बागलुङ- यही बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरु मतदान केन्द्र स्थल तर्फ लागेका छन । जिल्लाका दश वटै स्थानिय तहमा निर्वाचन सम्पन्न गर्न जिल्ला निर्वाचन कार्यालय बागलुङबाट निर्वाचन सम्बन्धी आवश्यक सामाग्री बुझेर कर्मचारीहरु मतदान केन्द्र तर्फ लागेका हुन ।
बुधबार सम्म मतदान केन्द्रमा पूगनेगरी सुरक्षाकर्मी र कर्मचारी खटाइएको छ । जिल्लामा निर्वाचनका लागि आएको मतपत्र, मत पेटिका सहितको ६० प्रकारका निर्वाचन सामाग्री बुझेर निर्वाचन अधिकृत सहित अन्य कर्मचारी मतदान केन्द्र तर्फ लागेको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञप्रसाद रिजालले जानकारी दिए । सोमबार साँझ सम्म करिब १५० मतदान केन्द्रका कर्मचारीले सामाग्री बुझेको र अन्यले मंगलबार बुझ्ने बताईएको छ ।
जिल्ला निर्वाचन कार्यालयले आवश्यक मतपेटिका सहितका अन्य ६० प्रकारका सामाग्री बुझाएको छ भने मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतदान अधिकृतले लिने रिजालले जानकारी दिए ।
मतदानका लागि जिल्लामा ४६० जना मतदान अधिकृत र सहायक अधिकृतहरु ११५० जना कर्मचारी खटिने छन भने ६९० जना स्वयंसेवक खटिने निर्वाचन कार्यालयले जनाएको छ । सोमबार टाढाका केन्द्रका निर्वाचन अधिकृतले आफु खटिएका मतदान केन्द्रको सामाग्री बुझेका छन रिजालले भने,–‘नजिकका केन्द्रका २७ गते सम्म पुग्नेछ । मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई शनिबार नमूना मतदान गरेर पठाएका छौं, अन्य कर्मचारी स्थानीय पालिकाका हुन्छन्, उतैबाट खटिन्छन् ’ दश वटै स्थानिय तहमा निर्वाचन अधिकृत कर्मचारी र शिक्षकलाई मिलाएर खटाइएको रिजालले जानकारी दिए ।
निर्वाचनलाई भयरिहत बनाउनका लागि सवै मतदान केन्द्रमा सुरक्षाकर्मीहरु पनि पुगि सकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञावलीले जानकारी दिए । सवै केन्द्रमा बन्दोबस्तीका सामाग्री सहित सुरक्षाकर्मीहरु पुगेको ज्ञावलीको भनाई छ । जिल्लामा सवै मतदान स्थलको सुरक्षा व्यवस्थालाई चुस्त बनाउनका ७०० नेपाल प्रहरी, ९८० म्यादी प्रहरी, ३३० शसस्त्र प्रहरी र ५३० २ हजार ५ सय ५ सय ४० सुरक्षाकर्मी मतदान केन्द्रमा खटाईएको प्रहरी प्रमुख ज्ञावलीले जानकारी दिए ।
निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि प्रमुख जिल्ला अधिकारीको सयोजकत्वमा सुरक्षा व्यवस्था समिति गठन गरिएको छ । जिल्लाका १०३ मतदान स्थलमा सुरक्षा व्यवस्था चुस्त बनाउनका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वको समितिले स्थलगत अनुगमन गरिरहेका छौं, ज्ञावलीले भने,–‘मतदान स्थललाई अति संवेदशनशिल, संवेदनशिल र सामान्य गरी विभाजन गरेका छौं सोही अनुसार सुरक्षाको व्यवस्था पनि फरक फरक शैलीमा गरेका छौं । आईतबार देखी नै मतदान स्थलको सुरक्षा व्यवस्था दिन थालेको उनले बताए । जिल्लामा मतदातालाई कुनै डर त्रास विना मतदान गर्ने वातवरण सिर्जना गर्ने उनले बताए । निर्वाचनको पुरै सुरक्षा व्यवस्थाको जिम्मा भने नेपाल प्रहरीलाई रहेको छ । म्यादी प्रहरीको सहयोगमा नेपाल प्रहरीले निर्वाचनमा सुरक्षा दिइने छ । मतदान केन्द्रमा म्यादी सहितको प्रहरी परिचालन गरिने छ भने बाहिरी घेरामा शसस्त्र प्रहरी खटाइनेछ । मतदान स्थल नजिकै नेपाल आर्मी परिचालन गरिने छ ।
मतदान स्थलको भौगोलिक अवस्था, अघिल्ला निर्वाचनको गतिविधि, मतदाता संख्या, स्थानीय नागरिकको अवस्थालाई ध्यानमा राखेर सुरक्षाकर्मी पठाइएको छ । बागलुङमा एक लाख ९३ हजार २२६ मतदाता छन भने २३० मतदान केन्द्र र १०३ मतदान स्थल रहेको छ । जिल्लाको सवै भन्दा बढि बागलुङ नगरपालिकामा मतदाता रहेका छन ।