अब देशको प्रमुख राजनितिक शक्ति भनेकै काँग्रेस हो–नेता पौडेल

  • कार्तिक ५, २०७८

बागलुङ– नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेलले  देशको प्रमुख राजनितिक शक्ति भनेकै अब नेपाली काँग्रेस हुने दाबि गरेका छन । उनले मुलुकका हरेक संकटका काँग्रेसको नेतृत्वले सामना गरेको हुँदा अबको पहिलो राजनिति शक्तिको रुपमा काँग्रेस स्थापित हुने बताएका छन । 
नेपाली काँग्रेस बागलुङ नगरपालिका–९ तित्याङले आयोजना गरेको अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै पौडेलले आम कार्यकर्तालाई देशको पहिलो शक्ति निर्माणका लागि लाग्न आग्रह गरेका हुन । उनले १४ औं महाधिवेशनबाट काँग्रेसमा झनै सवल  कुशल नेतृत्व स्थापित हुने बताए । पौडेलले आम कार्यकर्तालाई अधिवेशनको क्रममा भएका आन्तरिक प्रतिस्पर्धा भएका कुरालाई तत्कालै भुलेर आउँदा निर्वाचनमा काँग्रेसको पक्षमा जनमत पार्नका लागि संगठन विस्तारमा लाग्न आग्रह गरे ।  ‘पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धा त्यो केही क्षणका लागि मात्र हो पौडेलले भने–‘सवै मिलेर पार्टी संगठनलाई बलियो बनाउनका निम्ती हामी लाग्नुपर्छ । हामी आफु– आफु भन्दा पनि प्रतिपक्ष सँग लड्नका लागि बलियो बनौं । आउँदा निर्वाचन जित्नु छ सोही अनुसार संगठन सुदृढिकरणमा लागौं ।’ 
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति दिपेन्द्र बहादुर थापा, पुर्व सभापति हरिप्रसाद श्रेष्ठ, महासमिति सदस्य एवं १४ औं महाधिवेशनमा जिल्ला सभापतिका उम्मेदवार जगदिशचन्द्र उपाध्यायले बागलुङ काँग्रेसको संगठन बलियो बनाउनका लागि वडा देखी जिल्ला तह सवैको उत्तिकै दायित्व हुने बताए । 
कार्यक्रममा महासमिति सदस्य भिम श्रीष, काँग्रेस बागलुङका आमन्त्रीत जिल्ला सदस्य चण्डीप्रसाद शर्मा पौडेल, बागलुङ नगरपालिकाका नगर सभापति उमाकान्त शर्मा ‘बाबु’, नेपाल शिक्षक संघ बागलुङकका उपाध्यक्ष, सिता शर्मा, बानपा–८ का सभापति छमबहादुर कार्की लगायतले बोलेका थिए । कार्यक्रममा नेकपा एमाले विनोद खड्काको नेतृत्वमा पाँच दर्जन कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका थिए । कार्यक्रम नेपाली काँग्रेस बागलुङ नगरपालिका–९ तित्याङका सभापति राजु थापाको अध्यक्षता उप–सभापति रामबहादुर जिसीको स्वागत र सचिव मनबहादुर थापा क्षेत्री ‘बाबुराम’ को संचालनमा सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया