बागलुङ नगरपालिकाको आयोजनामा बागलुङ नगरपालिका वडा नम्वर १४ नारायणस्थानमा सेवा प्रवाह घुम्ती शिविर सम्पन्न भएको छ । शिविरमा एकै ठाउँमा सवै सेवा प्रदान गरिएको छ ।
जनतालाई वडामै पुगेर सेवा दिने उद्देश्यले संचालित शिविरमा नगरपालिकाले वडाबाट छनौट भएका योजना र नगरपालिकाबाट विनियोजन भएका योजनाको सम्झौता, स्वास्थ्य सेवा, अपाङ्गता परिचय पत्र वितरण तथा नविकरण, माटो परिक्षण, वित्तिय साक्षरता लगायतका सेवा प्रदान गरिएको प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाले बताए ।
नगरपालिकाले वडाबाट छनौट भएका योजना र नगरपालिकाबाट विनियोजन भएका योजनाको सम्झौता गरिएको छ भने उपभोक्ता समितिकै नाममा वडा तहमै बैंकको खाता संचालन गरिएको नगरपालिकाले जनाएको छ ।
घुम्ती शिविर सुभारम्भ कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जनताको सहजताको लागि गाउँमै सेवा दिन अभियान संचालन गरेको बताए । उनले जनताका समस्याहरुलाई प्राथमिकता तोकेर क्रमश निराकरण गर्दैै जाने बताउनु भयो ।घुम्ती शिविरले गाउँले जनताको वास्तविक अवस्था थाहा पाउन र उनीहरुको आवश्यकता अनुसार विकास र प्रशासकिय सेवाको योजना बनाउने मद्दत गर्न सहयोग पुग्ने नगर प्रमुख श्रेष्ठको भनाई छ ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाले घुम्ती शिविरको उद्देश्य माथि प्रकास पार्दै सेवाग्राहीको लागत र समय घटाई सहज रुपमा सेवा दिन अभियान संचालन गरेको बताए ।
वडा नम्वर १४ नारायणस्थानका वडा अध्यक्ष चक्र बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न शुभारम्भ कार्यक्रममा स्वागत नगर कार्यपालिका सदस्य सुनिता श्रेष्ठ र संचालन नगरपालिकाका वरिष्ठ योजना तथा प्रशासकिय अधिकृत युक्त प्रसादन सुवेदीले गरेका थिए ।
शिविरमा चालु आवमा स्विकृत १४ वटा योजना सम्झौता गरिएको र योजना सम्झौतासँगै उपभोक्ता समिति र टोल विकास समितिका बैंक खाता पनि खोलिएको छ ।
शिविरमा १३२ जनाको सामान्य स्वास्थ्य परिक्षण सेवा लिएका थिए भने ८१ जना महिलाको पाठेघरको जाँच गरिएको ७० जनाको दाँत परिक्षण गरि ४४ जनाको खराव दाँत निकालिएको थियो ।
सो अवसरमा ६३ जनाको मधुमेह र ७ जनाको मेलेरिया परीक्षण गरिएको स्वास्थ्य शाखा संयोजक रामप्रसाद खनालले जानकारी दिए । शिविरमा नयाँ र पुरानो गरी ३५ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको छ ।
जसमा ‘क’ वर्गको रातो कार्ड ११ जनालाई, ‘ख’ वर्गको निलो कार्ड १५ जनालाई, ‘ग’ वर्गको पहेलो कार्ड ५ जनालाई र घ वर्गको सेतो कार्ड १ जनालाई प्रदान गरिएको प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाले दिए ।
वडा भित्रको भुभाग समेटीने गरीे करीव ११० रोपनी जमिनको कभरेज लिई २२ वटा स्थानका नमुना संकलन गरी माटो परीक्षण गर्दा माटोमा औसतमा पिएच ६.६६ रहेकोेले माटोमा अम्लीयपन अधिक रहेको कृषि शाखाका प्रमुख राहुल केसीले जानकारी दिए । माटो परिक्षण गरिएका कृषकहरुलाई सिफारीस मात्रामा कृषि चुनको प्रयोग गर्न सुझाइएको छ ।
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सेवा अन्तर्गत ३७ जनाको सामाजिक सुरक्षा भत्ता नविकरण तथा व्यक्तिगत विवरण अध्यावधिक, ८ जनाको सामाजिक सुरक्षा भत्ता नयाँ दर्ता र २ जनाको व्यक्तिगत घटना दर्ता गरिएको थियो । शिविरमा उपभोक्ता समितिहरु, कृषक लगायतका ५५ जना सरोकारवालालाई योजना कार्यात्वयन, फरफारक, वित्तिय साक्षरता र कृषि प्रविधि सम्बन्धी अनुशिक्षण दिईएको थियो ।