प्रेस युनियन गण्डकीमा ८ विभाग गठन, सदस्यता शुद्धीकरण गर्न अध्यक्ष लम्सालको निर्देशन

  • फाल्गुण १६, २०७९

पोखरा - नेपाल प्रेस युनियन गण्डकी प्रदेशले विभिन्न विभाग गठन गरेको छ । सोमबार पोखरामा बसेको कार्यसमिति बैठकले विभिन्न ८ वटा विभाग गठन गरेको हो । उपाध्यक्ष माधव रेग्मीको संयोजकत्वमा अनुशासन विभाग गठन भएको छ भने महासचिव प्रकाश ढकालको संयोजकत्वमा संगठन विभाग गठन भएको छ । यस्तै, कोषाध्यक्ष सन्देश पौडेलको संयोजकत्वमा आर्थिक समिति, उपाध्यक्ष संगीता केसीको संयोजकत्वमा प्रशिक्षण, अर्की उपाध्यक्ष शारदा झेंडी मगरको संयोजकत्वमा भ्रातृ तथा शुभेच्छुक संस्था समन्वय विभाग, सचिव नारायण रिजालको संयोजकत्वमा प्रचारप्रसार तथा प्रकाशन विभाग, सचिव अन्जना तिमिल्सेनाको संयोजकत्वमा महिला विभाग र अर्का सचिव मोहसिन अलिमियाँको संयोजकत्वमा अन्तराष्ट्रिय समन्वय विभाग गठन गरिएको छ । बैठकले प्रेस युनियनको सदस्यता वितरण र नवीकरणमा जोड दिएको छ । फागुन २० गतेसम्म नयाँ सदस्य र नवीकरणको विवरण जिल्लाले प्रदेशमा प्रदेशलाई सिफारिस गर्ने र २७ गतेभित्र प्रदेशले केन्द्रमा सिफारिस गर्ने निर्णय छ ।

सँगै सदस्यता शुद्धीकरणमा जोड दिन जिल्लाहरुलाई प्रदेशले आग्रह गरेको छ । सदस्यता नवीकरण र वितरणका लागि जिल्लासँग समन्वय गर्न सम्बन्धित जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई जिम्मेवारी दिइएको छ । यस्तै, बैठकले आगामी कार्यसमिति बैठक लमजुङमा गर्ने र बैठकको व्यवस्थापनका लागि कोषाध्यक्ष पौडेललाई जिम्मेवारी तोकिएको महासचिव प्रकाश ढकालले जानकारी दिए । बैठकलाई सम्बोधन गर्दै प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले संगठनको हितका लागि जिम्मेवार भएर खटिन सबैलाई निर्देशन दिएका छन् । उनले चैतभित्र जिल्ला अधिवेसन सम्पन्न गर्ने र त्यसपछि तालिमका कार्यक्रम सुरु गर्ने बताए । उनले जिल्लामा प्रेस युनियनले सन्चालन गर्दै आएको पत्रकारिता पुरस्कारको लगत संकलन गर्न पनि प्रदेश समितिलाई निर्देशन दिए । ‘प्रेस युनियनलाई रचनात्मक र क्रियाशिल बनाउन सबै एकजुट हुनुस् ।

अन्तरक्रियाका कार्यक्रमहरु सञ्चालन गर्नुस्,’ उनले भने, ‘सबै पत्रकारले विश्वास गर्न सक्ने गरी युनियनमा आकर्षण थपिने कार्यक्रमहरु गर्नुपर्छ । केन्द्रीय समिति तपाईंहरुको साथमा छ ।’ प्रदेश अध्यक्ष टंकराज अधिकारीको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज ऋषिकान्त पौडेलले संगठन क्रियाशिलता र व्यवसायिक पत्रकार उत्पादनमा युनियन सक्रिय हुनुपर्ने धारणा राखे । बैठकले हरेक ३ महिनामा प्रदेशका विभिन्न जिल्ला पुगेर घुम्ती बैठक गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया