कालिका मन्दिरको साउनमा झण्डै २८ लाख रुपैयाँ आम्दानी

  • भदौ ५, २०८३

बागलुङ-  बागलुङको प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका भगवती मन्दिरमा साउन महिनामा झण्डै २८ लाख रुपैयाँ  आम्दानी भएको छ ।   कालिका भगवती गुठी व्यवस्थापन समितिका अनुसार  मन्दिरमा कुल २७ लाख ९९ हजार ५८९ रुपैयाँ आम्दानी भएको हो । गुठी व्यवस्थापन समितिले मासिक रुपमा सार्वजनिक गर्ने आय–व्यय विवरण  साउन महिनामा ११ लाख १० हजार ४ सय ६५ रुपैयाँ खर्च भएको जनाएको छ। 

गुठीले सार्वजनिक गरेको विवरण अनुसार भेटीबाट मात्रै ५ लाख ८३ हजार ७८० रुपैयाँ सङ्कलन भएको छ । त्यसैगरी परेवाबाट १ लाख १३ हजार , भाडाबाट २० लाख ३९ हजार ३९४ आर्थिक सहयोगबाट ५८ हजार २१५ रुपियाँ आम्दानी भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्रबहादुर खड्काले  बताए । 

खर्चतर्फ तलबमा ४ लाख ४१ हजार ५०० रुपैयाँ , सास्कृतिक कार्यक्रममा ३ लाख, पूर्वाधार निर्माणमा १ लाख १८ हजार, अतिथि सत्कारमा ७३ हजार, खाद्यन्न तथा आवासमा ६८ हजार ३००,बिजुली खर्चमा ३७ हजार ३६५ रुपैयाँ खर्च गरिएको छ।

समितिका अनुसार साउन महिनामा खर्च कटाएर १६ लाख ८९ हजार १२४ रुपैयाँ बचत भएको छ । मन्दिर व्यवस्थापन, पूर्वाधार विकास तथा धार्मिक गतिविधिका लागि भेटी तथा सहयोग रकम प्रयोग हुँदै आएको समितिले जनाएको छ । बागलुङ कालिका भगवती मन्दिर गण्डकी प्रदेशकै प्रसिद्ध शक्तिपीठका रूपमा परिचित छ ।

प्रतिक्रिया