बागलुङ- ‘निर्वाचनमा गै रहँदा हामी आफ्नै पार्टी भित्रबाट नै ढुक्क हुने बातावरण छैन । घात गरेर निर्वाचन नै हराउने खेलमा लाग्ने सँग हामीलाई डर छ, नेपाली काँग्रेस बागलुङका सचिव गण्डकी थापा अधिकारीले भनिन्–‘प्रतिपक्ष सँग बरु हामी सजिलै लड्न तयार छौं आफ्नैबाट घात प्रतिघात हुँदा निर्वाचनमा पराजय भोग्नुपर्ने भएको छ । अरुसँग बरु डर छैन ।’ नेपाली कांग्रेस गण्डकी प्रदेशले संचालन गरेको ‘जनजनमा काँग्रेस मनमनमा काँग्रेस अभियान अन्तरगत बागलुङमा आयोजित प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा उनले यो कुरालाई नेता तथा कार्यकर्ताले सुधार गर्न जरुरी रहेको बताईन । उनले आफुले टिकट नपाएको झोकमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन हिँड्नेलाई पार्टीले अनुसासनको कारबाही गर्नुपर्ने कुरामा जोड दिईन । उनले महिलाहरु पनि नेतृत्वमा अघि बढ्नुपर्ने र प्रमुख पदमा ३३ प्रतिशत नेतृत्व लिन तयार हुनपर्ने बताइन् ।
जैमिनी नगरपालिकाका नगरपालिकाका नगर सभापति प्रेम प्रसाद सापकोटाले अरु दिन कांग्रेस र चुनावको दिन भोट अन्त हाल्नेलाई कारबाही गर्नुपर्ने बताए । सापकोटाले भने ‘कांग्रेस भित्र अन्तरघात बढ्दै गएको छ । एउटा जित्दै गर्दा अर्का पछि पर्छुकी भन्ने छ । आफ्नो पार्टी भित्रको आन्तरिक चुनावको तुस पालरे प्रतिपक्ष सँग लड्दा पनि हराउन हिँड्ने प्रबृतिको अन्त्य हुनुपर्दछ । चुनावमा भोट नहाल्ने, घात गर्नेलाई कारवाही गर्नुपर्छ ।’
बागलुङ नगरपालिकाका सभापति उमाकान्त शर्मा बाबुले स्थानिय तहको निर्वाचनमा टिकट दिई रहँदा वडा र नगरपालिका तहमा बुझेर मात्र दिनुपर्ने बताए । कसले कति भोट ल्याउँछ भन्ने मूल्याङ्कन गरेर स्थानीय तहको टिकट दिनुपर्नेमा उनको जोड थियो । शर्माले निर्वाचनमा जसले जित्ने गरी आफ्नो संगठन बनाएको छ कार्यकर्ताको मनोभाव बुझेर उम्मेदवार बनाउनुपर्ने बताए । उम्मेदवारका लागि टिकट ‘आफुले पाए ठिक, नपाए बेठिक भन्ने होइन । टिकट पाएकालाई हराउनुपर्छ भनेर टिकट नपाएकाहरु हात धोएर लाग्ने होईन । सबै एकै ठाउँमा हुनुपर्छ’, उनले भने ‘पार्टीले जिल्ला तह देखी हरेक नेता तथा कार्यकर्तालाई एउटा एउटा भुमिका दिनुपर्छ, जिम्मेवार पाएकोले गाउँमा गएर जनताका समस्या बुझनुपर्दछ र आफ्नो उम्मेदवार जिताउन लाग्नुपर्दछ ।’ प्रतिनिधि सभा क्षेत्र नं. २ प्रदेश (ख) का सभापति मेषलाल शर्माले अन्य पार्टी सँग गठबन्धन गर्नुभन्दा पहिले आफुहरुनै गठबन्धन भएर एकता कायम गर्न जरुरी रहेको बताए । उनले केन्द्र देखी गाउँ सम्म नै गुट उपगुट देखिएका कारण पहिला यसको अन्त्य गर्न जरुरी रहेको बताए । गलकोट नगरपालिकाका सभापति विरजंग भण्डारीले कसको क्षेत्रमा संगठन कस्तो छ त्यो हेरेर मात्र गठबन्धन गर्नुपर्ने बताए । उनले गठबन्धनको नाममा काँग्रेसका लागि घात हुने काम नगर्न नेताहरुलाई आग्रह गरे । निसीखोला गाउँपालिकाका सभापति सुर्यबहादुर घर्तिले हिजो आन्तरिक निर्वाचनमा जो जता भए पनि अब एक हुनुपर्ने र कोही कसैलाई पनि अन्तरघात गर्न छुट नरहेको बताए ।
गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले हिजो निर्वाचित भएका जनप्रतिनिधिहरु पनि अधिकाशंले पुन दोहोराउन खोजेको कुरा आएको हुँदा अघिल्लो चुनावमा गरेका बाचा पूरा गरेको वा नगरेको मूल्याङ्कन गर्नुपर्ने बताए । उनले सवै स्थानिय तहमा पार्टीले पहिले को बलियो छ कस्को प्रभाव कस्तो छ त्यो बुझेर मात्र टिकट दिने बताए । शर्माले यदि आफुले टिकट नपाएको झोकमा कोही कसैले घात गर्न हिँड्छ भने त्यसलाई पार्टीको साधारण सदस्यता बाट समेत निश्कासन गर्ने गरी कारबाही गर्न पछि नपर्ने बताए । काँग्रेस बागलुङका सभापति जित शेरचनले हिजोका दिनमा जस्तो हचुवाको भरमा अब उम्मेदवार नबने ठोकुवा गरे । ‘हामीले विचार गरेर मात्र उम्मेदवार बनाउने छौं । कसको प्रभाव कस्तो छ त्यो हेर्न छौं । शेरचनले भने,–‘कहिलै गाउँ नजाने अनि चुनावमा उम्मेदवार बन्नेलाई अब उम्मेदवार बनाईने छैन । जो जनताको माझमा निरन्तर छ । जो लोकप्रिय छ त्यो उम्मेदवार बन्नेछ ।’ कार्यकुशलता हेरेर चुनाव जित्ने ब्यक्तिले टिकट पाउने उनले बताए । क्षणिक राजनीतिक प्रतिशोधले कालान्तरमा पछुताउने अवस्था आउन नदिन चुनावमा जसले टिकट पाए पनि उसको पछि अरु नेता लाग्नुपर्ने बताए । निर्वाचनमा कोही बाट घात भएको थाहा भएमा उसको आगमी राजनिति नै धरापमा पर्ने शेरचनको भनाई थियो ।
आगामी स्थानिय तहको निर्वाचन लक्षित गरेर आयोजना गरिएको कार्यक्रममा धारणा राख्ने अधिकांश नेता तथा कार्यकर्ताले कांग्रेस भित्रै एउटाले टिकट पाउँदा अर्को रिसाउने, चुनावमा असहयोग गर्ने वातावरण सिर्जना हुन नहुने धारणा राखेको काँग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिए । उनले सबै एकजुट हुनुपर्ने बेला यही चुनाव रहेको बताउँदै सबै कुरा बिर्सेर जनताका बिच एकताको सन्देश दिने गरी काँग्रेसले घरघर जाऔ काँग्रेस जिताऔं अभियान संचालन गरेको बताए । काँग्रेस बागलुङले केन्द्रीय अभियान पुर्व नै जनता सँग नेपाली काँग्रेस पहिलो चरणमा संचालन गरिसकेको शर्माले बताए ।