बागलुङ- जिल्लाको बडिगाड गाउँपालिकाको १२ औँ गाउँसभा सम्पन्न भएको छ । सभाले दुई वटा ऐन संशोधन गरेको छ भने एउटा ऐन पारित गरेको छ । आर्थिक ऐन २०७९ र विनियोजन ऐन २०७९ संशोधन गरेको गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिए ।
सभाबाट बडिगाड गाउँपालिकाको शिक्षा ऐन २०७९ पारित भएको अध्यक्ष अधिकारीको भनाई छ । बैठकमा गाउँपालिकको अर्ध वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । बैठकमा चालु आर्थिक वर्षका थप कार्यक्रमका बारेमा चर्चा भएको थियो ।
सो अवसरमा नवौँ राष्ट्रिय खेलकुदमा बडिगाड गाउँपालिकाबाट सहभागी पदक बिजेता खेलाडीहरुलाई सम्मान गरिएको थियो । बैठकमा बोल्दै अध्यक्ष अधिकारीले जनताको जनजिविकासँग जोडिएका विषयलाई मुख्य प्राथमिकता दिएर काम गर्ने बताए ।
भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगार अहिलेको आवश्यकता भएको हुँदा यसैमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता बताए। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भिमसेन वन, प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी, वडा अध्यक्षहरु र कर्मचारीहरुको सहभागीता रहेको थियो ।