण समेत गर्दे आएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय