बागलुङ - शुक्रबार निजामती सेवा दिवस । बागलुङका विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरु दिवस भव्य समारोहका विच मनाए । स्थानिय तह अन्तरगतका कर्मचारीले दिवसको मुख्य समारोहमा उपस्थित नै भएनन् भने विरुद्धमा दिन भरी नै हातमा कालोपट्टी बाँधेर काम गरे । केही कर्मचारीले भव्य रुपमा मनाउने र केहीले हातमा कालोपट्टी बाँधेर दिवसको विरोध गरिहेको बेला जिल्लाभरीका स्वास्थ्यकर्मीले भने ‘एक स्वास्थ्यकर्मी एक विरुवा रोपेर’ दिवस मनाएका छन ।
स्वास्थ्य कार्यालय बागलुङको ‘एक स्वास्थ्यकर्मी एक विरुवा’ अभियान अन्तर्गत जिल्लाभर सम्पूर्ण स्वास्थ्यकर्मीहरुले एक–एक बिरुवा रोपेर अभियानलाई सफल बनाएका छन । स्वास्थ्य कार्यालयले दिवस मार्फत फरक सन्देश दिनका लागि जिल्ला भरीका सवै स्थानिय तह र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई कार्यालय वरीपरि एक–एक विरुवा रोप्नका लागि आह्रवान गरेको थियो । सोही अनुसार जिल्ला भरका सवै स्वास्थ्यकर्मीले विरुवा रोपेर अभियानलाई सफल बनाएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले जानकारी दिए ।
आफ्नो कार्यालय अथवा घर वरीपरि विरुवा रोप्दा सौन्दर्य बढाउनुका साथै शुद्ध अक्सिजनको उत्पादन गरी मानिसलाई विभिन्न रोग लाग्नबाट समेत बचाउने हुँदा यो अभियान संचालन गरिएको शर्माको भनाई छ ।
दिवसको अवसरमा जिल्ला भरीका ११५ स्वास्थ्य संस्थामा कार्यरत ५०० बढी स्वास्थ्यकर्मीहरुले एक–एक विरुवा रोपका छन । ‘आफ्नो कार्यालय वरीपरिको वातावरणलाई स्वच्छ राख्नका निम्ती बोटविरुवा रोप्नुपर्छ भन्ने सन्देशका लागि यो अभियान संचालन गरेका हौं, स्वास्थ्य कार्यालय प्रमुख शर्माले भने,–‘विरुवा रोपेपछि यसलाई मलजल र हेरचाह पनि नियमित गरिनेछ । वरिपरि हरियाली भएपछि कार्यालय थप आर्कषण र स्वच्छ बन्ने छ ।’ उनले कार्यालय वरिपरि विभिन्न जातका फूल र फलफुल लगायतका विरुवा नै रोपिएको बताए ।
स्वास्थ्य कार्यालयले यस अघि पनि हरेक शुक्रबार १०ः३० बजे १० मिनेट सरसफाइ अभियान संचालन गर्दै आएको छ । विभिन्न दिवस र उत्सव पारेर गरिने यस्ता कार्यक्रम संचालनका निम्ती धेरै समय र बजेट खर्च नहुने हुँदा अझै नयाँ नयाँ अभियान संचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।