संस्कृति संरक्षणका निम्ती पञ्चेबाजा हस्तान्तरण

  • कार्तिक १६, २०८०

बागलुङ-  बागलुङ नगरपालिका कार्यालयको सहयोगमा वडा नम्बर ८ सिगानाकाे लामिचौरमा पञ्चेबजा हस्तान्तरण गरिएको छ ।  परम्परागत बजाको संरक्षण गर्ने तथा युवा पुस्तालाई स्वरोजगार बनाउन बागलुङ नगरपालिकाले समूहमा पञ्चेबाजा हस्तान्तरण गरेको छ ।
लामीचौरको परियार बस्तीमा दुइ सेट पञ्चेबाजा बितरण गरिएको हो । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले ती बाजा लामीचौर पञ्चेबाजा समूहलाई मंगलबार हस्तान्तरण गरे । समूहका अध्यक्ष जब्बरबहादुर नेपालीले २० थान बाजा बुझेका थिए ।

उक्त अबसरमा नगरप्रमुख श्रेष्ठले परंपरागत बाजा र सीपको संरक्षण गर्न युवाहरु जागरुक बन्नुपर्ने बताए । आफ्नो सीप बढाउने र पुख्र्यौली पेशालाई पनि जोगाउने काममा चासो राखेकोमा समूहलाई नै उनले धन्यवाद दिएका थिए । बिपन्न बस्तीमा पेशा सुहाउँदो सहयोग गर्न नगरपालिकाले निरन्तर साथ दिने उनले बताए ।

गत आर्थिक बर्षको बजेटमा बाजा खरिद गरिएपनि हस्तान्तरण भैसकेको थिएन । बाजा हस्तान्तरणपछि यहाँका दुइवटा समूहका २० युवा रोजगार बन्न सक्ने अबस्था सिर्जना भएको वडा अध्यक्ष छमबहादुर कार्कीले बताए । ‘हामीले सामुदायिक भवन समेत बनाएका छौं, उक्त भवन पनि प्रयोगमा आएको छ,’ कार्कीले भने, ‘बाजा हस्तान्तरण पनि समुदायका युवाले आम्दानीको श्रोत बनाउने लक्ष बनाएका छन् ।’ बिवाह, ब्रतबन्ध, चाडपर्व र कुनै खेलकुद तथा मेला महोत्सवमा उनीहरुले बाजा बजाएर कमाइ गर्न सक्ने व्यवस्था गरिएको हो ।

प्रतिक्रिया