बागलुङको विकासमा सहकार्य गर्ने एनआरएनएको प्रतिवद्धता

  • असोज २९, २०८०

काठमाडौं, - गैर आवासीय नेपालीहरु(एनआरएनए)ले बागलुङको विकास र समृद्धिमा सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । बागलुङमा जन्मिएर विश्वका विभिन्न मुलुकमा पेसा, व्यवसाय गर्दै आएका एनआरएनएले जन्मभूमिप्रतिको दायित्वबोध गर्दै लगानी सहित सहकार्य गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरेका छन् ।

अन्तराष्ट्रिय बागलुङ समाजको आयोजनामा सोमबार राजधानीमा आयोजना गरेको बागलुङको विकास र समृद्धिमा विदेशमा रहेका बागलुङेको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो धारणा राखेका हुन् । बागलुङबाट विश्वका विभिन्न मुलुकमा पेसा, व्यवसाय गर्दै आएका छन् ।

१२ देशको गैर आवासीय नेपाली संघका अध्यक्ष बागलुङे रहेका छन् । कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले विदेशमा कमाएको सीप र पुँजीलाई जिल्लाको बिकासमा लगाउन आँफूले पनि सहकार्य गर्ने बताए । ढकालको गृह जिल्ला पनि बागलुङ हो ।  एनआरएनएसँग सहकार्य गर्न आँफू तयार रहेको बताए । ‘जन्मभूमिको विकासमा काम गर्नु सबैका दायित्व हो,’ ढकालले भने, ‘निजी क्षेत्रकोतर्फबाट सहकार्य गर्न तयार छु ।’ कार्यक्रममा एनआरएनएका उपाध्यक्ष महेश कुमार श्रेष्ठले जिल्लाका विकासमा साझेदारिता गर्नु आफ्नो दायित्व भएको बताए । अर्का उपाध्यक्ष आरके शर्माले जिल्लामा सामाजिक उत्तरदायित्वका काम गर्दै आएको बताए ।

कार्यक्रममा बागलुङ सांसद डिल्लिराम सुवेदीले कृषि क्षेत्रलाई व्यवसायिकीकरण गर्न एनआरएनएले लगानी गर्न सक्ने धारणा राखे । बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले पर्यटन क्षेत्रमा लगानी गर्न अवसर रहेको बताए । विदेशमा रहेका नेपालीलाई बागलुङको विकासमा साझेदारिता बढाउनका लागि कार्यक्रम आयोजना गरिएको अन्तराष्ट्रिय बागलुङ समाजका कार्यक्रम संयोजक दीपक गौतमले बताए ।

अन्तराष्ट्रिय बागलुङ समाजका निवर्तमान अध्यक्ष एकराज गिरीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा पूर्व शिक्षा मन्त्री दिननाथ शर्मा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण पौडेल, एनआरएनएका गोविन्द श्रेष्ठ लगायतले धारणा राखेका थिए भने कार्यक्रममा स्वागत समाजका सचिव यामेन्द्र घर्तीले गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस बागलुङका सभापति तथा सांसद जित शेरचन , प्रदेश सांसद दोर्ण कुँवर, नेकपा एमालेका अध्यक्ष हिरा के.सी, एनआरएनएका उपाध्यक्ष नारायण आचार्य, युवा उपाध्यक्ष राज रेग्मी, एनआरएनएका प्रवक्ता सोम सापकोटा, सचिव गंगाधर गौतम, एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धि सुवेदी, अमेरिका रिजनका क्षेत्रीय संयोजक रामसी पोखरेल, एनआरएनका सहकोषाध्यक्ष टंग गैरे, एनआरएनए पोर्चुगलका निवर्तमान अध्यक्ष भिम के.सी. कमल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया