पत्रकार लक्षित आक्षेपपूर्ण टिप्पणीप्रति महासंघको ध्यानाकर्षण

  • असार ३२, २०८२

बागलुङ- नेपाल पत्रकार महासंघ बागलुङले आक्षेपूर्ण टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै महासंघका सचिव नारायण रिजालले सामाजिक सञ्जालमा पत्रकार लक्षित आक्षेपूर्ण टिप्पणीप्रति महासंघको ध्यानाकर्षण भएको जनाएका छन् । ‘पत्रकार महासंघले गर्ने काम र गतिविधिप्रति नागरिक समाजबाट गरिने स्वस्थ आलोचना एवं रचनात्मक सल्लाह सुझावको हामी सदैव सम्मान गर्ने भन्दै पूर्वाग्रहणपूर्ण ढङ्गले महासंघ र पत्रकारहरुप्रति लगाइएका झूठा आरोप र लाञ्छनाको घोर भ्रत्सना एवं खण्डन गर्दछौँ,’ विज्ञप्तीमा उल्लेख गरिएको छ । 
जिल्लाका सार्वजनिक निकायले आयोजना गर्ने सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाल पत्रकार महासंघ, बागलुङ शाखाले सहजीकरण गरेका सन्दर्भमा सामाजिक सञ्जालमा उठेका प्रश्न र चासोका विषयमा प्रष्ट पार्दै महासंघले विगतदेखि नै जिल्लाका केही स्थानीय तहका सार्वजनिक सुनुवाईमा सहजीकरणको भूमिका निर्वाह गर्दै आएको व्यहोरा जनाएको छ । 
सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ ले गरेको कानुनी प्रबन्ध र सम्बन्धित स्थानीय तहले बनाएको कार्यविधिका आधारमा सार्वजनिक सुनुवाई सञ्चालन हुने र सोही बमोजिम सहजीकरण गर्ने संस्थाले तोकेको सहजकर्ताले स्थानीय तहका कामकारबाही र सेवा प्रवाहका सम्बन्धमा स्थानीय तहका पदाधिकारी, सर्वसाधारण नागरिक र सरोकार भएका पक्षबीच सार्वजनिकस्थलमा सवाल जवाफ गराउने काम गर्दै आएको विज्ञप्तीमा जनाईएको छ । 
नागरिकका प्रश्न, गुनासा र सुझावलाई सेवा प्रदायक निकायका पदाधिकारीसम्म पु¥याउने र सेवा प्रदायकबाट चित्तबुझ्दो जवाफ र प्रतिबद्धता मागी समस्या समाधानको उपायको खोजी गर्नु सहजकर्ताको जिम्मेवारी भएको सार्वजनिक सुनुवाईको यस स्थापित र नियमित प्रकृयामा पत्रकार महासंघ, बागलुङले आफ्ना पारङ्गत र अनुभवी सदस्यहरुमार्फत सहजीकरणको भूमिका निर्वाह गर्दै आएको विज्ञप्तीमा लेखिएको छ । 
पत्रकार महासंघ पत्रकारको पेसागत हकहितका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सम्झौताहीन ढङ्गले सङ्घर्ष गर्दै आएको र राज्यका निकाय र सामाजिक क्षेत्रबाट बिनाशर्त आर्थिक÷भौतिक÷नैतिक सहयोग लिएर आफ्ना संस्थागत गतिविधि सञ्चालन गर्दै आएको पत्रकार महासङ्घ पत्रकारिता क्षेत्रको व्यावसायिकता र मर्यादाप्रति सचेत रहेको पनि जनाईएको छ । 
सञ्चारसँग सम्बन्धित कार्यक्रम र गतिविधिमा राज्यका निकायसँग सहकार्य गरेकै कारण पत्रकार महासंघ र यसका सदस्यहरुले पत्रकारिता कर्ममा कुनै किसिमको सौदाबाजी नगरेको प्रष्ट पार्दै पत्रकार महासंघ आफ्नो जिम्मेवारी र कर्तव्यप्रति पूर्णत सचेत रहेको जनाईएको छ । विशुद्ध संस्थागत हितलाई दृष्टिगत गरेर सम्पादित कार्यलाई जोडेर सिङ्गो महासंघ र पत्रकारहरुलाई लाञ्छित गर्ने गरी गरिएका नियोजित र दुराशयपूर्ण टिकाटिप्पणीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया