मूल्यसूची बिना मनपरी सामान विक्री गर्दै आएका बागलुङका पसल सञ्चालकहरुलाई कारबाही थालिएको छ । जिल्ला प्रशासन कार्यलयको आयोजनामा घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यलय, बागलुङ नगरपालिका, राष्ट्रिय उपभोक्ता मञ्च र पत्रकार लगायतको टोलीले बजार अनुगमन गर्ने क्रममा मूल्यसूची नराखी आफुखुसी सामान विक्री गर्ने पसलहरुलाई काबारही गरिएको हो । मूल्यसूची नराखेका १७ वटा तरकारी तथा फलफूल पसललाई कारबाही गरिएको प्रशासनले जनाएको छ ।
पर्वतमा सडक अवरुद्ध भएपछि धौलागिरिमै सामान आयात नहुँदा बजारमा फलफूल तथा तरकारीको भाउ बढेको गुनासो आएपछि अनुगमन गरिएको थियो । १९ वटा पसल अगुगमन गर्दा मुल्य सूची नराखी बेच्ने १७ पसललाई ५ सयको दरले जरिवाना असुली गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । अनुगमनका क्रममा जिल्लामा अधिकांश किराना पसलले बिना इजाजत फलफूल तथा तरकारी बेच्ने गरेको पाईएको छ ।
जुन शिर्षकमा पसल दर्ता गरिएको हो सोही अनुसार व्यवसाय गर्नुपर्ने कानूनी प्रावधान रहे पनि बिना इजाजत फलफूल र तरकारी बेच्ने गरेको उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए । बागलुङ बजारका फलफूल तथा किराना पसलले मूल्यसूची नराख्ने र आफुखुी मनपरी मूल्यमा सामान बेच्ने गरेका छन् ।