चित्रबहादुरको गृह जिल्लामा : न जोगियो विरासत र न जोगियो जमानत

  • फाल्गुण २६, २०८२

बागलुङ -   राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी नेपाली राजनितिक इतिहासमा चर्चित पात्र हुन । उनको फरक छविका कारण नेपाली राजनीतिमा उनले उठाएका मुद्धालाई चर्चाकै रुपमा लिने गरिन्थ्यो । संसद होस वा सडक जहाँपनि चित्रबहादुरले आफ्ना मुद्धा प्रति अडान राख्दै आएका पत्रा हुन । 
अघिल्लो निर्वाचनमा पाँच दलिय गठबन्धनको साथ पाएर बागलुङ क्षेत्र नं. १ बाट निर्वाचन भै संसद छिरेका केसी भने यस पटक निर्वाचनमा होमिएनन । उनले आफ्ना विश्वास पात्र कृष्ण प्रसाद शर्मा अधिकारीलाई टिकट दिएर पठाए आफु समानुपातिकमा बसे । केसीले पाठकलाई जिताउनका निम्ती बागलुङमा मात्र नेपाली कम्युनिष्ट पार्टीसँग गठबन्धन नै गरे ।  जनमोर्चाले आधार इलाका मान्दै आएको बागलुङमा  निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनमोर्चाबिच गठबन्धन भएको थियो । क्षेत्र नं. १ मा आफ्ना विश्वासपात्र अधिकारीलाई सघाउनका निम्ती उनको पार्टी राजमोले क्षेत्र नं. २ मा नेकपाका ज्ञामनाथ गैरेलाई सघाउने निर्णय ग¥यो र निर्वाचनमा होमियो । तर देशभरी चलेको रास्वपा प्रतिको नागरिकको जनविश्वास भनौ या हुरीले बागलुङ १ मा पनि छोयो । रास्वपाका उम्मेदवार शुसिल खड्काले निर्वाचन जिते । 
जित निकाल्ने आशमा थिए तर जमानत जोगाउन सकेनन् 
    नेपाली काँग्रेस र नेकपा एमाले प्रतिस्पर्धीको रुपमा रहेको यस क्षेत्रमा रास्वपाले आफ्नो बाजी मारेसँगै राजमोका उम्मेदवार चौथो मात्र बनेन उनको जमानत नै जोगिन सकेको छैन । नेपाली कांग्रेसका भीमबहादुर श्रीस रानाले ११ हजार ९४४ मत पाएर दोस्रो भए । निर्वाचन नै जित्ने लक्ष्य लिएको नेकपा एमालेका हिराबहादुर केसीले ८ हजार ६४० मत प्राप्त गरेर तेस्रो स्थानमा चित्त बुझाउनुप¥यो भने नेकपा–जनमोर्चा गठबन्धनका राजमोका कृष्ण अधिकारीले ४ हजार ५२१ मत प्राप्त गरी पाँचै स्थानमा चित्त बुझाउन बाध्य भए । लामो समय चित्रबहादुरकै सचिवालयमा बसेर काम गरेका अधिकारी दुई पार्टीसँग मिल्दा जित निकाल्ने आशमा थिए तर जमानत जोगाउन सकेनन् । 
कुल सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने व्यवस्था छ । यस क्षेत्रमा ४७ हजार ६१ सदर मत थियो । जमानत जोगाउन कम्तीमा पनि चार हजार ७०७ मत आवश्यक पर्दछ । केसीको आधार इलाकाको रुपमा रहेको यस क्षेत्रमा जमानत समेत जफल हुँदा राजमोको संगठन अब विस्तारै कम हुँदै गएको चर्चा चल्ने गरेको छ । अघिल्लो निर्वाचनमा बलियो शक्ति मानिने कांग्रेससँगको गठबन्धनमा बागलुङ–१ बाट जित हात पारेका चित्रबहादुर यस पटक चुनावी ‘रेस’भन्दा बाहिर रहे । यद्यपि उनको समानुपातिक सूचीमा नाम छ । अघिल्लो पटक नै समानुपातिकमा ‘थ्रेसहोल्ड’ कटाउन नसकेको जनमोर्चालाई यस पटक पनि हम्मेहम्मे पर्ने देखिएको छ । 
समानुपातिक तर्फ पनि राजमो पाँचौ स्थानमा
जनमोर्चाको गडको रुपमा रहेको बागलुङमा समानुपातिक तर्फ पनि राजमो पाँचौ स्थानमा रहेको छ । जिल्लाका दुई वटै क्षेत्रमा ६ हजार ८३५ मत प्राप्त भएको छ । हाल सम्म कुल  २७ हजार ९२७ मत जनमोर्चाकोले ल्याएको छ । अझै केही बढ्ने भएता पनि थ्रेस ‘थ्रेसहोल्ड’ कटाउन भने मुस्किल नै देखिन्छ ।  दुई पार्टी मिल्दा पनि जमानत जोगाउन नसक्दा जनमोर्चाको राजनीतिक भविष्य कतातिर जाला भन्ने प्रश्न उठ्न थालेको छ । पकड मानिएकै क्षेत्रमा जमानत जफत हुनुले जनमोर्चाको तल्लो तहसम्मै तरङ्ग पैदा भएको छ ।
राजमोको इतिहास र अहिलेको अवस्था 
२०५१ सालदेखि नै राष्ट्रिय जनमोर्चा चुनावमा होमिँदै आएको पाइन्छ । २०५१ र २०५६ को निर्वाचनमा जनमोर्चाले बागलुङका तत्कालिन ३ वटा क्षेत्र मध्ये राजमोले नै जित र प्रतिस्पर्धीको रुपमा रहेको थियो । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा क्षेत्र नं. १ बाट राजमोका चित्रबहादुर केसीले निर्वाचन जितेका थिए भने २०८० को दोेस्रो संविधान सभा निर्वाचनमा उनि समानुपातिकमा बसेर राजेन्द्र ढुंगानालाई चुनावमा होमाए । काँग्रेसका प्रकाश शर्मा पौडेलसँग उनि पराजित भए । समानुपातिकबाट सांसद भएका केसी २०७२ सालमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनी उपप्रधानमन्त्री भएका थिए । ०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेसको बलमा अन्तिम पटक संघीय सांसद बनेका चित्रबहादुरलाई अब संसद्मा देख्न पाउने सम्भावना न्यून छ । यस पटक प्रत्यक्ष निर्वाचनबाट भागेका उनको समानुपातिक सूचीमा नाम छ । तर यस पटक राजमोले ‘थ्रेसहोल्ड’ कटाउन नसकेकेमा संसदमा प्रतिनिधित्व हुने छैन । 
बागलुङका दुई क्षेत्रमा १६ उम्मेदवारको जमानत जफल
बागलुङ क्षेत्र नम्बर १ मा यसपालि ११ जना उम्मेदवार थिए । त्यसमध्ये आठ उम्मेदवारको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशत प्राप्त नगरेपछि जनमोर्चा, राप्रपा, श्रम संस्कृति पार्टी, प्रलोपा, नेशनल रिपब्लिक नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, नेपाली कम्युनिस्ट पार्टी (माओवादी) र नेपाल मानवतावादी पार्टीका उम्मेदवारको जमानत जफत भएको हो ।
राप्रपाका कल्याण विक्रम आचार्यले ५२३, श्रम संस्कृति पार्टीका लालबहादुर घर्तीले २५४, प्रलोपाका चित्र सापकोटाले ६०, मंगोल नेशनल अर्गनाइजेशनका गुमा कुमारी रानाले ४०, नेपाली कम्युनिस्ट पार्टी (माओवादी)का टेक बहादुर केसीको ८०, नेपाल मानवतावादी पार्टीका भक्तबहादुर विकले २४ मत पाएका छन् । यस क्षेत्रमा ९८ हजार ४६ मतदाता थिए । त्यसमध्ये ४८ हजार ९३२ मत खसेको थियो ।  जसमा कुल ४८ हजार ३७३ मत सदर भएका थिए भने १ हजार ४१७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पुर्ण प्रसाद शर्माले जानकारी दिए । 
बागलुङ क्षेत्र नं. २ मा पनि ८ जनाको जमानत जफत भएको छ । राप्रपाका अञ्चल शाहीले २४०,  प्रलोपाका पदमबहादुर कुँवरले ४२, मंगोल नेशनल अर्गनाइजेशनका जुन बहादुर थापा मगरले २१,  नेपाल मानवतावादी पार्टीका टेकबहादुर कामीले ७४, नेपाल रिपब्लिक नेपालका नरबहादुर बुढाले १९७, श्रम संस्कृती पार्टीका हर्कबहादुर बुढाले ५६०, नेकपा माओबादीका लोकेन्द्र घिमिरेले ७८ र  जनता समाजवादी पार्टीका पूर्णबहादुर घर्ति मगरले ३९० मत प्राप्त गरेका छन । यि सवै उम्मेदवारको जमानत जफत भएको छ । 
यस क्षेत्रमा रास्वपाका सोम शर्माले १२ हजार १४३ मत प्राप्त गरेर विजयी भएका छन भने नेपाली काँग्रेसका टेकराज पौडेलले ११ हजार ५९५ मत प्राप्त गरेर दोस्रो भएका थिए । झिनो मतान्तरले पराजय भोग्नुपर्ने पौडेल देशभरकै दश उम्मेदवार भित्र पर्दछन । त्यसैगरी नेकपाका ज्ञामनाथ गैरेले १० हजार १८९ मत प्राप्त गरेर तेस्रो भएका छन भने नेकपा एमालेका मञ्जुशर्मा चालिसेले ७ हजार ६२७ मत प्राप्त गरेर चौथो भएका हुन । 
बागलुङमा समानुपातिकमा रास्वपा पहिलो
बागलुङमा समानुपातिकमा पनि रास्वपा पहिलो भएको छ । रास्वपाले कुल  ३७ हजार १२३ मत प्राप्त गरेका छ । त्यसैगरी २१ हजार ४९५ मत प्राप्त गरेर नेपाली काँग्रेस दोस्रो भएको छ भने १४ हजार १५१ मत प्राप्त गरेका नेकपा एमाले जिल्लामा तेस्रो भएको छ । समानुपातिक तर्फ नेपाली कम्युनिष्ट पार्टीले ९ हजार ११३ मत प्राप्त गरेको छ भने नयाँ दल श्रम संस्कृति पार्टीले पनि १ हजार ५६६ मत प्राँप्त गरेको छ । त्यसैगरी राप्रपाले १ हजार २१७ मत प्राप्त गर्दा प्रलोपाले ४२५ मत प्राप्त गरेको छ । 

प्रतिक्रिया