स्वास्थ्य जागरणका निम्ती महिला स्वयं सेविकाको सम्मेलन

  • माघ १२, २०८२

बागलुङ-  समुदायको भरोसाको रुपमा मानिने महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकालाई समाजमा थप सक्रिय बनाउने उद्देश्यका साथ बागलुङमा महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका सम्मेलन गरिएको छ । बागलुङ नगरपालिकाको आयोजनामा प्रादेशिक जनस्वास्थ्य कार्यालय बागलुङ नगरभित्रका सम्पुर्ण महिला स्वास्थ्य स्वयं सेविकाको सहभागितामा सम्मेलन सम्पन्न गरिएको हो । 
स्वास्थ्यमा जागरणका साथै सचेतना अभिवृद्धि गर्ने र उनिहरुको समस्या बुझ्नका निम्ती सम्मेलन गरिएको बागलुङ नगरपालिकाका  स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले बताए ।   
सम्मेलनमा सुरक्षित मातृत्व, पोषण,  खोप, परिवार नियोजन तथा मातृ मृत्युको अवस्थाको बारेमा छलफल गरिएको थियो । अल्पकालिन सेवा केन्द्रका बारेमा जानकारीका साथै लैङिगक हिंसा न्युनिकरण दीर्घरोगको प्रारम्भिक पहिचानमा महिला स्वयंसेविकाको भूमिकाको बारेमा समेत स्वयं सेविकासँग छलफल गरिएको थियो । कार्यक्रममा समाजमा बढ्दो आत्महत्या न्यूनिकरणका निम्ती गर्न सकिने प्रयास र स्वस्थ्य समाज निर्माणमा महिला स्वास्थ्य स्वयं सेविकाले खेल्न सक्ने भुमिकाको विषयमा समेत छलफल गरिएको जनस्वास्थ्य अधिकृत खनालले बताए । 
नगरपालिका भित्रका १९७ जना महिला स्वास्थ्य स्वयं सेविका मध्ये १३८ जनाको सहभागिता रहेका थिए । कार्यक्रममा सहभागी महिला स्वास्थ्य स्वयं सेविकाले स्थानीय तह र स्वास्थ्य संस्थाबीच समन्वय मजबुत बनाएर स्वयंसेविका मार्फत समुदाय तहमा स्वास्थ्य जागरण गर्नुपर्नेमा जोड दिएका थिए । 
उनिहरुको समुदायमा सेवा प्रदान गर्दा भोग्नुपरेका चुनौती, तालिम र सामग्रीको आवश्यकता तथा प्रोत्साहनका विषयमा आफ्ना अनुभव राखेका थिए । उनीहरूले समुदायमा स्वास्थ्य सम्बन्धी गलत धारणा तोड्न निरन्तर सचेतना कार्यक्रम आवश्यक रहेको बताएका छन् ।
सम्मेलनमा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले महिला स्वास्थ्य स्वयं सेविका हाम्रो समाजको धरोहर भएको बताए । “तपाईहरु समाजको पहिलो डाक्टर हो, तपाईहरु केबल स्वयं सेविका मात्र हैन आमाको जीवन रक्षक हो शिशुको पहिलो सुरक्षा घेरा हो र समुदायको भरोसा हो उनले भने,–‘स्वास्थ्य समाज निर्माणका निम्ती तपाईहरुको महत्वपुर्ण भुमिका रहको छ । स्वास्थ्यका हरेक सूचकलाई माथि ल्याउने भुमिका स्वयं सेविकाकै हो ।”
 उनले घर–घरमा स्वास्थ्य सन्देश पु¥याउने, जोखिममा परेका गर्भवती र सुत्केरीको पहिचान गर्ने तथा स्वास्थ्य संस्थासँग समुदायलाई जोड्ने काममा स्वयंसेविकाको योगदान महत्वपूर्ण रहेको बताएका थिए । 
सम्मेलनबाट १५ बँुदे घोषणा पत्र जारी गरिएको छ ।  घोषणा पत्रमा  स्वयं सेविकालाई स्वास्थ्य विका कार्यक्रम निःशुल्क र निरन्तर हुनुपर्ने, चाडपर्वमा भत्ताको व्यवस्था हुनुपर्ने ।, योगदानमा आधारित सामाजिक सुरक्षा सवै स्वास्थ्य स्वयं सेविकालाई दिनुपर्ने र त्यसका लागि बजेटको व्यवस्था गर्नेपर्ने । सवै वडामा स्वयं सेविका कोषको व्यवस्था हुनुपर्ने र आगामी सम्मेलनमा वडा अध्यक्ष र स्वास्थ्य संस्था प्रमुख सहित सम्मेलनमा सहभागिता हुने  लगायतका विषयबस्तु समेटिएको छ । 
कार्यक्रममा स्वयं सेविकाले राखेका समस्यालाई बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले आगामी निति तथा कार्यक्रम मार्फत क्रमश  संबोधन गर्ने बताए । 
कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक लक्ष्मी शर्मा, नेपाल गाजा डेभलपमेण्ट फाउण्डेशनका सुजन पौडेल, मनोसामाजिक परामर्शकर्ता नारायण आचार्य लगायतले गरेका थिए । 
कार्यक्रममा  बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईश्वरी प्रसाद शर्मा, प्रादेशिक जनस्वास्थ्य कार्यालय बागलुङका निमित्त प्रमुख घनश्याम सापकोटा, नेपाल पत्रकार महासंघका सचिव नारायण रिजाल  महिला स्वास्थ्य स्वयं सेविकाहरु कमला शर्मा, पार्वती ढकाल, कल्पना श्रेष्ठ निर्मला सापकोटा लगायतले महिला स्वास्थ्य स्वयं सेविकाको समस्याहरु राखेका थिए ।  कार्यक्रम नगर उपप्रमुख राजु खड्काको अध्यक्षता स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालको संचालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया