बागलुङ - आगामी बैशाख ३० गते हुने स्थानिय तहको चुनावी कार्यतालिका अनुसार मंगलबार दाबी विरोधको समय निर्धारण गरिएको थियो । जुन पदको उम्मेदवार हो सोही पदमा उठेको उम्मेदवारले मात्र उजुरी दिने कानुनी व्यवस्था छ . जिल्लाका १० स्थानिय तहमा जम्मा ५ जना उम्मेदवार विरुद्ध दाबी विरोधको उजुरी परेको हो । जिल्लाको बागलुङ नगरपालिका, ढोरपाटन नगरपालिका र काठेखोला गाउँपालिकाका उम्मेदवार विरुद्ध दाबी विरोधको उजुरी परेको हो । जिल्लाको बागलुङ नगरपालिकामा बागलुङ नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष पदका उम्मेदवार हरि प्रसाद शर्मा विरुद्ध दाबी विरोधको उजुरी परेको छ । नेकपा एमाले बाट वडा अध्यक्षको उम्मेदवार भएका शर्मा विरुद्ध नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार फुलप्रसाद सापकोटाले उजुरी दर्ता गरेको सहायक निर्वाचन अधिकृत गंगाधर सापकोटाले जानकारी दिए । शर्माले आर्थिक अनियमितता गरेको भनि निर्वाचन उजुरी परेको सापकोटाले जानकारी दिए । विभिन्न ठाउँमा आर्थिक अनियमितता भरेको भनि उजुरी परेको छ सहायक निर्वाचन अधिकृत सापकोटाले भने,–‘छलफल गरेर उम्मेदवारर्ला बोलाउनेछौं कुनै प्रमाण भए सोको अध्ययन गर्नेछौं सोही आधारमा निर्णण हुनेछ ।
जिल्लाको काठेखोला गाउँपालिकाका वडा अध्यक्षका उम्मेदवार राजु थापा विरुद्ध मुख्य निर्वाचनको कार्यालयमा दाबी विरोधको उजुरी परेको छ । नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवार भएका थापालाई नेकपा एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार डिलबहादुर कार्कीले दाबी विरोधको उजुरी दिएको निर्वाचन अधिकृत हर्क बहादुर क्षेत्रीले जानकारी दिए । थापालाई बेल्जियमको पिआर भएको भनी उजुरी दर्ता गरेको क्षेत्रीले जानकारी दिए । थापालाई १६ गते प्रमाण सहित बोलाएको र प्रमाणका आधारमा त्यही दिनमै निर्णय हुने निर्वाचन कार्यालयले जनाएको छ । यस्तै काठेखोला ३ को महिला सदस्य विरुद्ध पनी उजुरी परेको छ । वडा नम्बर ३ को महिला सदस्य पदका उम्मेदवार नेकपा एसको देउरुपा खड्का स्वास्थ्य स्वयंसेविका भएको र राजिनामा नदिई उम्मेदवारी दर्ता गराएका कारण सोही वडाका नेकपा एमालेका महिला सदस्य पदका उम्मेदवार टुल्की देवि खड्काकले उजुरी दर्ता गराएकी हुन ।
त्यसैगरी जिल्लाको ढोरपाटन नगरपालिकाको उप्रमुखको उम्मेदवार धनबहादुर कायत विरुद्ध पनि दाबी विरोधको उजुरी परेको छ । कायतले दोहोरो नागरिकता लिएको भनि उजुरी परेको हो । दाबी विरोधको उजुरी ढोरपाटन नगरपालिका–४ का वडा अध्यक्षका उम्मेदवार तिलक पुन विरुद्ध पनि परेको ढोरपाटन नगरपालिकाका सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिए । पुनलाई ज्यानमार्ने उद्योगको मुद्धा चलेको भनि दाबी विरोधको उजुरी परेको बताईएको छ । दुवै उम्मेदवार विरुद्ध उनका प्रतिस्पधी उम्मेदवारका प्रतिनिधिले उजुरी दर्ता गरेका छन । उजुरी परेका उम्मेदवारलाई छलफलमा बोलाउने निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाको गलकोट नगरपालिका, बडिगाड गाउँपालिका जैमिनी नगरपालिका निसीखोला गाउँपालिका कसैको पनि दाबी विरोध नपरेको निर्वाचन अधिकृतहरुले जनाएका छन । त्यसैगरी तमानखोला गाउँपालिका, ताराखोला गाउँपालिका र बरेङ गाउँपालिकाकाको विषयमा कुनै जानकारी प्राप्त भएको छैन ।