चौथो चिल्ड्रेन लाईफ कप फुटबल प्रतियोगिता हुने

  • माघ ९, २०८२

बागलुङ- चौथो संस्करणको चिल्ड्रेन लाईफ कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ । चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब बागलुङको आयोजना र चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुलको सहआयोजनामा माघ ९ गतेदेखि १२ गतेसम्म प्रतियोगिता हुन लागेको बिहिबार पत्रकार सम्मेलन गरेर जानकारी गराईएको छ ।
चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबका अध्यक्ष नवराज श्रेष्ठले राष्ट्रिय खेलाडी उत्पादन गर्ने सुरुवाती उद्गमस्थल विद्यालय भएकाले विद्यालय केन्द्रित प्रतियोगितालाई निरन्तरता दिइएको बताए । चिल्ड्रेन लाईफले २०७५ सालमा प्रथम, २०७६ सालमा दोस्रो र २०८० सालमा तेस्रो चिल्ड्रेन लाईफ कप प्रतियोगिता सम्पन्न गरेको थियो ।
अध्यक्ष श्रेष्ठले जिल्लाको खेलकुदको विकास गर्दै आन्तरिक पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउनु प्रतियोगिताको उद्देश्य रहेको बताए । प्रतियोगिताले नवप्रतिभावान फुटबल खेलाडीहरुको अन्तर्निहित खेल कौशल प्रदर्शन गर्ने उचित अवसर प्रदान गर्ने अध्यक्ष श्रेष्ठको भनाई छ । उहाँले विद्यालयहरु विचको सम्बन्ध, सहकार्य र भाइचारालाई विकास र विस्तार गर्नको लागि विद्यालय स्तरिय प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए । 
प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः ५५ हजार ५ सय ५५ रुपैयाँ र ३३ हजार ३ सय ३३ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँले सेमिफाइनल पुग्ने टिमले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने बताउनुभयो । प्रतियोगितामा विद्यागत तर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड सहित प्रत्येक खेलको म्यानअफदि म्याच, सर्वोत्कृष्ट खेलाडी र उच्च गोलकर्तालाई पुरस्कृत गरिने छ । यस्तै फ्यान अफदि म्याचको पुरस्कार समेत प्रदान गरिने जनाइएको छ ।
प्रतियोगिता संचालनको लागि ५ लाख बढी खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले प्रतियोगिता संचालनको लागि क्लबका शुभचिन्तकहरुले सहयोग प्रदान गरेको जानकारी दिए । अध्यक्ष श्रेष्ठले प्रतियोगितामा १२ टिमको सहभागिता रहने बताउँदै कक्षा १२ सम्म नियमित अध्ययनरत विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाउन पाउने जानकारी दिए । नकआउट चरणमा खेलाइने प्रतियोगिताका सम्पूर्ण खेलहरु बागलुङ नगरपालिका–१ को बाङ्गेचौर खेलमैदानमा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया