बागलुङ- बागलुङको निसीखोला गाउँपालिका–३ का ३९ वर्षीया सुत्केरी मीना सुनारको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई बिहान नेपाली सेनाको हेलिकप्टर मार्फत पोखरा लगिएको थियो । अस्पताल पु¥याएलगत्तै चिकित्सकले सुनारलाई मृत घोषणा गरेको जनाइएको छ ।
गम्भीर अवस्थामा बुर्तिबाङ अस्पताल ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि पोखरा पठाइएको उक्त अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा अविनाश पोखरेलले जानकारी दिए । मङ्गलबार बोहरागाउँ स्वास्थ्यचौकीमा सुत्केरी उनलाई राति अत्यधिक रक्तस्राव हुने, पेट दुख्ने समस्या भएपछि बुर्तिबाङ अस्पतालमा ल्याइएको थियो ।
बुर्तिबाङ अस्पतालमा प्रारम्भिक प्ररीक्षण गर्दा सुनारको पेटमा रगत जमेको पाइएको थियो । शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । सुरुमा काठमाडौँ लैजाने तयारी भएपनि स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि मणिपाल अस्पतालमा पुराइएको थियो ।