‘स्वास्थ्य कार्यालय बागलुङबाट अरुले पनि सिकौं’

  • असार २२, २०८०

बागलुङ ।  यतिबेला जिल्लाका सरकारी कार्यालयहरुमा विभिन्न योजना र कार्यक्रमको फरफारक चलिरहेको छ । चालु आर्थिक वर्षको अन्तिम साता यस वर्ष सक्नुपर्ने कार्यक्रम संचालन गर्ने चटारोमा छन कर्मचारी । स्थानिय निकाय र विकासे अड्डामा योजना फरफारक गर्ने  सेवा ग्राहीको भिडभाड छ । कर्मचारीहरु विहान देखी राति अबेर सम्म काम गरेका छन । तर यहाँको स्वास्थ्य कार्यालयले भने आफ्ना गर्नुपर्ने सवै कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्य कार्यालय बागलुङले यस  वर्ष सम्पन्न गरेका कामको बारेमा पत्रकार सम्मेलन गरेरै जानकारी गरायो । चालु आर्थिक वर्षको अन्तिम साता नलाग्दै आफ्नो कार्यालयको जिम्मामा रहेको काम सम्पन्न गरेर बार्षिक प्रगतीको बारेमा जानकारी गराउने जिल्लामै पहिलो कार्यालय हो ।    
    चालु आर्थिक वर्षमा कार्यालयको प्रदेश समानिकरणको बजेटमा वित्तिय तर्फ ८४.४४ प्रतिशत प्रगती गरेको छ भने भौतिक तर्फ ९४.१९ प्रतिशत प्रगती गरेको छ । त्यस्तै संघको ससर्त तर्फ ७१  प्रतिशत वित्तिय प्रगती गरेको छ भने ९८ प्रतिशत भौतिक प्रगती गरेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले जानकारी दिए ।  कार्यालयले यस वर्ष क्षयरोग पत्ता लगाउने दरलाई मुख्य उपलब्धीको रुपमा लिएको छ । विभिन्न स्थानिय तह सँग समन्वय गरी अघिल्लो वर्षको तुलनामा यस वर्ष क्षयरोगीको संख्या पत्ता लगाउने दर बढेको छ । जिल्लामा गत आर्थिक वर्षमा कुल १८५ जना क्षयरोगका विरामी रहेकोमा यस वर्ष भने २१३ जना पुगेका छन । अधिकाशं क्षयरोगकीको संख्या जिल्लाको बाडिगाड गाउँपालिकामा रहेको स्वास्थ्य कार्यालयका क्षयकुष्ठ निरिक्षक देवप्रकाश घिमिरेले बताए । कार्यालयले क्षयरोगको खोज पडतालमा सक्रियता बढाउँदै नयाँ क्षयरोगकीको उपचारकामा संलग्न गराएको छ । त्यसैगरी यस वर्ष कुष्ठरोगका विरामी पनि बढेका छन । अघिल्लो वर्ष ७ जना कुष्ठरोगका विरामी रहेकोमा यस वर्ष १२ जना नयाँ कृष्ठरोगका विरामी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयले यस वर्ष जिल्लाका १ हजार ३४ जना महिलाका लागि सुत्केरी पोषिलो खर्च वितरण गरेको छ भने जिल्लाको दुई स्थानमा संचालन गरिएको ५ वर्ष मुनिका बालकालिकाहरुको पोषण शिरिवमा ३५० बालबालिकालाई सेवा प्रदान गरिएको छ ।  जसमा ६ जना शिघ्र कुपोषण र ३९ जना बालकालिकालाई मध्यम कुपोषण देखिएको हुँदा स्वास्थ्य शिक्षा र थप उपचारका लागि पहल गरिएको स्वास्थ्य कार्यालय प्रमुख शर्माले बताए । 
    कार्यालयले नियमित खोप कार्यक्रम स्वास्थ्यकर्मीलाई अभिमुखिकरण कार्यक्रम, महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकालाई तालिम, विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम प्रजनन् स्वास्थ्य समन्वय बैठक, जिल्लालाई पुर्णखोप तथा दिगोपन कार्यक्रम घोषणा लगायतका कार्यक्रम संचालन गरेको थियो । 
समुदायमा आधारित एकिकृत बालरोग व्यवस्थापन कार्यक्रम, रोग नियन्त्रण सम्बन्धी कार्यक्रम, हात्तिपाईले रोग विरुद्ध औषधी खुवाउने कार्यक्रम पनि यस वर्षको उपलब्धीको रुपमा राखेको छ । जिल्लामा यस वर्ष पनि १४ औं पटक हात्तिपाईले रोग विरुद्धको आम औषधी खुवाउने कार्यक्रम संचालन गरिएको थियो । जसमा २ लाख २६ हजार ५८६ जना अर्थात ८८.५ प्रतिशत सर्वसाधारणले औषधी सेवन गरेको कार्यालयले जनाएको छ ।  कार्यालयले बैदेशिक रोजगारमा जाने ६३ जना युवा युवतीका लागि सचेतनामुलक कार्यक्रम र १९१ जनाका लागि विषादी रहित खाद्य प्रर्वद्धन कार्यक्रमको बारेमा जानकारी दिएको थियो । 
स्वास्थ्य कार्यालयले स्थानिय सरकार सँग समन्वय गरेर यस वर्ष जिल्लाको तमानखोला गाउँपालिका र बरेङ गाउँपालिकामा पारिवारिक लगत संकलन र स्वास्थ्य प्रोफाईल निर्माण गरेको छ । 
कार्यालयमा बाट नियमित प्रवाह हुने सेवा सँगै आमा सुरक्षा कार्यक्रम र परिवार नियोजनका शिविर संचालन तथा विभिन्न दिवसहरु सचेतना मुलक कार्यक्रम सहित मनाएको कार्यालयका तथ्याङ्क अधिकृत घनश्याम सापकोटाले जानकारी दिए ।  गत वर्ष पनि यस वर्ष जिल्लाका सवै स्थानिय तहमा पुगेर २२३ खानेपानीका मुहानको पानी परिक्षण गरिएको थियो  जसमा ७७ वटा खानेपानीको मुहानामा कोलिर्फमको मात्रा देखिएको सापकोटाले जानकारी दिए । लामो समय सम्म निमित्त प्रमुखको भरमा संचालन भएको कार्यालय समयमा  सवै काम सम्पन्न गर्न सक्नु यो उल्लेखनिय प्रगती भएको सापकोटाको भनाई छ । कार्यालय प्रमुख शर्मा गत माघमा मात्र स्वास्थ्य कार्यालयमा हाजिर भएर कार्यालय प्रमुखको जिम्मेवारी समाले सँगै कार्यक्रमहरु संचालन गरिएको थियो । 
अन्य कार्यालयमा काम सक्ने चटारो हुँदा स्वास्थ्य कार्यालयले सम्पादन गरेका काम यसरी सार्वजनिक गर्ने जिल्लामै पहिलो कार्यालय भएको जिल्ला समन्वय समितिका बागलुङका प्रमुख अमर बहादुर थापाले बताए । उनले आफ्नो बार्षिक कार्यक्रमको प्रगतीको बारेमा हाल सम्म जिल्लाका अन्य कार्यालयले सार्वजनिक गर्न नसकेको बताए । ‘बर्षभरीका काम सार्वजनिक गर्नु जिल्लामै यो उदारणीय कार्य हो संयोजक थापाले भने,–‘ यो काम अन्य कार्यालयले पनि सिक्न जरुरी रहेको छ । आम सर्वसाधारणलाई पनि  पनि चासोको विषय बनेको छ । 
स्वास्थ्य कार्यालयको काम जिल्लाकै उत्कृष्ट भएको प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बताउँछिन । उनले आर्थिक वर्ष सकिन एक साता बाँकी रहँदै गदौ आफ्ना सवै काम सकाएर आम नागरिकलाई जानकारी दिनु ठुलो उपलब्धी भएको बताईन । 
स्वास्थ्य कार्यालयले गत वर्ष पनि यसै गरी आफ्नो प्रगती विवरण सार्वजनिक गरेको थियो ।  कार्यालयले आफ्ना गतिविधि मासिक बुलेटिन मार्फत पनि  नियमित सार्वजनिक गर्दै आएको छ ।   
कार्यक्रममा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक धर्मदत्त बस्याल, पत्रकार खेमराज गौतम, सुवास, किरण आचार्य लगायतले आफ्ना धारणा राखेका थिए । सोही अवसरमा  पत्रकारका लागि स्वास्थ्य जोखिम संचार सम्बन्धी  अभिमुखिकरण समेत गरिएको थियो । 
कार्यक्रम स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माको अध्यक्षता, स्वागत र तथ्याकं अधिकृत घनश्याम सापकोटाको संचालनमा सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया