अहिलेको सरकार परमादेशको सरकार भनेर टिप्पणी गर्नु पराजित मानसिकता हो- चित्रबहादुर केसी

  • असोज १५, २०७८

बागलुङ - राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीले सरकारले ल्याएको अध्यादेश माधव नेपाल, झलनाथ खनाल र मधेसी दलका लागि भएको बताए । उनले दल विभाजन गरेर संसदमा बहुमत पु¥याउनका निम्ती २० प्रतिशत राखेर अध्यादेश ल्याएको र काम फत्ते भएपछि पुन खारेज गरेको बताए । प्रगतिशिल पत्रकार संघ बागलुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै केसीले आवश्यकता अनुसार अध्यादेश ल्याएर पुन खारेज गरेको बताए । 
संसदमा बहुमत पु¥याएर बैधानिक बनाउनका निम्ती संसद छलेर अध्यादेश ल्याउनुपरेको केसीको भनाई थियो । ‘संसदबाटै अध्यादेश ल्याउन गाह्रो थियो केसीले भने, अड्को पड्को तेलको धुप त गर्नै प¥यो । यसरी नै काम चलाएर नेकपा समाजबादी र मधेसी दललाई एकै ठाउँमा ल्यायौं । अध्यादेश ल्याएर काम सकियो गठबन्धन पक्का भयो । काम सकिए पछि पुन फिर्ता भएको छ । अब पुन पुरानै ४० प्रतिशतकै शर्त रहने छ ।’ उनले नेकपा एमालेमा आफ्नो पार्टी भित्रको समस्याले संसद दुई पटक सम्म सिकार भएको बताए । केसीले जनादेशको सरकार भत्काउने प्रतिगमन कार्य गरेर अहिले परमादेशको सरकार भनेर टिप्पणी गर्नु पराजित मानसिकता मात्रै भएको समेत टिप्प्णी गरे । उनले संविधानको धारा ७६(५)को व्यवस्था अनुसार सरकार गठन भएको समेत बताए ।
केसीले एमालेले प्रतिगमनलाई साथ दिएकोले हिजो मित्र शक्ति भनिएको दलको साथ छाडेर कांग्रेसको सत्तालाई साथ दिएको बताए । ‘प्रतिगमनलाई साथ दिएपछि हामीले उनीहरुको साथमै बसिदिनु पर्ने केही पनि छैन,’ केसीले भने, ‘परिवर्तनका लागी लडेका गणेशमान र बीपी बिटुलो हुने, कम्प्युनिस्ट पार्टी भएपछि सबै चोखो हुने हुन्छ र ?’
केसीले एमसीसीको विषयमा ठूला राजनीतिक दलहरु विदेशीको इशारामा चलेको आरोप लगाएका छन् । सत्ता बाहिर बस्दा र सत्तामा गएपछिका काम, कारबाही र व्यवहारले विदेशी इशारामा चलेको पुष्टि भएको उनले भनाई थियो । राष्ट्रियता र गणतन्त्र नै धरापमा पारेर विदेशीको पक्षमा लागेको समेत आरोप लगाएका छन् । 
‘एमसीसीबाट देशको अस्तित्व बेचेर व्यापार गर्न खोजेका छन्,’ केसीले भने, ‘देश र जनताले नचाहेको विदेशी अनुदान खोजीखोजी ल्याउन दलहरु दगुरेको देखियो ।’ एमसीसी नै वैदेशिक हस्तक्षेप भएको उनको टिप्पणी छ । उनले जनताले बलिदानीबाट ल्याएको गणतन्त्रविरुद्ध समेत दलहरु बोल्न थालेको टिप्पणी गरे । 
 

प्रतिक्रिया