बागलुङ नगरको स्वास्थ्यको बार्षिक प्रगति सार्वजनिक

  • साउन २, २०८०

बागलुङ । जिल्लाको सवै भन्दा ठुलो स्थानिय तहको रुपमा रहेको बागलुङ नगरपालिका स्वास्थ्य शाखा आफ्नो बार्षिक प्रगती प्रतिवेदन सार्वजनिक गरेको छ । शाखा अन्तरगत सम्पादिन गत आर्थिक वर्षमा सम्पन्न कार्यक्रमको बारेमा आर्थिक तथा भौतिक प्रगती सार्वजनिक गरेको हो ।  स्वास्थ्य शाखाले आ.व. ०७९।८० ससर्त तर्फ ९७ प्रतिशत, निसर्त तर्फ ५८ प्रतिशत वित्तिय प्रगति गरेको छ । त्यसैगरी भौतिक प्रगती तर्फ  सर्सतका कार्यक्रममा ९० प्रतिशत र निसर्त तर्फ ७६ प्रतिशत प्रगती गरेको स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए ।  नगरपालिकाको समस्याको रुपमा रहेको हात्तिपाईले रोग निवारण अभियानमा यस वर्ष ९६ प्रतिशत नागरिकलाई औषधी खुवाउन सफल भएको छ । नगरपालिकाका वडा नं. १४ मा हात्तिपाईले रोग निवारण हुन नसकेपछि जिल्लामै १४ औं पटक आम औषधी खुवाउने कार्यक्रम संचालन गरिएको थियो । 
नगरपालिकाले वडा नं. ७ को  सिगानामा बर्थिङ सेन्टर स्थापना गरी सुरक्षित सुत्केरी सेवा प्रदान गरेको छ । नगर भित्र ४२ जना आमाहरुलाई सुरक्षित सुत्केरी सेवा, २४३ सुत्केरी जाँच, १५० जना गर्भवतीहरुलाई अल्टासाउण्ड, वृहत स्वास्थ्य शिविर मार्फत एक हजार ९३७ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको स्वास्थ्य शाखा संयोजक खनालले बताए । 
नगरपालिकाले  विभिन्न वडाका ३१० जना विपन्न व्यक्तिलाई निःशुल्क स्वास्थ्य बीमा गरिएको छ ।  जसमा गरिब तथा विपन्न परिवार रहेका छन । 
प्रगति सार्वजनिक कार्यक्रममा बोल्दै नगरप्रमुख बसन्त कुमार श्रेष्ठले नगरपालिकाको स्वास्थ्य शाखामा सामूहिक भावनामा काम भइरहेको बताए । उनले स्वास्थ्यलाई प्राथमिकतामा राखेर हरेक नागरिकलाई सर्भसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने नगरको उद्देश्य रहेको बताए । श्रेष्ठले स्वास्थ्य शाखाले नागरिकको घरमै पुगेर स्वास्थ्य सेवा दिने योजना बनाउन आग्रह गरे । उनले १४ वटै वडामा विभिन्न माध्ययमबाट हरेक नागरिक १० देखी १५ मिनेटको दुरीमा स्वास्थ्य सेवाको पहुँचमा पुग्ने गरी नगरपालिकाले सेवा प्रदान गर्ने बताए । कार्यक्रममा  नगरउपप्रमुख राजु खड्काले स्वास्थ्य क्षेत्र अति संवेदनशिल भएको बताउदै नागरिकले अनुभुती गर्ने गरी सेवा दिन आग्रह गरे ।  कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले स्वास्थ्य क्षेत्रको प्रगतीले नगरपालिकाको प्रगतीलाई सघाएको बताए । कार्यक्रम नगर स्वास्थ्य शाखा संयोजक राम प्रसाद खनालको सहजीकरण तथा स्वास्थ्य शाखाका विष्णु प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया