बागलुङ- यही फागुन २१ गते बिहीबार सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका लागि बागलुङका दुई वटै क्षेत्रका मतगणना स्थानमा तारजाली र सिसी क्यामरा तयार पारिएको छ । क्षेत्र नं. १ को मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समितिको सभाहलमा र क्षेत्र नं. २ को ढोरपाटन नगरपालिका – २ बुर्तिबाङ कुथाप्लोमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयको सभाहलमा मतगणास्थल तयार पारिएको र सो क्षेत्रमा तारजाली र सीसी क्यामेरा जडान गरिएको छ । दुई वटै स्थानमै फलामे तारजाली लगाइएको छ भने ध्वनीसहित भिडियो रेकर्ड गर्ने सिसि क्यामेरा राखिएको मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले जानकारी दिइन् ।
तारजाली लगाएपछि मतगणना कार्य सुरक्षित र पारदर्शी हुने हुँदा मतगणना स्थलमा तारजाली लगाउने, सुरक्षा पोस्ट र आवश्यक अन्य संरचना निर्माण गरिएको उनले बताईन । मतगणनालाई व्यवस्थित, छिटो र सुरक्षित तवरले सम्पन्न गर्न मतगणना स्थललाई तारजाली, सीसी टिभी जडान गरिएको हो । तारजालीभित्र मत गणक कर्मचारी बस्ने र पारदर्शी तारजाली बाहिरबाट उम्मेदवारका प्रतिनिधिले हेर्ने व्यवस्था मिलाइएको छ । मतगणनास्थलमा हुन सक्ने समस्यालाई अन्त्य गर्दै दुई वटै स्थानमा भरपर्दो ढंगले मत गणना गर्न सक्नेगरी तयारी गरिएको हो ।
मतगणनामा बस्ने उम्मेदवारका प्रतिनिधिहरूले फलामे तारजालीबाट मतगणना हेर्न मिल्ने व्यवस्था गरिएको छ अधिकारीले भनिन् ‘मतगणना सुुरु भएपछि गणना स्थलको सुरक्षा व्यवस्था कडा पारिने छ, मानिसभन्दा अग्लो फलामे तारजाली राखिएको छ, तारबार भित्र गणक मात्रै बस्न सक्नेछन्, प्रतिनिधिले बाहिरबाट हेर्न हेर्नेछन ।
मतदान सम्पन्न भएपश्चात दुई वटै क्षेत्रको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएपछि सर्वदलिय बैठक बसी यसको गणना सुरु गरिने क्षेत्र नं. २ का सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिए । रिजालका अनुसार सवै मतपेटिका जम्मा भएपश्चात मात्र उम्मेदवार वा उम्मेदवारका प्रतिनिधि र राजनितिक दलको संयुक्त बैठक पश्चात मात्र गणना सुरु गरिने रिजालले जानकारी दिए ।
बागलुङमा २ सय ३० स्थायी र २ वटा अस्थायी गरी कुल २ सय ३२ मतदान केन्द्र रहेका छन् । जिल्ला कारागार र जिल्ला समन्वय समितिलाई अस्थायी मतदान केन्द्रका रूपमा तोकिएको छ । निर्वाचनका लागि २ सय ३२ मतदान अधिकृत र २ सय ३२ सहायक मतदान अधिकृत सहित कर्मचारी र सुरक्षाकर्मीहरु मतदान केन्द्रमा पुगिसकेका छन ।