को बन्ला काँग्रेस बडिगाडको सभापति

  • असोज ७, २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया सुरु भएको छ । वडा तहको अधिवेसन सम्पन्न भएर अहिले पालिका तहको अधिवेनसको चटारो सुरु भएको छ । यही असोज ९ गतेका लागि तोकिएको पालिका अधिवेसनका लागि बागलुङमा विभीन्न पालिकाहरुमा काँग्रेस नेतृत्वमा पुग्न चाहानेहरुले उम्मेदवारी घोषणा गरेर प्रचार प्रसार अगाडि बढाएका छन् । अहिले च्यानल र प्यानल मिलाउनेदेखि क्षेत्रीय प्रतिनिधि भेट्ने प्रक्रियाहरु चलिरहेका छन् । बागलुङको बडिगाड गाउँपालिकामा तीन जनाले उम्मेदवारी घोषणा गरेका छन् । 
अहिले पार्टी सभापति रहेका वडा नम्बर ५ का वडाध्यक्ष अर्जुन खरेल, सहसंयोजक रहेका वडा नम्बर ७ का वडाध्यक्ष कृष्ण गुरुङ र वडा नम्बर ६ का वडाध्यक्ष मौसमकाजी क्षेत्रीले आफूलाई नेपाली काँग्रेस बडिगाड गाउँपालिकाको आगामी सभापतिका लागि प्रस्तुत गरेका छन् । कृष्ण घिमिरेको विषयमा पनि पार्टी सभापतिको चर्चा चलेको छ । सभापतिको दाबी गर्दै उम्मेदवारको रुपमा प्रस्तुत गरेका खरेल, गुरुङ र क्षेत्रीलाई हामीले सोधेका छौं । तपाई नै पार्टी सभापति किन त ? 


सङ्गठन सुधार गरेर बलियो पार्टी बनाउँछु—अर्जनुप्रसाद खरेल
मैले खास गरी पार्टीलाई प्रमुख ठानेर उम्मेदवारी दिन खोजेको हो ।

ठूलो भूगोलको गाउँपालिका । पार्टीको काम गर्दै गर्दा अपुरो समिति भएका कारण काम राम्रोसंग गर्न पाइएन । प्रभावकारी काम गर्न सकिएन । अब अधिवेशनबाट निर्वाचित ६८ जनाका टिम हुँदै गर्दा र काम गर्दै गर्दा भातृ तथा शुभेच्छुक संघ संस्थालाई सशक्त पार्दै प्रशिक्षण तालिमको कार्यक्रम गर्ने योजना छ । मैले दुई कार्यकाल ग्वालीचौरको सभापति भएर काम पनि गरेकाले मेरो योग्यता र क्षमताले पालिकाको सभापति हुन योग्य छु भन्ने लाग्छ । यो अधिवेशनबाट निर्वाचित सभापतिको रुपमा स्थापित भए लाग्ने योजना छ ।
 मैले पार्टीमा गरेका क्रियाकलापहरु पार्टीका लागि सुधार, प्रशिक्षण केही भएका छन् । त्यसलाई बलियो टिम निर्माण गरेर आगामी दिनमा बडिगाड काँग्रेसलाई अझ सशक्त बनाउने योजनामा छु । सबैको समान धारणा बनाएर सबैलाई समेटेर संगठन सुधार गर्नेछु । पार्टीलाई सशक्त बनाउने र संगठन सुधार गर्ने नै प्रमुख हो । स्थानीय तहको पुनः संरचनापछि मलाई संयोजक दिइयो । 
चुनावमा होमियो तर सबै ठाउँ भूगोलको अवस्था बारेमा जानकारी थिएन । अहिले धेरै अनुभवहरु लिएर काँग्रेसालाई सशक्त बनाउन सकिन्छ भन्ने लागेको छ । सबैका बीचमा संवाद गरेर अगाडि बढ्ने वातावरणको सिर्जना मैले गर्छु । स्थानीय निर्वाचनमा बडिगाड गाउँपालिकालाई स्थापति गर्नका लागि सबैलाई मिलाएर लैजाने योजना अनुसार म अगाडि बढ्नुपर्छ ।
 म क्याम्पस जीवनमा २०४८ सालदेखि पाल्पामा पढ्दा बागलुङ पाल्पा समितिको उपसभापति भएँ , नेविसंघ भए, शिक्षक रहँदा शिक्षक संघ इलाका ११ को संयोजक भएँ । म ग्वालीचोरको दुइ कार्यकाल सभापति भएँ । अहिले म पार्टीको पालिका संयोजक छु । ग्वालीचौरको वडाध्यक्ष पनि छु । त्यस कारणले गर्दा म पार्टीको बडिगाड गाउँपालिकाको एक कार्यकाल पूर्ण कार्यसमिति हाँकेर पार्टीलाई सशक्त र बलियो बनाउने योजना रहेको छ । 
२१ औं शताब्दीको प्रशिक्षित र प्रविधि अनुकुल काँग्रेस—कृष्ण गुरुङ
नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने कुरा मैले गरेको छु र यस विषयमा धेरै जना साथीहरु सकारात्मक पनि हुनुहुन्छ । हामी सकेसम्म सहमतिमै पार्टीको नेतृत्व चयन गर्ने गरी छलफलहरुमा छौं । स्थानीय निर्वाचन पनि आएको छ, त्यसले गर्दा हामी मिलेरै अगाडि जानुपर्छ भन्ने हो । अहिले पनि म पार्टीको बडिगाड गाउँपालिका सहसंयोजक भएका कारणले सभापतिमा मेरो दाबी स्वाभाविक रुपमा छ । सांगठनिक संरचनालाई सक्षम र जुझारु बनाउनका लागि मैले सभापतिको रुपमा भूमिका खेल्नेछु । अहिले पार्टीमा कार्यसम्पादन मूल्याङ्कनको प्रवृत्ति छैन । पैसा र पावर राजनीतिमा हाबी हुँदै गएको छ । यो अवस्थाको अन्त्य गरेर पार्टीलाई सबैको साझा र सुख दुःखको पार्टी बनाउनुपर्छ ।
 त्यसका लागि मैले स्पष्ट कार्ययोजनाका साथ काम गर्छु । सबै वर्ग क्षेत्रको पार्टी बनाउनका लागि मैले पहल गर्छु । योजनाबद्ध रुपमा पार्टीको संगठन वडा र टोल कार्यमितिलाई चलायमान बनाउने योजना मसंग छ । कार्यकर्तालाई सशक्त बनाउनुपर्ने छ । प्रशिक्षण नहुँदा प्रलोभनका आधारमा  दया माया र आश्वासनका भरमा पार्टी चल्ने प्रवृत्ति देखिएको छ । त्यसले गर्दा पहिले कार्यकर्तालाई प्रशिक्षित गरेर हाम्रा कार्यकर्ताहरु  कुनै पनि लोभ र प्रलोभनमा नगरी वैचारिक रुपमा सक्षम हुने वाताबरणको विकास मैले गर्नेछु । बडिगाडमा काँग्रेसका भौतिक पूर्वाधारहरु बनाउनुपनेछ । पार्टी कार्यालयहरु निर्माण गर्नुपर्नेछ । चुनावी रणनीति र संगठन विस्तार मुख्य योजना रहेको छ । आउने स्थानीय निर्वाचनका लागि चुनावी रणनीति बनाउँदैछु ।
 नेपाली काँग्रेसको पक्षमा माहोल विस्तार गर्ने योजनाहरु अगाडि ल्याउने मेरो तयारी छ । समयानुकुल प्रविधिमय काँग्रेस बनाउनका लागि मैले काम गर्नेछु । २१ औं शताब्दीको काँग्रेस त्यही अनुसार चलायनमान हुनुपर्छ । समय कार्यक्रम र काँग्रेसको सम्बन्ध भन्ने एजेन्डा छ । समयानुकुल काँग्रेस बनाउनुपर्छ, वीपीको परिकल्पनालाई आत्मसात् गर्दै अहिलेको समयानुकुल बनाउनुपर्छ । समयमा बैठक राख्ने, भेला गर्ने, समयको पालनालाई महत्वपूर्ण मानेर अगाडि बढियो भने हामी धेरै काम गर्न सक्छौं । मर्यादाक्रम भन्ने काँग्रेसमा मुख्य विवाद रहेको छ । यसलाई पालिका भित्रमा लागु गरी मर्यादाक्रम मिलाउनेछु । चुनावी जागरण, जनतासंग काँग्रेस, युवा उद्यमी र काँग्रेसबीचको सम्बन्धलाई व्यवस्थित गर्ने हो । 
त्यसैले गर्दा बडिगाड गाउँपालिकामा काँग्रेस नेतृत्वका लागि म आवश्यक छ भन्ने लागेको छ । विगतमा हामीले जित्नुपर्ने अवस्था हुँदा पनि पालिकामा काँग्रेसको नेतृत्व स्थापित हुने सकेको छैन । स्थानीय निर्वाचनमा काँग्रेसको पक्षमा परिणाम पार्नका लागि त्यही खालको चुस्त संगठन बनाउन लाग्नेछु । २०५८ सालदेखि नेविसंघमा रहेर काम गरें । धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा नेविसंघमा आबद्ध रहें । २०६३ सालमा क्रियाशील सदस्यता प्राप्त गरें । नेपाली काँग्रेस भिमगिठेको सदस्य, नेपाल तरुणदल भिमगिठेको सहसचिव भएर काम गरे ।
 भिमगिठे काँग्रेसको सचिव भएँ । भिमगिठेको सभापति हुँदै अहिले गाउँपालिकाको सहसंयोजक भएको छु । वडाको सभापति पद मैले हस्तान्तरण गरेको छु । जनप्रतिनिधिको रुपमा वडा नम्बर ७ को वडाध्यक्ष पनि छु । विभिन्न संघ संस्थामा आबद्ध भएर सामाजिक काम गरेको छु । अहिले पनि सहसंयोजक भएकाले स्वाभाविक पार्टी सभापतिको दाबेदार हुँ । 


भिजन र योजना सहितको काँग्रेस बनाउँछु—मौसमकाजी क्षेत्री 
मैले हेर्दा अहिले कुनै पनि संस्था संगठनको माइन्युट ठिक देखेको छैन । सामाजिक संघ संस्था होस वा पार्टी । मैले पार्टीको रुटिन र डकुमेन्टेसनलाई सही गर्नुपर्छ भन्ने मेरो धारणा हो । त्यसलाई ठिक बनाउनुपर्छ र त्यो मैले बनाउन सक्छु भन्ने लागेको छ । सबै वडाको कमिटिलाई रुटिन र माइन्युटलाई व्यवस्थित गर्नेछु । काँग्रेसलाई बलियो बनाउनका लागि हामीले त्यही अनुसारको योजना र कार्यक्रम बनाएर जानुपर्छ । अहिले निर्वाचनमा जाँदा हाम्रो स्पष्ट कार्यदिशा र खाका हुँदैन । गाउँ ठाउँमा हुने विकास निर्माणका कार्यहरुमा काँग्रेसको कार्ययोजना के हो र धारणा कस्तो छ भन्ने स्पष्ट खाका तयार पारेर जानुपर्छ भन्ने ज्ञान मलाई छ ।
 शिक्षा स्वास्थ्य रोजगारीका कार्यक्रमहरुमा पार्टीले पनि आफ्नो एजेन्डा बनाएर त्यो नीति लिएर अगाडि बढ्ने गर्नुपर्छ । शिक्षा स्वास्थ्यमा कस्तो नीति लिएर जाने भन्ने नीति बनाएर अगाडि बढ्ने मेरोे योजना छ । मैले काँग्रेसलाई स्पष्ट भिजन र कार्ययोजना सहितको पार्टी बनाउनेछु । त्यसका लागि पहिले पार्टीलाई व्यस्थित गर्नुपर्छ । म बडिगाड गाउँपालिकाको पार्टी सभापति भएँ भने पहिले म सबै वडाका पार्टीहरुलाई समितिलाई व्यवस्थित गर्छु । संगठन मजबुद बनाउका लागि त्यही अनुसारको कार्ययोजना बनाएर अगाडि बढ्छु । काँग्रेसमा कसैले हेपिएको कसैले चेपिएको महसुस गर्न नपरोस् भन्ने खालको वातावरण सिर्जना गर्नका लागि त्यही खालको प्रशिक्षणहरुको आवश्यकता छ ।
 विगतमा हामीले पार्टीलाई सही व्यवस्थापन गर्न नसक्दा निर्वाचनमा दुःखद परिणाम पनि भोगेका छौं । त्यसलाई व्यवस्थित गर्ने ठूलो चूनौती र त्यसलाई व्यवस्थित गर्न सकिन्छ भन्ने मलाई लागेको छ । हामीले एक आपसमा बसेर मन माझेर कुरा गर्ने वातावरणको सिर्जना भयो भने गलत मनोभावनाहरु हराएर जान्छन् काँग्रेस एक ढिक्का भएर जनसेवामा तल्लीन हुन्छ । काँग्रेसलाई जनताको लोकप्रिय पार्टी बनाउनका लागि मैले नेतृत्वमा दाबी गरेको हुँ ।
 मैले विद्यार्थी कालबाटै राजनीति गरेको हुँ । उत्तरगंगा माध्यमिक विद्यालय बुर्तिबाङमा रहँदा म नेपाल विद्यार्थी संघको इकाइ सचिव थिएँ । काठमाडौंमा निजी कलेज पढेका कारण त्यहाँ राजनीतिक दलसंग आबद्ध भएर राजनीति गर्ने अवस्था त थिएन तर मैले विभिन्न समुहको अगुवाइ गरेर समस्या परेको खण्डमा समाधानका लागि पहल गर्ने गरेको छु । अहिले म बडिगाड गाउँपालिका—६ को निर्वाचित वडाध्यक्ष हुँ । मैले पार्टीको नेतृत्व पाएँ भने बडिगाडमा काँग्रेसलाई सशक्त ढंगबाट अगाडि बढाउन सक्छु भन्ने मेरो दृढ संकल्प रहेको छ । 
 

प्रतिक्रिया