कर्मचारीले इमान्दार भएर काम गर्ने हो भने स्रोत साधनको कमी हुँदैन - मन्त्री श्रेष्ठ

  • असोज ७, २०७८

गण्डकी प्रदेश सरकारका शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले स्थायी सरकारको रुपमा रहेको कर्मचारीले इमान्दार भएर काम गर्ने हो भने स्रोत साधनको कमी नहुने बताएका छन । बुधबार प्रदेश सरकार  मातहत रहनेगरी बागलुङमा  माजिक विकास कार्यालय स्थापना गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन । उनले स्थायी सरकार भनेकै कर्मचारी भएको हुँदा कर्मचारीले चाहेमा हरेक क्षेत्रको विकासमा कुनै असहज नहुने बताए । ‘राजनीतिक रुपमा सरकार त फेरिइरहन्छ तर स्थायी सरकारको रुपमा काम गर्ने कर्मचारीले साँच्चिकै इमानदारीपूर्वक जनताको काम गर्ने हो भने स्रोत साधनको कमी हुन्न,’ उनले भने,‘जनताको समस्यालाई नजिकबाट सम्बोधन गर्नका लागि प्रदेश सरकारले कार्यालय स्थापना गरेको बताए ।

कानुन निर्माणको समस्याका कारण कतिपय कुराहरु कार्यान्वयनमा समस्या भए पनि जनताका लागि धेरै अधिकार संविधानमा लेखिएकाले त्यसको कार्यान्वयन गरेर जनतालाई आभास दिलाउनका लागि कार्यालयहरुले राम्रोसंग जनताको काम गर्नुपर्ने बताए ।

उनले सेवाग्राहीलाई सेवा प्रदान गर्नु आफ्नो जिम्मेवारी र कर्तव्य हो भन्ने ठानेर कर्मचारीले काम गर्नुपर्ने बताए । कर्मचारीले दललाई दोषारोपण गर्ने र दलले कर्मचारीलाई दोषारोपण गरेर काम नहुने उनको भनाइ थियो ।

कार्यालयले प्रत्यक्ष जनतासंग जोडिएर महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई सेवा प्रवाह गर्ने भएकाले यसले राज्यको आभास दिलाउने उनको भनाइ थियो । उलने ९० दिनमै उल्लेख्य देखिने गरी काम गर्न कर्मचारी र कार्यालय प्रमुखलाई निर्देशन समेत दिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र बागलुङका जिल्ला संयोजक ज्ञामनाथ गैरे अनिल, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भीमलाल पोख्रेल, गैरसरकारी संस्था महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटा लगायतले बोलेका थिए ।

शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव विनोद कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सामाजिक विकास कार्यालय बागलुङका प्रमुख डम्बर जिसी र सञ्चालन पत्रकार राम थापा अविरलले गरेका थिए ।

प्रतिक्रिया