काठमाण्डौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले सेनासँग मिलेर नै गोकर्णस्थित बागमती करिडोर विस्तार गरिएको प्रष्ट पारेका छन् ।
उनले एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाका प्रमुख सेनानीसँग समन्वय र छलफल गरेर नै सडक विस्तारको काम भएको बताएका छन् ।-
‘…उक्त कार्य सम्पन्न गर्ने क्रममा सम्बन्धित नेपाली सेनाको टुकुडीलाई आवश्यक जानकारी पुग्न केही मिनेटको ढिलाइ भएको कारण प्रारम्भिक रूपमा केही असहज अवस्था सिर्जना भएको थियो,’ पाण्डेले भनेका छन्, ‘तर त्यसपश्चात् नेपाली सेनाका प्रमुख सेनानीज्यूसँग आपसी समन्वय र छलफल सम्पन्न भई नेपाली सेनाकै पूर्ण सहयोग र सहकार्यमा उक्त सडक विस्तारको कार्य सफलतापूर्वक सम्पन्न गरिएको जानकारी गराइन्छ ।’
उक्त कार्य काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको पनि उनले बताएका छन् ।
मंगलबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग पनि सांसद पाण्डेले करिडोर विस्तारका क्रममा सेनाका एक अधिकृतलाई समयमा नै जानकारी नभएर केही समय समन्वयमा अभाव देखिएको भन्दै केही समयपछि नै सेनासँग मिलेर करिडोर विस्तार गरिएको जिकिर गरे ।
चुनावी अभियानका क्रममा स्थानीय जनताले राखेको माग अनुसार अधिकार सम्पन्न बागमती, केभिडिए र नेपाल ट्रस्टसँग समन्वय गरी डोजर प्रयोग गरेर बाटो खोलिएको उनले बताएका छन् ।
सांसद पाण्डेले करिडोर खोल्ने क्रममा त्यहाँ नेपाली सेनाको टुकडी छ भन्ने थाहा पाएपछि समन्वय गर्नलाई अधिकार सम्पन्न बागमतीको अध्यक्षलाई जिम्मा दिइएको उल्लेख गरेका छन् ।
बाहिर आएका भिडियोहरु समन्वय गर्न केहि मिनेट ढिलाई भएको अवस्थाको रहेको उनको भनाइ छ । त्यसपछि भने नेपाली सेनासँग मिलेर नै करिडोर खुलाइएको उनले बताए ।
‘वास्तविकता नबुझी सामाजिक सञ्जाल वा सञ्चारमाध्यममार्फत भ्रम फैलाउने, संस्थाहरूबिच अनावश्यक विवाद सिर्जना गर्ने वा तथ्यभन्दा फरक निष्कर्ष प्रस्तुत गर्ने कार्यबाट सबैमा संयमता अपनाइदिन हार्दिक अनुरोध गर्दछु,’ उनले विज्ञप्तिमा भनेका छन् ।