बागलुङ । सवारी दुर्घटना न्युनीकरण र सडक अनुसासन कायम गर्नका लागि बागलुङमा सोमबार देखि ट्राफिक सप्ताह–२०८० सुरु गरिएको छ । जिल्ला ट्राफिक कार्यालय बागलुङको आयोजनामा सप्ताहव्यापी ट्राफिक जनचेतना मूलक कार्यक्रम आयोजना गरी मनाउने भएको हो ।
बागलुङ बजारमा सामाजिक संघसंस्था सँगको सहकार्यमा सप्ताहको पहिलो दिन सोमबार ट्राफिक सचेतना मुलक प्लेकार्ड सहित जनचेतनामुलक ¥याली र उद्घाटन गरिएको छ । सप्ताहको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले प्रत्येक व्यक्ति सचेत भए मात्र सवारी दुर्घटना न्यूनीकरण हुने भएकाले यस्ता अभियानलाई निरन्तार दिनुपर्ने बताए ।
‘साँधुरो र ग्रेड नमिलेका सडकमा सवारीसाधन जथाभावी सञ्चालन हुँदा दुर्घटना बढेको छ,’ प्रमुख थापाले भने,‘दुर्घटनालाई कमी गर्न सवारी चालक र यात्रुहरु बढी जागरुक बन्नुपर्छ ।’ प्रमुख थापाले सडक प्रयोगकर्ता अनुशासित भए सडक दुर्घटनामा कमी आउने बताए ।
बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले भुगोल र कच्ची सडकका कारण जिल्लामा दुर्घटना हुने गरेकोले यसको न्यूनिकरणको लागि सवैले ध्यान दिन जरुरी रहेको बताए ।
पैदल यात्री जथाभावी बाटो काट्ने, सवारी चालकले ट्राफिक नियमको पालना नगर्ने जस्ता कुराले थप दुर्घटना बढेका कारण जनचेतना जगाउँदै दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह सुरु गरिएको ट्राफिक कार्यालय बागलुङका प्रमुख मिन बहादुर खड्काले बताए ।
प्रमुख खड्काले सप्ताहमा चोक चोकमा ट्राफिक प्रहरीसँग स्वयंसेवक परिचालन कार्यक्रम, जनचेतनामूलक पम्प्लेट वितरण, पैदल यात्रुलाई बाटो काट्न सिकाउने, खाल्डाखुल्डी पुर्ने, ग्रामिण सडक लक्षित प्रशिक्षण, सवारी चालक र परिचालकलाई सडकमै प्रशिक्षण दिने बताए ।
यस्तै सिट क्षमता अनुगमन, सडक प्रयोगकर्ता प्रशिक्षण, यात्रु सचेतना, शैक्षिक संस्थामा विद्यार्थीलाई प्रशिक्षण, विद्यार्थीहरुलाई ट्राफिक सचेतना, सेना, सशस्त्र र प्रहरीलाई प्रशिक्षण, ग्रामिण स्थलमा सचेतना, सवारी चालकको स्वास्थ्य जाँच, स्टिकर टाँस, मास्क वितरण, सवारीको छत हुट अनुगमन, सिट क्षमता, बढी भाडा र आरक्षण सिट अनुगमन, लघु सचेतना कार्यक्रम र यात्रु सचेतना कार्यक्रम गरिने खड्काले बताए ।
ट्राफिक प्रहरीले सप्ताहको अवसरमा चालक र परिचालकलाई प्रशिक्षण गरि पोशाक प्रयोग जुत्ता लगाएको नलगाएको ओभरटेक गरे नगरेको सम्बन्धि प्रशिक्षण दिने र अन्तिम दिन सप्ताहको समिक्षा र सवारी दुर्घटनाबाट ज्यान गुमाएकाहरुको सम्झनामा दिप प्रज्वलन गर्ने कार्यक्रम तय गरिएको छ ।
कार्यक्रममा धौलागिरि गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसीले बोलेका थिए । बागलुङमा चालु आर्थिक बर्षसुरु भएपछि ११ दुर्घटना भएका छन् । ती दुर्घटनामा ८ जनाले ज्यान गुमाएको तथ्यांक छ । कयौं नागरीक दुर्घटनापरी घाईते, अंगभंग भएका छन् । यो परिदृष्य सुधारको प्रयास थालिएको छ ।
बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक मदन केसी र संचालन बागलुङ उद्योग वाणिज्य संघका महासचिव ऋषिराम गौतमले गरेका थिए ।