नारायण रिजाल, (बागलुङ) पौष ११ गते देखी बागलुङमा गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषी, औद्योगिक तथा व्यापार मेला एवं सातौं बागलुङ महोत्सव संचालन भएको छ । महोत्सवमा विभिन्न सांगितिक कार्यक्रम, रमाईलो मेला, स्थानिय उत्पादन र आयातित वस्तुका स्टल, रेष्टुरेन्ट संचालनमा रहेका छन । आयोजक बागलुङ उद्योग बाणिज्य संघले स्थानिय उत्पादनलाई प्राथमिकतामा राखेर महोत्सवको मुख्य मञ्चको दाया तफ ‘मेड इन बागलुङ’ नाम दिएर बागलुङमा उत्पादन हुने वस्तुहरु विक्रि वितरण तथा प्रदर्शनका लागि राखेको छ । यही स्टल अहिले महोत्सवको मुख्य आर्कषणको रुपमा रहेको छ । स्थानिय उत्पादनको रुपमा राखिएको गुन्द्रुक, भाँगो, अल्लोको कपडा, मकैको पिठो, कोदाको पिठो लगायतका बस्तुहरु महोत्सवको मुख्य आर्कषण भएका छन । यसका साथै नेपाली कागज र सिस्नोको धुलो भुटेको मकै, टिमुर, आलु, सिल्टुमुर, मुलाको धजरा लगायतका सामग्री बिक्रीका लागि राखिएका छन् ।
महोत्सवको आयोजक संस्था बागलुङ उद्योग बाणिज्य संघले जिल्लाका स्थानिय तहसँग समन्वय गरेर स्थानिय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मेड इन बागलुङ’को स्टल राखेको हो । स्थानिय रुपमा उत्पादन हुने बस्तुहरु अधिकाशं जिल्लाको ताराखोला गाउँपालिका र जैमिनी नगरपालिकाका रहेका छन । महोत्सवमा उत्कृष्ट कृषि उपज प्रदर्शन गर्ने किसानलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
महोत्सव मार्फत जिल्लाको पहिचान दिने तथा स्थानीय उत्पादनको बिक्रीसँगै प्रचारप्रसार गर्ने उद्देश्यले स्टलमा यहाँको स्थानिय उत्पादन राखिएको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेलले जानकारी दिए । यहाँ उत्पादनलाई स्थान दिएर स्थानीय उत्पादनको महत्व बढाउन सहज हुने उनले बताए । महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेलास्तरमा विकास गर्न लागिएको बताउँदै जिल्लामा पाइने भाँगो, गुन्द्रुक र रातो च्याउलाई नेपालभर चिनाउन आवश्यक रहेको उनले बताए । ‘यहाँको उत्पादनलाई देशका विभिन्न स्थानमा पु¥याउनु छ, किसानले उत्पादन गरेको बस्तुलाई निर्यात गर्न सकियो भने जिल्लाकै आर्थिक विकासमा टेवा पुग्ने छ कंडेलले भने,—‘ स्थानिय उत्पादनलाई प्रोत्साहन गर्नका निम्ती महोत्सव अवधिभर निशुल्क रुपमा स्टल राखेर विक्रि वितरण र प्रर्दशन गरिएको छ । यसलाई आगामी दिनमा थप विकसित गर्दै जानेछौं ।’
स्टलमा जैमिनी नगरपालिका—३ दमेकमा रहेको रुद्रताल सामाजिक उद्यमी महिला सहकारी मकै, भटमास, आलु चिप्स, काँकोको गुन्द्रक, सिस्नोको पाउडर, मङ्सिरे सिमी र भाँगो बिक्रीका लागि राखेको छ । “नगरपालिका र कृषि ज्ञान केन्द्रको सहयोगमा आलु चिप्स, सिस्नोको पाउडर र गुन्द्रुकको ब्राण्ड बनाएर बिक्रीका लागि महोत्सवमा आएका छौँ, सहकारीका अध्यक्ष चित्रा छन्त्यालले भनिन्—‘स्टलमा किन्ने सँगै हेर्नेको पनि भिडभाड छ, कम्तीमा प्रचारप्रसार होस् भन्ने हाम्रो चाहना छ, महोत्सवले स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर स्टल उपलब्ध गराएकोमा हामी धन्यबाद दिन्छौं ।’ उनले दैनिक २ हजार देखी ३ हजार सम्मको व्यापार भएको बताईन ।
अध्यक्ष छन्त्यालका अनुसार सहकारीमार्फत स्थानीय उत्पादनको बजारीकरण गर्दा दमेकका महिलालाई आयआर्जनमा सहयोग पुग्नेछ । महोत्सवमा ताराखोला गाउँपालिकामा उत्पादित सेतो र रातो च्याउ, अल्लोको कपडा, धागो, नेपाली हाते कागज, आलु, मकै र सिल्टिमुरलगायतका वस्तुलाई स्टलमा राखिएको छ ।
महोत्सवमा जिल्लाको ताराखोला गाउँपालिकाको ताराखोला उद्यम विकास अन्तर्गत स्थानीयस्तरमा उत्पादन भएका स्थानिय वस्तुको बजारीकरण गर्न बागलुङ बजार आएको उद्यम विकास सहजकर्ता विना सलामीले बताईन । उनका अनुसार ताराखोलामा पाइने स्लेट ढुङ्गा पनि प्रदर्शनीमा राखिएको छ ।
स्थानीय उत्पादनका बारेमा जानकारी नभएर बजार नपाएको बेलामा महोत्सवमा बिक्रीसँगै प्रचारप्रसार हुनु राम्रो पक्ष रहेको ताराखोला गाउँपालिका उपाध्यक्ष भिम बहादुर रोकाले बताए । उनले गाउँपालिकाले स्थानिय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले महोत्सव अवधीभर स्थानिय उत्पादित वस्तुहरु राखिने बताए । गाउँपालिकाले स्थानिय उत्पादनलाई बजारिकरण गर्नका निम्ती उद्यम विकास सहजकर्ता राखेको छ । पौष २१ गते सम्म संचालन हुने महोत्सवमा स्थानीय उत्पादनको बिक्री राम्रो हुनेछ भन्नेमा आशाबादी रहेको उपाध्यक्ष रोका बताउँछन । गाउँपालिकामा उत्पादन हुने आलु, भाँगो, टिमु, सिलटिमुर, कोदाको पिठो लगायतका बस्तुहरु राखिएको छ ।
जिल्लामा हुने यस्ता मेला महोत्सवमा स्थानिय उत्पादनलाई प्राथमिकता दिन सकेमा बजारिकरणका लागि सहज हुने किसानहरु बताउँछन । महोत्सवमा कर्मसियल बहुउद्देश्यीय सहकारी र मनसुन फुड्स एण्ड एग्रो प्रोड्क्टले पनि स्थानिय रुपमा उत्पादित वस्तुहरु विक्रिका लागि राखेका छन । महोत्सवमा एक सय ५० भन्दा बढी स्टल छन् । महोत्सव अवधिभर १० करोड भन्दा बढिको कारोबार गर्ने लक्ष्य आयोजकको हरेको छ ।