काँग्रेस बागलुङका नेताको आग्रह- विशेष महाधिवेशनमा सहभागी बनौँ 

  • पुस २६, २०८२

बागलुङ-     नेपाली कांग्रेस बागलुङका उपसभापति र सचिव सहित क्षेत्रीय र प्रदेश सभा समितिका सभापति र गाउँ नगरपालिकाका सभापतिहरुले विशेष महाधिवेशनमा सहभागी हुन आग्रह गरेका छन । 
पुस २७ र २८ गते काठमाण्डौमा हुने विशेष महाधिवेशनको पूर्वसन्ध्यामा शुक्रवार विभिन्न जिम्मेवारीमा रहेका १२ जना नेताहरुले महाधिवेशन प्रतिनिधिहरुको नाममा सार्वजनिक पत्राचार गर्दै महाधिवेशनलाई ऐतिहासिक र अर्थपूर्ण ढंगले सम्पन्न गराउनका लागि सहभागि बन्न आग्रह गरेका छन । 
नेपाली कांग्रेस बागलुङको आधिकारिक पत्रमा उपसभापति तारानाथ पौडेल, सचिव हरिहर शर्मा, क्षेत्र नं. १ का क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेल, क्षेत्र नं. २ का क्षेत्रीय सभापति जोकलाल बुढा मगर, क्षेत्र नं. १ प्रदेश सभा (ख) का सभापति दल बहादुर श्रीस राना, क्षेत्र नं. २ प्रदेशसभा (क) का सभापति तिलक घर्ति मगर, बागलुङ नगरपालिकाका सभापति उमाकान्त शर्मा (बाबु), जैमिनी नगरपालिकाका सभापति प्रेम सापकोटा, गलकोट नगरपालिकाका सभापति बीरजंग भण्डारी, काठेखोला गाउँपालिकाका सभापति यामदत्त कंडेल, बरेङ गाउँपालिकाका सभापति तुलसीराम पौडेल, ताराखोला गाउँपालिकाका सभापति कमलापती पाठकले महाधिवेशन प्रतिनिधिका नाममा सार्वजनिक पत्र पठाउदै विशेष महाधिवेशनमा सहभागी हुन आव्हान गरेका हुन् ।

नेपाली कांग्रेसका तमाम कार्यकर्तासंगै आम जनताले खोजेको रुपान्तरित र परिवर्तनशिल पार्टी निर्माण गर्ने महाअभियानमा यति बेला पार्टी जुटेको छ, पत्रमा भनिएको छ,–‘कांग्रेस बदल्ने र कांग्रेससंगै देश बदल्ने संकल्प र अठोट गरेर कांग्रेसले आगामी बाटो तय गर्नु पर्छ ।’ कांग्रेसलाई रुपान्तरण गर्ने लक्ष्यका साथ नेपाली कांग्रेसको विधान अनुसार विशेष महाधिवेशन आव्हान भएको ठहर उनिहरुको रहेको छ । सम्पूर्ण नेपाली जनता, अन्य राजनीतिक दल, नागरिक समाजका साथै नेपाली कांग्रेसका आम समर्थक शुभेच्छुकहरुले कांग्रेसको विशेष महाधिवेशन र यसबाट निस्कने निष्कर्षलाई उत्साहित भएर हेरिरहेको वर्तमान समयमा विशेष महाधिवेशनलाई विशेष र अर्थपूर्ण बनाउनु पर्नेमा नेताहरुले जोड दिएका छन् । यस अघि विशेष महाधिवेशनको पक्षमा हस्ताक्षरमा सहभागी नबने पनि क्षेत्र नं. १ का क्षेत्रीय सभापति पौडेलले महाधिवेशन प्रतिनिधिलाई  सहभागी बन्न आग्रह गरेका छन । उनि सहित जिल्लाबाट हस्ताक्षर नगरेका केही महाविधेशन प्रतिनिधि थप हुने काँग्रेस श्रोतले बताएको छ ।  
जिल्ला सभापति जित शेरचन सहित सचिव गण्डकी थापा अधिकारी, पूर्व सभापतिहरु प्रकाश शर्मा पौडेल, मणिभद्र शर्मा पौडेल, हरिप्रसाद श्रेष्ठ भने नियमित महाधिवेशनको पक्षमा रहेका छन । 


 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय