• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • स्थानीय सरकार

लम्गाउँमा लिफ्ट मार्फत ‘एक घर एक धारा’

  • असार २०, २०८०

नारायण रिजाल - बागलुङ । बागलुङ सदरमुकाम देखी नजिकैको गाउँ लमगाउँ । जहाँ वर्षौ स्थानियले खानेपानीको चरम अभाव झेल्दै आएका थिए । खानेपानीका लागि दैनिक आधा घण्टा बढि समय उकालो ओरालो गर्नुपथ्यो । लिफ्टिङ प्रविधि मार्फत खानेपानीको योजना सम्पन्न भए पश्तात यहाँका स्थानियलाई खानेपानीको संकट टरेको छ ।  बागलुङ नगरपालिका वडा नं.–६ लम्गाउँमा लिफ्ट प्रविधि मार्फत ‘एक घर, एक धारा’ पु¥याइएपछि खुसीयाली छाएको छ । बागलुङ बजारसँगै जोडिएको गाउँ भएर पनि लामो समयदेखि खानेपानीको चरम संकट भोग्दै आएका लमगाउँबासीलाई बागलुङ नगरपालिकाले लिफ्ट प्रविधिको प्रयोग गरी घर–घरमा खानेपानी सुविधा पु¥याएको हो । लम्गाउँ लिफ्ट खानेपानी तथा सरसफाई आयोजना मार्फत नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को सहयोगमा बागलुङ नगरपालिकाको साझेदारीमा खानेपानी योजना सम्पन्न भएको हो । 

घरमुनिको पानी तानेर घर–घरमा धारा
नगरपालिकाले खानेपानीको संकट रहेको गाउँमा ‘एक घर, एक धारा’ निर्माण गर्ने अभियान अन्तर्गत खानेपानीको मूल अभाव भएको स्थानमा लिफ्टमार्फत खानेपानी घर घरमै पु¥याइएको नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताए । नगरपालिकाले नेवा सँगको साझेदारी र स्थानिय जनसहभागितामा खानेपानी योजना सम्पन्न गरेको हो । खेतमा रहेका कुवा, मुल र सामुदायिक धाराकोे पानी प्रयोग गर्दै आएका स्थानीयले लिफ्टमार्फत घरमुनिको पानी तानेर घर–घरमा पु¥याइएको नगरप्रमुख श्रेष्ठले बताए । खानेपानी आयोजनाको शुक्रबार उद्घाटन गरिएको छ । अहिले घरमै बनेको धारामा पानी आउँदा स्थानिय खुसी रहेका छन । 
‘सदरमुकाम देखी नजिकै भएर पनि यहाँका स्थानियले खानेपानीको अभाव झेल्दै आउनुपरेको थियो । गत मंसिरमा सम्झौता भएर आयोजनाको काम सुरु भएको हो । नगरप्रमुख श्रेष्ठले भने, –‘सात महिनामा नै खानेपानी योजना सम्पन्न गरेर घरघरमा पानी खसेको छ । छोटो समयमा यहाँका स्थानियलाई शुद्ध खानेपानीको व्यवस्थापन गर्न सक्यौं ।’ उनले नगर भित्र  खानेपानीको अभाव भएको क्षेत्रमा थप व्यवस्थापन गरेर जाने बताए । लिफ्टमार्फत खानेपानी पु¥याउँदा विद्युत् महसुल बढी लाग्ने भए पनि गण्डकी प्रदेश सरकारले छुट गरेका कारण अहिले सहज भएको श्रेष्ठ बताउँछन । आगामी पाँच वर्षभित्र बागलुङ नगरपालिकाको खानेपानी संकट क्षेत्रमा खानेपानी पु¥याउने लक्ष्य राखेको छ । 
एक गाग्री पानीका लागि घण्टौ कुर्नुपर्ने बाध्यता हट्यो
खानेपानी आयोजनाले पूर्णता पाएलगत्तै घरआँगनमै पानी थाप्न पाईएको स्थानिय  सरस्वती थापा बताउँछिन । घर–आँगनमै पानी झरेपछि सहज भएको छ, नगरपालिकाले ढिलै भए पनि हाम्रो खानेपानीको समस्या समाधान गरेकामा धन्यवाद ।’ उनले भनिन्–‘घरको काम सँगै  एक गाग्री पानीका लागि घण्टौ लाईन लगाउनुपर्ने बाध्यता हटेको छ । अब बल्ल हाम्रा दुःखका दिन हराएका छन । 
७२ लाख २६ हजारमा आयोजना सम्पन्न
अव्यवस्थित मूल र सामुदायिक धारामा खानेपानी भर्नका लागि समय खर्च गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै प्रविधिको प्रयोगमार्फत खानेपानी आयोजना संचालन गरिएको नेपाल स्वास्थ्यका लागि पानी (नेवा)का गण्डकी प्रदेश प्रमुख रमेश दाहालले बताए । नेवाले आयोजना सम्पन्न गर्नका निम्ती कुल ४६ लाख २ हजार ४२९ रुपैयाँ सहयोग गरेको थियो ।  
खानेपानी आयोजना निर्माण सम्पन्न भए सँगै यस क्षेत्रका स्थानियलाई ठुलो राहत पुगेको लम्गाउँ लिफ्ट खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष एकेन्द्र थापा बताए । कुल १४५ धारा निर्माणबाट ७१६ जनसंख्यालाई प्रत्यक्ष लाभ पुग्नेछ । आयोजना सम्पन्न गर्नका निम्ती कुल ७२ लाख २६ हजार १४७ रुपैयाँ खर्च भएको थापाले बताए । जसमा बागलुङ नगरपालिकाको १२ लाख १६ हजार ४ रुपैयाँ, नेवाको ४६ लाख २ हजार ४२९ रुपैयाँ, स्थानियको नगद सहयोग ४ लाख ५१ हजार ४ सय रुपैयाँ र स्थानिय जनश्रमदान ९ लाख ५६ हजार ३१४ रुपैयाँ रहेको छ । आयोजना अन्तरगत इन्टेक १, पानी बाँड्ने ठ्याड्ने १, पानी जम्मा गर्ने ४ वटा  स्थानिय समुदायमा १४४ र स्थानिय विद्यालयमा १ धारा निर्माण गरिएको छ । आयोजनाका निम्ती १० हजार ६९१ मिटर पोलिथिन पाईप र १६० मिटर जिआई पाईप जडान गरिएको अध्यक्ष थापाले बताए । 

काम सुरु भएको सात महिनामा नै प्रत्येक घर घरमा धारा पुगेको र यसको दिगोपनका निम्ती उपभोक्त समिति निरन्तर लाग्ने थापाले बताए । धारामा मिटर प्रविधी जडान गरिएको हुँदा यसमा उठेको रकम उपभोक्ता सँग लिने र सोही रकमले मर्मत सम्भार गरिने छ ।  लिफ्ट प्रविधिका लागि हाल एक वटा मोटर प्रयोग गरिएको र नेवाले पुन बैकल्पिक व्यवस्थाको लागि थप १ वटा मोटर सहयोग गरेको छ । 

प्रतिक्रिया