बागलुङ । गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोबिन्द बहादुर नेपालीले संघियता असफल बनाउने गरी अबरुद्ध गर्न खोजिएको बताएका छन । बागलुङ र पोखराबाट एकैसाथ प्रकाशित हरने ढोरपाटन राष्ट्रिय दैनिकको २४औँ बार्षिकोत्स समारोह तथा पुरस्कार सर्मपण समारोहमा बोल्दै उनले संघीयतालाई असफल बनाउने चलखेल भैरहेको बताए् । नेपालीले संघीय सरकारले वित्तिय संघीयता नस्विकारेको, आम नागरिकमा काठमाण्डौं केन्द्रीत मानसिकता हटाउन नसकेको, संघीयताका राम्रा पक्षबारे नागरिकलाई बुझाउन नसक्दा यो वा त्यो बाहनामा असफल बनाउने प्रयास भएको बताए । उनले संघीयताले देशको विकास, अवसर र समावेशीतामा ल्याएको परिवर्तन बिर्सन नसकिने बताए । नेपालीले अलमल भएको संघीयतालाई सही दिशामा हिडाउन सकिने र त्यसका लागि आमसंचार क्षेत्रले आँखा देखाउनुपर्ने बताए । ‘आम संचार क्षेत्रले यस्ता विशेषांकमार्फत सही दिशा देखाउने काम गर्नुपर्छ’ उनले भने, ‘सही समाचारले अलमलमा परेको संघीयताले आफ्नो लक्ष्यमा अगाडि बढ्ने खाका कोर्न सकोस् ।’ अहिले पनि हाम्रो राजनीति, नेता र कर्मचारीतन्त्रमा केन्द्रीकृत मानसिकता नहट्दा संघीयता अलमलमा परेको उनले दाबी गरे । कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले सुस्त संघीयतालाई चुस्त बनाएर नागरिकको भरोसायोग्य बनाउनुपर्ने बताए । त्यसका लागि प्रदेश र स्थानीय सरकारले आफ्नो क्षेत्राधिकार बुझ्ने र जीवन्त रहेको देखाउन सक्नुपर्ने अबस्था आएको बताए । ‘सुस्त संघीयतालाई अब चुस्त बनाऔं’ उनले भने, ‘त्यसका लागि हामीले आफ्नो अधिकार र कर्तव्य सम्झेर काम गरौं ।’ संघीय सरकारको आँखा नपुगेको स्थानमा स्थानीय सरकारले काम गरेर सफल बनाएको उनको दावी थियो । त्यसका लागि विशेषांकले पनि नागरिकको चेतनालाई बढाउने काम गरेको भन्दै शुभकामना पनि दिए । ढोरपाटनको स्थापना भएको बागलुङलाई सम्मान गर्न र बागलुङदेखि गण्डकी प्रदेशसम्म पुग्दा पाएको सफलताको कथा पनि लेख्न उनले आग्रह गरे । ढोरपाटन दैनिकका प्रधानसम्पादक हरिनारायण गौतमको अध्यक्षता, कार्यकारी सम्पादक रामकृष्ण बोहरा र संवाददाता अनिष पाठकको संचालन तथा समाचार सम्पादक फडिन्द्र अधिकारीको स्वागतमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशसभाका पुर्व सदस्य इन्द्रलाल सापकोटा, नेपाल पत्रकार महासंघका अध्यक्ष राम थापा ‘अविरल’, नेपाल बार एसोसिएसन उच्च अदालत बार इकाईका अध्यक्ष गिता श्रीष, पत्रकार मुकेशचन्द्र राजभण्डारी, वरिष्ठ साहित्यकार काजी रोशन लगायतले शुभकामना मन्तव्य राखेका थिए । वार्षिकोत्सवको अवसरमा ढोरपाटन दैनिकले उत्कृष्ट संवाददाताको रुपमा अनिष पाठक र उत्कृष्ट कर्मचारीको रुपमा नलबहादुर थापा मगरलाई नगद पुरस्कारसहित सम्मानित भए । उनीहरुले जनही रु।१५ हजार नगद र प्रमाणपत्र पाए । वार्षिकोत्सवमा बागलुङका ६ पत्रकारलाई पुरस्कारसहित सम्मान ढोरपाटन दैनिकले सञ्चालन गरेको पुर्व अध्यक्ष कृष्णमैया अधिकारीले आफ्ना बाबुआमाको नाउँमा स्थापना गरेको ‘टिका–विद्या स्मृति पत्रकारिता पुरस्कार’ बाट बागलुङका ६ जना पत्रकारलाई पुरस्कार दिइयो । उक्त पुरस्कारबाट २०७६ सालको पुरस्कार नेपाल पत्रकार महासंघ बागलुङका पुर्व अध्यक्ष समेत रहेका मुकेशचन्द्र राजभण्डारीलाई १० हजार १ सय रुपैयाँ पुरस्कार सहित सम्मान पत्रले प्रदान गरियो । त्यस्तै, २०७७ सालको पुरस्कार पत्रकार किरण आचार्यलाई २०७८ सालको पत्रकार कोपिला कँडेललाई, २०७९ सालको पत्रकार उषा पौडेललाई, २०८० सालको ढोरपाटन न्युज अनलाईनका सम्पादक तथा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य रञ्जिता शर्मालाई र २०८१ सालको पुरस्कार नेपाल पत्रकार महासंघ बागलुङकी उपाध्यक्ष सिर्जना पन्तलाई प्रदान गरिएको थियो । पुरस्कारका संस्थापकको तर्फबाट समाजसेवी सहदेव राजभण्डारी, प्रमुख अतिथि गोबिन्द बहादुर नेपाली, विशिष्ट अतिथि बसन्तकुमार श्रेष्ठ र प्रधान सम्पादक हरिनारायणले गौतमले उनीहरुलाई सम्मान र पुरस्कार प्रदान गरे । पुरस्कृत पत्रकार र कोषको बारेमा पत्रिकाका कार्यकारी सम्पादक रामकृष्ण बोहराले जानकारी गराएका थिए । उक्त अवसरमा पत्रिकाको विशेषांक ‘सुस्त संघीयता’ लोकार्पण गरिएको थियो । २०६० साल भदौ १ गतेबाट प्रकाशन सुरु गरेको ढोरपाटन दैनिक निरन्तर प्रकाशित हुँदै आएको छ । सशष्त्र द्वन्द्वको समयमा पत्रपत्रिका माथी लगाइएको प्रतिबन्धलाई समेत चिरेर पत्रिकाले नियमित आफ्ना अंक प्रकाशित गरिरहेको हो । उक्त समयदेखि मन्त्री नेपालीले समेत नियमित रुपमा लेख तथा रचना प्रकाशित गर्थे । बागलुङबाट प्रकाशित स्थानीय दैनिकबाट ढोरपाटनले संघीयतापछि पोखराबाट पनि आफ्नो प्रकाशनलाई सुरुवात गर्दै गण्डकी प्रदेश स्तरीय बनाएको हो । हाल ढोरपाटन दैनिक ‘क’ वर्गको राष्ट्रिय पत्रिका बनेको छ । पत्रिकाको वार्षिकोत्सवको अवसरमा प्रधान सम्पादक हरिनारायण गौतमले भ्रामक र मिथ्या सूचना चिरेर अगाडि बढ्ने प्रतिवद्दता जनाएका छन् । साथै, संघीयता र सूशासन, पर्यटन र गण्डकीको विकास, गण्डकीको पहिचान जस्ता विषयमा विशेषांक प्रकाशित गरिंदै आएको पनि उल्लेख गरे । विशेषांकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेदेखि व्यवसायी र ग्रामीण क्षेत्रका लेखकले संघियताबारे भोगेका, गरेका अनुभवबारे लेख रचना लेखेका छन् ।