बागलुङ - बागलुङ जिल्लामा डेंगी संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएपश्चात यसको नियन्त्रणका निम्ती लामखुट्टे खोज र नष्ट गर अभियान संचालन गरिने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले बुधबार सरोकारवालाहरुसँगको अन्तरक्रिया तथा योजना तर्जुमा बैठकमा सो निर्णय गरेको छ ।
जिल्लामा श्रावण १ गते देखी यता २ सय ४१ जनामा डेंगी संक्रमण पुष्टी भै सकेको छ । दैनिक रुपमा संक्रमितको संख्या बढ्दै गएपश्चात यसको नियन्त्रणका निम्ती थप अभियान संचालन गर्न लागिएको प्रदेन जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख जनस्वास्थ्य प्रशासक प्रविण शर्माले जानकारी दिए । कार्यालयले यस अघि विभिन्न टोलटोलमा डेंगी नियन्त्रण सम्बन्धीका अभियान संचालन गर्दै आएको थियो । तर दैनिक संक्रमणको दर झनै बढ्दै गएपश्चात विभिन्न क्षेत्रका सरोकारवालाको सहयोगमा बृहत अभियान संचालन गर्न लागिएको शर्माले बताए । बैठकबाट हरेक हप्ता हरेक वडामा एक दिन संयुक्त रुपमा सरसफाई अभियान संचालन गर्ने र जिल्लाका सवै पालिकामा खोज र नष्ट गर अभियान संचालन गर्ने निर्णय गरेको छ ।
जिल्लामा १९ दिनमा २४१ जनामा संक्रमण पुष्टी भएकोमा सवै भन्दा बढि बागलुङ नगरपालिका १८२ जना डेंगीका विरामी रहेका छन । त्यसबाहेक गलकोट नगरपालिकामा १८, काठेखोला गाउँपालिकामा ११, जैमिनी नगरपालिकामा ८, ढोरपाटन नगरपालिकामा ३, बडिगाड र बरेङ गाउँपालिकामा १÷१ जना संक्रमित रहेको प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिए । यसका साथै जिल्लामा अन्य जिल्लाबाट आएर यहाँ बसोबास गर्ने १७ जना संक्रमित विरामी रहेको घिमिरेले बताए ।
परिक्षण गरिएका मध्ये धौलागिरी अस्पतालमा सबैभन्दा बढी २२६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । त्यस्तै गलकोट नगर अस्पतालमा १२ जना र बुर्तिबाङ अस्पतालमा ३ जना संक्रमित फेला परेका थिए ।
बैठकमा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले डेंगी नियन्त्रण कुनै एक कार्यालयले मात्र गर्न नसक्ने हुँदा सवै समुदायले साथ दिनुपर्ने बताए । उनले डेंगीबाट जोगिनका निम्ती सवैले न्युनतम कुराहरुलाई ख्याल गर्न जरुरी रहेको बताए । आचार्यले जिल्लामा खोज र नष्ट गर अभियानमा सवै समुदायका व्यक्ति र सरोकारवालाहरुले सहयोग तथा सहजीकरण गर्न आग्रह गरे । कार्यक्रममा धौलागिरी अस्पतालका डा. सन्दिप केसी, उद्योग बाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले अभियानमा सवैले साध दिनुपर्ने धारणा राखेका थिए ।
स्वास्थ्य कार्यालयले वर्षायामसँगै डेंगु संक्रमणको जोखिम बढेकाले घर तथा कार्यालय वरिपरि पानी जम्न नदिन, लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन, झुलको प्रयोग गर्न र ज्वरो, टाउको तथा जोर्नी दुख्ने, आँखाको पछाडि दुख्ने लगायतका लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा परीक्षण गराउन सर्वसाधारणलाई आग्रह गरेको छ । स्वास्थ्य कार्यालयका अनुसार समुदायस्तरमा सरसफाइ, लामखुट्टे नष्ट गर्ने अभियान र जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउन सके डेंगी संक्रमण नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्नेछ ।