• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • कला/मनोरञ्जन

बलेवा भैरवस्थानमा हरेलो मेला हुने 

  • साउन १५, २०८३

बागलुङ-   बागलुङको बलेवामा रहेको  ऐतिहासिक धार्मिक शक्तिपिठ बलेवा भैरवस्थान मन्दिरमा हरेलो मेला आयोजना हुने भएको छ । बागलुङ नगरपालिका—१२ अमलाचौरमा अवस्थीत उक्त मन्दिरमा यो पटक चौथो हरेलो मेला हुने भएको हो । भैरवस्थान मन्दिरको दर्शन–कला संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आगामी भदौ २ गते मंगलबार हरेलो मेलाको आयोजना गरिएको  भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले बताए । मेलाको उद्घाटन गर्न नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष एवं चन्द्रप्रसाद ढकाल आउने भएका छन ।
 प्रसिद्ध भैरवस्थान मन्दिरको ऐतिहासिक धार्मिक एवं सांस्कृतिक गरिमालाई अभिबृद्धि गर्ने गरी यसको व्यापक प्रचार प्रसार गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको अध्यक्ष ढकालले जानकारी दिए ।  बागलुङ नगरपालिका वडा नं. १० भकुण्डे ११ रायडाँडा १२ अमलाचौर १३ पैयुँपाटा १४ नारायणस्थान र जैमिनी नगरपालिका १ को कोटको रुपमा समेत रहेको मन्दिर परिसरमा हरेक वर्ष भदौ महिनाको पहिलो मंगलबार मेला लाग्ने गर्दछन । मेलामा भैरवस्थानसंग जोडिएको वडाहरुको सांस्कृतिक प्रस्तुतीसंगै ख्याति प्राप्त कलाकारहरुको सांगीतिक प्रस्तुति रहने बताईएको छ ।
 मेलामा ८ लाख ८० हजार आम्दानी हुने र साढे ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको गुठीका कोषाध्यक्ष चन्द्रबहादुर खत्रीले बताए । मेलाको लागि बागलुङ नगरपालिकाको विशेष सहयोग रहेको छ । मेलामा यहाँको ऐतिहासिक तरबार नाच पनि प्रस्तुत गरिने कोषाध्यक्ष खत्रीले जानकारी दिए ।  भैरवस्थान मन्दिर जिल्लाकै मुख्य धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित छ । मेलाको अवसरमा हजारौं आन्तरिक पर्यटकले भैरवस्थान मन्दिरको दर्शन गर्ने बताइएको छ । 
बाइसे चौबिसे राज्यको समयमा सन १७८० मा स्थापना भएको भैरवस्थान मन्दिर नेपाल सरकारको १०० पर्यटकीय गन्तव्य भित्र पर्दछ । भदौको पहिलो मंगलबार यस क्षेत्रका किसानहरुले हरेलो पर्व मनाउने र मन्दिरमा धुमधामका साथ पुजा आजा गर्ने गर्छन । त्यही अवसरमा गत वर्ष देखी हरेलो मेलालाई अझै व्यवस्थित गरी मनाउन थालिएको छ । दुई दर्जन हिम श्रृंखलाको दृश्यावलोकन पनि गर्न सकिने अग्लो ठाउँको मन्दिरमा पुग्दा मनको इच्छा पुग्ने धेरैको विश्वास  रहेको छ । नियमित पूजा हुने मन्दिरमा साताको मंगलबार र शनिबार भक्तजनहरुको चाप बढ्दो रहेको छ ।  मन्दिरलाई बलेवा क्षेत्रका दर्जनभन्दा बढी गाउँको कोटको रूपमा समेत चिनिएको छ । 
उक्त मन्दिरमा दर्शनार्थि सँगैै आन्तरिक पर्यटक पुग्ने क्रम बढदो रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढकाल बताउँछन ।  नारायणस्थान, पैयुँपाटा, अमलाचौर, भकुन्डे, रायडाँडा र कुश्मीसेरा लगायतका गाउँवासीले भैरवस्थानलाई परम्परागत कोटको रूपमा पनि मान्दै आएका छन । मौसमी समस्या र अन्य कामका लागि कोटको पूजागर्ने चलनरहेको छ । भैरवको पूजागर्दा आँटेको पुग्छ भन्ने विश्वासका साथ विभिन्न क्षेत्रबाट दर्शनार्थिहरु आउने गर्छन । मन्दिरमा तत्कालीन राजाहरूको भनिने पुराना खड्ग र त्रिशूल पनिरहेका छन । मन्दिर नजिकै पाग्जाकोटको धुरी पनि छ । धुरी नजिकै भ्युटावर पनि निर्माण गरिएको छ । 
 भैरवस्थानबाट होमस्टे सञ्चालनमा आएको भकुन्डे नजिकै पर्छ । प्राकृतिक दृश्यावलोकन गरेर होमस्टेमा बस्ने चाहना भएका पर्यटक पनि भैरवस्थान पुग्ने गरेका छन ।  बागलुङ सदरमुकाम देखी झण्डै १० किलोमिटरको दुरीमा रहेको उक्त मन्दिरमा पर्वतको कुश्मा देखी यान्त्रिक पुल तरेर करिब २ घण्टाको पैदल दुरीमा त्यहाँ पुग्न सकिन्छ । मेलाको बारेमा बिहीबार बागलुङमा पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियो ।
 कार्यक्रममा बोल्दै बागलुङ नगरउपप्रमुख राजु खड्काले ऐतिहाँसिक हरेलो परम्परालाई जीवित राख्दै भैरवस्थानको धार्मिक तथा पर्यटन विकासका लागि मेला महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । पत्रकार सम्मेलनमा विगतका वर्ष भन्दा यस वर्ष मेलालाई अझै व्यवस्थित गर्ने अध्यक्ष ढकालले जानकरी दिए । पत्रकार सम्मेलनको सञ्चालन सचिव भिम प्रसाद पौडेलले गरेका थिए । 

प्रतिक्रिया