बागलुङ- जिल्लाको काठेखोला गाउँपालिका—४ तंग्राममा लोकबाजा सङ्ग्रहालय निर्माणको थालिएको छ । विश्वभरका लोक बाजा संग्रहित गरिने उद्धेश्यलेसांस्कृतिक संग्रहालय बनाउन थालिएको हो । काठेखोला गाउँपालिका–४ तंग्रामस्थित गाउँमैत्री अक्षयकोषको सांस्कृतिक सङ्ग्रहालयको शिलान्यास गरिएको छ । भवनको शिलान्यास राष्ट्रिय भूमि आयोग बागलुङका अध्यक्ष धर्म कुँवरले गरे । सङ्ग्रहालय शिलान्यास गर्दै उनले नेपाल विभिन्न संस्कार संस्कृतिले भरिएको मुलुक भएका कारण सङ्ग्रहालयले पर्यटकहरुलाई लोभ्याउने बताए ।
‘नेपाल विविध संस्कृति र संस्कार भएको देश हो,’ उनले भने,‘सांस्कृतिक सङ्ग्रहालय र लोकबाजाहरुको सङ्ग्रहले यहाँ आउने पर्यटकलाई लोभ्याउनेछ ।’ संस्थाका सचिव सुकमाया पुनको सञ्चालन र उपाध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा सुरु भएको औपचारिक कार्यक्रममा ग्रामीण परम्पराअनुसार भवनको शिलान्यास गरिएको छ । कार्यक्रममा राष्ट्रिय भूमि आयोग बागलुङका अध्यक्ष धर्म कुँवर, राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापा, काठेखोला गाउँकार्यपालिका सदस्य टीका सङ्गम बिक, संस्थाका अध्यक्ष हेमराज आश्रम र नेपाली काँग्रेस तंग्रामका सभापति विष्णु आलेले मन्तव्य गरेका थिए ।
विविध सोरठी समूहका प्रतिनिधि, पन्चेबाजा समूहका प्रतिनिधि, समाजसेवी तथा विविध जनसमुदायको उल्लेख्य उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो । सङ्ग्रहालय भवनमा विश्वका सम्पूर्ण देशका बाजा र नेपालका लोकबाजा सङ्ग्रहित गर्ने उद्देश्य राखिएको छ । भवन निर्माण गर्नका लागि गण्डकी प्रदेश सरकारले सामाजिक विकास कार्यालय बागलुङ मार्फत ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।