बागलुङ- स्थानिय तहको निर्वाचनको मिति नजिकिए सँगै यति बेला गाउँ र नगरपालिकामा विभिन्न राजनितिक दलले उम्मेदवार टुुगाउन कसरत गरिरहेको छ । नेकपा एमालेको तर्फबाट जिल्लाको काठेखोला गाउँपालिकाको अध्यक्षमा चार जनाले आकांक्षा व्यक्त गरेका छन् । अघिल्लो निर्वाचनमा पनि एमालेले नै जितेको यस पालिकामा पुन वर्तमान अध्यक्ष अमर बहादुर थापा सहित चार जनाले आकंक्षा व्यक्त गरेका हुन ।
एमाले काठेखोला गाउँपालिकाको सोमबार बसेको बैठकमा चार जनाले उम्मेदवारी दिने घोषणा गरेका छन् । वर्तमान अध्यक्ष थापा सहित एमाले काठेखोला अध्यक्ष डिलबहादुर कार्की, नेकपा एमाले प्रदेश कमिटि सदस्य हुमाकुमारी जिसी ‘अञ्जु’ र इन्जिनियर खिमानन्द कँडेलले आकांक्षा व्यक्त गरेको एमालेले जनाएकाे छ ।
उपाध्यक्षमा पूर्व जिल्ला कमिटि सदस्य गंगाकुमारी शर्मा र जिल्ला सदस्य मिनाकुमारी कँडेलले आकांक्षा व्यक्त गरेका छन । आकंक्षीको नामावाली पालिकाले पठाए सँगै जिल्ला कमिटिले वडा तहको उम्मेदवारकाे अन्तिम टुगो लाग्ने छ भने पालिकाको जिल्लामा नटुंगिएमा प्रदेश कमिटिमा पठाउने नेकपा एमाले बागलुङका प्रवत्ता चन्द्र गणेशले जानकारी दिए । जिल्लामा अन्य पालिकामा पनि उम्मेदवारका लागि आकंक्षीहरुकाे नाम आएको छ ।