बागलुङ - बागलुङमा ऐतिहासिक चैत्राष्टमी मेला मंगलबार देखी सुर भएको छ । कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिको आयोजनामा मेला आगामी १४ गते सम्म संचालन हुने छ । यस क्षेत्रको परम्परागत संस्कृति झल्कने मेलाको रुपमा रहेको चैत्राष्टमी मेलाको मेलाको गुठी संस्थानका अध्यक्ष रमेश पोखरेलले उद्घाटन गरेका थिए । पोखरेलल चैत्राष्टमी मेलाले स्थानीय उत्पादनको बजारीकरण र धार्मिक पर्यटक भित्राउन सघाएको बताए । उनले यस क्षेत्रको छुट्टै इतिहास बोकेको मेला भएको हुँदा परम्परा संस्कृतिलाई गुठी संस्थानले धान्दै आएका बताए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ बागलुङ कला र संस्कृतिले भरिपुर्ण जिल्ला रहेको हुँदा यस्ता चैत्राष्टमी मेला कला संस्कृतीको जर्गेना गर्ने थलोको रुपमा समेत विकास भएको बताए ।
चैत्राष्टमी मेलाको अवसरमा बागलुङ कालिकामा सबैभन्दा बढी धार्मिक पर्यटक भित्रिदै आएका छन् । मन्दिरको किम्दन्तीसंग जोडिएको मेला वार्षिक रुपमा लगाइने गरिएको छ । कालिका मन्दिरको ऐतिहासकितासँग जोडिएको मेला झण्डै तीन सय वर्ष भन्दा पुरानो मेलाको रुपमा लिइएको छ ।

परापुर्वकालमा कालिका मन्दिर आउने भक्तजनहरुले कुटो, कोदालो, डाला, नाङ्ला र ठेका ठेकी खरिद बिक्री गर्नेभएकाले मेलाको रुपमा लिइएको थियो ।
बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिले हरेक वर्ष चैत्राष्टमीको अवसरमा मेला आयोजना गर्दै आएको छ । बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा लाग्ने ठूलो मेला भर्न नेपालका मुख्य–मुख्य ठाउँबाट समेत आउने गरेका छन् । चैत्राष्टमीलाई चैते दशै पनि भन्ने गरिन्छ । चैते दशैंमा मन्दिर दर्शनका लागि समेत आउने भक्तजनहरुको उल्लेखय भीड रहेको छ ।
पर्यटन प्रवद्र्धन, संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रचारप्रसार र परम्पराको निरन्तरता दिने उद्देश्यले मेला आयोजना गरिँदै आएको गुठी व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र खड्काले जानकारी दिए । पछिल्ला वर्षहरूमा विभिन्न ठाउँहरुमा व्यापारिक मेलाहरु आयोजना हुने गरेको भएपनि नेपालकै प्राचीन मेला मानिएको यो मेलाको आफ्नै महत्व र इतिहास रहेको पाका पुरानाहरु बताउछन् ।
चैत्राष्टमी मेलामा घरायसी प्रायोजनका सामाग्रीहरु डाला, नाङ्ला, ठेका, हातहतियार लगायतका बस्तुहरुको परम्पराकालदेखिनै किनमेल हुने गरेको छ । चैत्राष्टमी मेलामा बागलुङ कालिका मन्दिरमा टाढा–टाढाका जिल्ला र भारतबाट समेत भक्तजनहरुको आगमन हुने गरेको छ ।
मेलामा खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता छेलो प्रतियोगिता र दोहोरी गित प्रतियोगिता समेत आयोजना गरिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले जानकारी दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, गुठीका सल्लाहकार मन कुमारी केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम गुठी व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र खड्काको अध्यक्षता तथा पत्रकारद्वय सृजना पन्त र तारानाथ आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।
