बागलुङ- सहयात्रा बागलुङको सातौं वार्षिक साधारणसभा बिहिवार सम्पन्न भएको छ । राज्यको पहुँचमा नभएका जुनसुकै समुदाय र नागरिकसँग सहकार्य गर्ने अभियानलाई निरन्तरता दिने र बिपतमा परेकाहरुको उद्दारमा साथ दिने लगायतका योजना समेत बनाएर साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै सहयात्रा बागलुङका संरक्षक जगदिशचन्द्र उपाध्यायले समाजको उत्थानमा योगदान गर्न सहयात्राले सहकार्य गर्नुपर्ने बताए । उनले राज्यको पहुँचमा नभएका नागरिकको अधिकारकालागि आबाज उठाउने, अपांगता भएका नागरिकको सहारा, आवाज विहिनको आबाज बन्ने र पीडामा रहेका महिलाको साथी बन्ने संस्थाको रुपमा अगाडि बढ्न आग्रह गरे ।
कार्यक्रममा गैसस महासंघ, बागलुङका सचिव शालिकराम शर्मा, एकल महिला समूहकी अध्यक्ष खड्गकुमारी खड्का, संस्थापक सदस्य लक्ष्मी जैसी, सीताराम रसाइली लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सचिव हुमा रिजालको प्रगती प्रतिवेदन र कोषाध्यक्ष भगवती केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन सर्वसम्मतले पारित भएको अध्यक्ष शकुन्तला शर्माले जानकारी दिइन् ।
सहयात्रा बागलुङका अध्यक्ष शकुन्तला शर्माको अध्यक्षता, सचिव हुमा रिजालको संचालनमा सम्पन्न कार्यक्रममा सहभागिले महिला, पुरुष र तेस्रो लिंगीको अधिकार रक्षाकालागि राज्यका निकाय, गैसस र नागरिक समाजमा सहयात्रा गर्ने अभियानलाई अगाडि बढाउनपनि सुझाव दिएका थिए । २०७१ मा स्थापना भएको संस्थाले कानूनी सचेतना, मेलमिलाप, महिला शसक्तीकरण, सरसफाइ अभियान र बिपतमा सहयोग गर्दै आएको छ ।