• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • स्थानीय सरकार

बागलुङ नगरका वडा तहमै सेवा प्रवाह घुम्ती शिविर

  • साउन २८, २०७९

नारायण रिजाल- बागलुङ नगरपालिकाले चालु आर्थिक वर्ष सुरु भए सँगै वडामै पुगेर आम नागरिकलाई सेवा दिने उद्देश्यले वडा तहमै सेवा प्रवाह घुम्ती शिविर संचालन गर्न लागेको छ । नगरपालिकाले आईतबार देखी नगरभित्रका १० वटा वडामा घुम्ती शिविर संचालन गर्ने भएको हो । शनिबार शिविर संचालनका लागि नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखिकरण समेत गरेको छ ।  विषेश गरी सदरमुकाम भन्दा बाहिर ग्रामिण क्षेत्रमा रहेका वडाहरुका उपभोक्ता र आम नागरिकको समस्यालाई मध्यनजर गरी आईतबार देखी घुम्ती शिविरको आयोजना गरिएको नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए । 
वडा मै योजना सम्झौता
शिविरमा वडामा संचालन हुने योजना सम्झौता गर्ने भएको छ । आम उपभोक्ताको सहजताको लागि नगरपालिकाको कार्यालयबाट विनियोजन भएका नगरस्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गर्न लागिएको नगरप्रमुख श्रेष्ठले बताए । नगरपालिकाले विषेश गरी ग्रामिण क्षेत्रमा रहेका वडा नं. ५, देखी वडा नं. १४ सम्मका आम उपभोक्तालाई लक्षित गरी घुम्ती शिविर संचालन गर्ने बताएको छ । शिविरमा योजना सम्झौतका साथमा स्वास्थ्य सेवा शिविर, माटो परिक्षण, अपाङ्गता परिचय पत्र वितरण अनुशिक्षण तथा सचेतना कार्यक्रम वित्तिय साक्षरता, बालमैत्री नगरपालिका पुर्वाधार कृषक सचेतना तथा प्राविधिक सल्लाह लगायतका कार्यक्रम पनि संचालन गरिने छ । ‘भुगोलको हिसावले नगरक्षेत्र भित्र केही टाढा रहेका वडाका नागरिकलाई वडामा नै संचालन गरिने शिविरको माध्यमबाट सेवा प्रवाह गर्ने योजना अनुसार कार्यक्रम अगाडी बढाएका हौं ।, नगरप्रमुख श्रेष्ठले भने,–‘यो पहिलो अभ्यास पनि हो यसलाई सफल पार्ने आम नागरिक जनप्रतिनिधि कर्मचारी सवैको उत्तिकै भुमिका छन । आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम अनुरुप सवै योजना कार्यान्वयन गर्नका लागि शिविरले ठुलो भुमिका पु¥याउने विश्वास लिएका छौं ।’ श्रेष्ठले आम नागरिकको सेवा प्रवाहलाई छिटो र छरितो बनाउनका निम्ती वडा तहमै शिविरको आयोजना गरिएको बताए । शिविर आईतबार  बानपा ११ रायडाँडा देखी शुभारम्भ गरिने नगरप्रमुख श्रेष्ठले बताए । आम उपभोक्ताको समस्यालाई मध्यनगर गरी हरेक वडामा सेवा प्रवाह गर्ने उद्देश्यले घुम्ती शिविर माफर्त योजना सम्झौता लगायतका काम अगाडी बढाईएको श्रेष्ठको भनाई छ । शिविरमा सेवा प्रदान गर्नका लागि नेपाली सेना लागायतका विभिन्न कार्यालय र संघ संस्थाले सहयोग गरेका छन । 
८० प्रतिशत काम वडा बाटै
    शिविरमा झण्डै ८० प्रतिशत योजना तथा कार्यक्रम सम्झौता गर्ने लक्ष्य रहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिए । आगामी मंसिर मसान्त भित्र सवै योजना सम्झौता गरी काम अगाडी बढाउने गरी नगरपालिकाले योजना बनाएको छ । शिविरमा योजना सम्झौता पश्तात उपभोक्ता समितिको खाता पनि त्यही खोल्ने व्यवस्था गरिएको सापकोटाले बताए । ‘एकैदिनमा योजना सम्झौता गछौं । आम नागरिकले अन्य सेवा पनि लिनेछन । वडा तहमै सवै काम सम्पन्न गर्दा उपभोक्ता समितिलाई सहज हुनछ, सापकोटाले भने,–‘योजना सम्झौताका लागि नगरपालिका कार्यालयसम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने र सही उपभोक्ता पहिचान गर्नमा सघाउ पुग्ने छ । 
१० लाख सम्मको योजना वडा तहबाटै अनुगमन
वडा भित्रका टोल अर्थात साविकको वडामा टोल समिति बनाएर सोही टोल समिति मार्फत योजनाका काम अगाडी बढाईने सापकोटाले बताए । टोल विकास समितिले ५ लाख सम्मको योजनाको काम गर्न पाउनेछन । काम सम्पन्न भएर सवै वडा तहमै अनुगमन भए पश्चता नगरपालिकाले भुक्तानी दिने छ । 
नगरपालिले यस वर्ष देखी १० लाख सम्मको योजना वडा तहबाटै अनुगमन गर्न मिल्ने बनाएको नगरउपप्रमुख राजु खड्काले बताए । प्रत्येक वडामा प्राविधिक खटाएर १० लाख सम्मका योजना वडा अध्यक्ष र वडा सचिव सहितको टोलीले अनुगमन गरी सिफारिस गरेको आधारमा नगरपालिकाले भुक्तानी दिने उपप्रमुख खड्काले बताए । 
‘१० लाख सम्मको योजनाको काम नगरस्तरीय अनुगमन समितिले हेर्नु पर्दैन विभिन्न मापदण्ड बनाईने छ । त्यो मापदण्ड अनुसार योजनाका काम भएका छन कि छैनन वडा तहकै अनुगमन समितिले हेर्ने छ । नगरउपप्रमुख खड्काले भने,–‘वडा मै अनुगमन गरेर सिफारिस गरेपछि नगरपालिकाले खातामा रकम निकासा गरिदिने छ । 
वडाबाटै अनुगमन भए पश्चात एउटै कामका लागि पटक–पटक आइररहनु नपर्ने उनको भनाई छ । 
महिलाको नेतृत्वको उपभोक्ता समितिमा १० प्रतिशत मात्र लागत सहभागिता
बागलुङ नगरले महिलाको नेतृत्व गरेको उपभोक्ता समिति वा टोला विकास संस्था माफर्त योजनाको कार्यान्वय गर्दा १० प्रतिशत मात्र लागत सहभागिता गराउने भएको छ भने पुरुषले नेतृत्व गरेको समितिमा १५ प्रतिशत नै लागत सहभागिता गराउने भएको छ । त्यस्तै उपभोक्ता समिति र टोल विकास संस्थाले आफुले जिम्मा लिएको काम ठेका लगाउन नहुने आफैले गर्नुपर्ने बनाएको छ । 
 अभिमुखिकरण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाले घुम्ती शिविरको बारेमा, अधिकृत आठौ युक्त प्रसाद सुवेदीले योजना कार्यान्वय तथा मुल्याङ्क, लेखा अधिकृत अर्जुन गौतमले योजना सम्झौता र फरफारक, इन्जीनियर त्रिलोचन गिरीले लागत अनुमानका बारेमा, अधिकृत छैठौं भिमसेन पन्तले उपभोक्ता समितिको काम र कर्तव्यका बारेमा र सरस्वती शर्माले बालमैत्री नगरपालिकाबा बारेमा जानकारी गराएका थिए । कार्यक्रममा बागलुङ नगरपालिका–१३ का वडा अध्यक्ष नारायण शर्मा पौडेल, वडा नं. १० का अध्यक्ष तिलबहादुर थापा, वडा न १४ का वडा अध्यक्ष चक्रबहादुर खत्री वडा नं. ५ का अध्यक्ष हरिप्रसाद शर्मा, वडा नं. ६ का वडा अध्यक्ष रुद्रबहादुर केसी कार्यपालिका सदस्य ढाकाराम परियार लगायतले आफ्ना जिज्ञासा राखेका थिए । 
कार्यक्रम नगरप्रमुख बसन्त कुमार श्रेष्ठको अध्यक्षता प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाको स्वागत र प्रशासन सहायक शस बहादुर पुनको संचालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया