• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • अर्थतन्त्र

तीन करोड ६२ लाखको लागतमा डुडियाखोलामा पक्की पुल निर्माण 

  • जेठ ५, २०८३

बागलुङ- बागलुङको काठेखोला गाउँपालिका–२ भिमापोखरा वडा नं.–४ तग्रामको विचमा रहेको डुडियाघाटमा पक्की पुल निर्माण सम्पन्न भएको  छ । गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय मार्फत कुल  तीन करोड ६२ लाख २२ हजार रुपैयाँ खर्चेर पुल निर्माण सम्पन्न गरिएको छ । पक्की पुल उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीत शेरचनले गरेका छन ।  पुल उद्घाटनपछि बोल्दै शेरचनले प्रदेशको औचित्य खोज्नेहरुलाई विकासले जवाफ दिएको बताए ।  “काठेखोलाका तीन वटा पक्की पुल प्रदेश सरकारले बनायो, संघीय सरकारले बनाउन नसक्ने होइन तर संघीयताको मर्मअनुसार विकास भएको छ, प्रदेशको काम छैन भन्नेहरुलाई विकासले जवाफ दिइरहेको छ ।” मन्त्री शेरचनले भने । 

बागलुङको काठेखोला गाउँपलिकाभित्र बाह्रै मास सवारीसाधन सञ्चालनमा ल्याउने योजना अनुसार डुडियाखोलाको डुडियाघाटमा पक्की पुल निर्माण गरिएको हो ।   बिएमए निर्माण सेवा बागलुङले २०८० कात्तिक १७ गते २०८२ वैशाखमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । निर्माण कम्पनीले सम्झौताको एक वर्ष ढिलागरी निर्माण कार्य सकेको छ । पुल उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापाले काठेखोलामा विकासले गति लिएको बताए । उनले काठेखोलामा सडक कालोपत्र, पुल बन्ने लगायतका काम भइरहेको बताए ।  आरसीसीटी बिम प्रकारको पुल ८ दशमलव ४० मिटर चौडाइ र २० मिटर लम्बाइको रहेको छ । उक्त पुल निर्माण सकेर हस्तान्तरणको प्रकृयामा पुगेको निर्माण व्यवसाीय विमलेश आचार्यले जानकारी दिए ।  गत वर्ष सक्नुपर्नेगरी पुल पहिलेनै ढलान भएपनि सडकको दुई तर्फ काम बाँकी रहेको र भुक्तानीमा ढिलाईभएकाले एक वर्ष पछि मात्रै पुल निर्माण सम्पन्न भएको आचार्यले जनकारी बताए ।  पुल निर्माणपछि काठेखोला गाउँपालिकाको दुई वडा तङ्ग्राम र धम्जामा र ताराखोला गाउँपालिका पुग्ने छोटो सडक बाह्रैमास सञ्चालनमा आउने छ ।

गाउँपालिका भर अहिले सम्म गण्डकी प्रदेश सरकारले तीन ठाउँमा पक्की पुल निर्माण सम्पन्न भएपछि गाउँपालिका भर वर्खामा यातायात ठप्प नहुने काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए । काठेखोला गाउँपालिकाको रेश जाने सडकको रेश स्थित एक्लेखेत, लामाबगर खोला र डुडियाघाटमा पक्की पुल बनेपछि गाउँपालिकाका सबै वडामा बाह्रैमास सवारीसाधन चल्ने भएको अध्यक्ष थापाले  बताए । 
गण्डकी प्रदेश सकारको १२ करोड लगानीमा तीन वटा पुल निर्माण सम्पन्न भएको हो । “पक्की पुल निर्माणमा प्रदेश सरकाले सहयोग गरेका कारण काठेखोलामा बाह्रैमास सवारीसाधन चल्ने भएका छन्, दुई वर्षदेखि रेश र तीन वर्षदेखि लामाबगरमा पुल बन्दा सहज भएको र अहिले डुडियाघाटको पुल समेत निर्माण सम्पन्न भइसकेको छ” थापाले भने “पुल नहुँदा बर्खामा सवारीसाधन ठप्पजस्तै हुन्थे अब सहज भयो, गाउँपालिकाको ध्यान अब सडक स्तारोन्नतीमा छ ।”

गाउँपालिकाको वडा नम्बर ६ बिँहु र वडा नम्बर–२ भिमापोखरा जोड्ने गरी लामाबगरमा तीन वर्ष पहिले ३० मिटर लामो पक्की पुल तीन करोड ३१ लाख लागतमा निर्माण सम्पन्न भएको थियो भने दुई वर्ष अघि मात्रै रेश जाने सडकको एक्लेखेतमा २५ मिटर लामो पक्की पुल पाँच करोडको लागतमा निर्माण भएको थियो । पुल निर्माणसँगै तंग्राम धम्जा हुँदै ताराखोला जाने बैकल्पिक मार्गका लागि पनि सहज हुने भएको छ । 

प्रतिक्रिया