पत्रकार गौतमलाई सुगंगा पुरस्कार 

  • असार १९, २०८३

नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष तथा पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हरिनारायण गौतमलाई सुगंगा पुरस्कार कोषबाट यस वर्षको सुगंगा पुरस्कारबाट सम्मान गरिएको छ । बागलुङका अग्रज पत्रकार स्व. विदुर खड्काले आफ्ना आमा सुमित्रा र श्रीमती गंगाको नाममा स्थापना गरेको पुरस्कार यस वर्ष गौतमलाई प्रदान गरिएको हो ।  ढोरपाटन राष्ट्रिय दैनिकका प्रधान सम्पादक समेत रहेका गौतम  तीन दशकदेखि निरन्तर पत्रकारितामा सक्रिय रहेका छन ।  सशस्त्र द्वन्द्वको समयमा पनि निडर भएर पत्रकारिता गरेको तथा ढोरपाटन दैनिक, धौलागिरि स्टार सप्ताहिक लगायतका पत्रपत्रिका र अनलाइन मार्फत सुशासन, खबरदारी, नागरिक सचेतनाको पक्षमा निरन्तर कमल चलाएको र असल पत्रकारको भूमिका निर्वाह गर्न सफल भएकाले गौतमलाई सो पुरस्कार प्रदान गरिएको कोषका अध्यक्ष काजी रोशनले बताए ।
२०५१ सालदेखि पत्रकारिता क्षेत्रमा लागेका गौतमले श्री धौलागिरि साप्ताहिक, धौलागिरि स्टार साप्ताहिक, न्यू धौलागिरि साप्ताहिक÷दैनिक, राजधानी दैनिक, समाचारपत्र दैनिक, हिमाल, नेपाल तथा समय साप्ताहिक लगायतमा काम गरेका थिए । गौतम ढोरपाटन दैनिकका प्रधान सम्पादक र धौलागिरि एफएमका अध्यक्ष छन् ।

काजी रोशनको अध्यक्षतामा रहेको कोषले साता अघि यो बर्षको पुरस्कार गौतमलाई दिने निर्णय गरेको थियो । यस अघि यो पुरस्कारबाट राससका प्रधानसम्पादक एकराज पाठक, एबीसी टेलिभिजनका प्रधानसम्पादक शुभशंकर कंडेल, नवप्रवद्र्धनको क्षेत्रमा काम गरेका महाविर पुन, पूर्व प्रधान न्यायधिश कल्याण श्रेष्ठ लगायतलाई प्रदान गरी सकिएको छ ।

नगद २५ हजार रुपैयाँ राशीको पुरस्कार तथा सम्मान पत्र हस्तान्तरण गर्दै धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख सहप्राध्यापक डा. सुर्दशन सिलवालले पत्रकारिता मार्फत समाजलाई ज्योती फैलाउन, जागरण ल्याउन र समाजलाई सही मार्गमा हिडाउन गौतमको पत्रकारिताले योगदान गरेको बताए । गौतमको साहसिक पत्रकारिताले समाजलाई सहि बाटोमा अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउदै क्याम्पस प्रमुख डा. सिलवालले पुरस्कारले गौतमलाई खोज्दै आईपुगेको बताए ।

पुरस्कार पाएपछि प्रधान सम्पादक गौतमले सशस्त्र द्वन्द्वको समयमा पत्रकारितामा खरो रुपमा उभिएकोले अहिलेको जीवन पाएको भन्दै त्यसको मूल्यांकन गरेर कोषले दिएको पुरस्कारबाट पत्रकारिता क्षेत्रमा लाग्नेहरु सबैलाई प्रेरणाको श्रोत बनेको बताए । गौतमले पुरस्कारले आफुलाई जिम्मेवारी थपिएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, सामाजिक अगुवा लालचन्द्र राजभण्डारी, मुलपानी माबिका पुर्व प्रअ मेघराज पाण्डेय, बरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठ, हरिप्रसाद उपाध्याय लगायतले बधाई तथा शुभकामना मन्तव्य दिए । उनीहरुले पत्रकार गौतमको पत्रकारिताप्रतिको लगाव, निरन्तरको त्रियाशिलताले बागलुङको व्यवसायिक पत्रकारिता अगाडि बढेको, नीजि क्षेत्रको ढोरपाटन दैनिकले प्रदेश स्तर र राष्ट्रिय दैनिकको उचाइ पाएको पनि बताएका थिए ।

कोषका अध्यक्ष काजी रोशनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य विश्वनाथ रेग्मीले गरेका थिए भने सदस्य तथा धौलागिरि बहुमुखी क्याम्पसका पुर्व प्रमुख प्रा।डा। रामप्रसाद उपाध्यायले स्वागत गरेका थिए ।

प्रतिक्रिया