बागलुङ- गण्डकी प्रदेश सभाका सदस्य सांसद दिपेन्द्र बहादुर थापाले शिक्षाको गुणस्तर सुधारका लागि सामुदायिक विद्यालयलाई आवासीय बनाउनुपर्ने बताएका छन । आफ्नै जन्मगाउँ बागलुङ नगरपालिका–११ रायडाँडामा रहेको महाविद्याजन माध्यामिक विद्यालयको ६१औं बार्षिकोत्सव तथा अभिभावक दिवस मुल समारोहको उद्घाटन गर्दै थापाले पछिल्लो समयमा सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्कँदै गएको हुँदा यसको सुधारका लागि आवासीय विद्यालय बनाउनुपर्नेमा जोड दिए । उनले राज्यले लगानी गरे अनुसार शिक्षा क्षेत्रमा प्रतिफल आउन नसकेको बताए । थापाले सामुदायिक विद्यालयको शैक्षिक उन्नयनका निम्ती शिक्षक र विद्यार्थीले मात्र नभएर यसमा अभिभावकको पनि महत्वपुर्ण भुमिका हुने बताए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवं वडा नं. ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले सामुदायिक विद्यालयमा विद्यार्थी आर्कषित गर्नका निम्ती राज्यले सोही अनुसारको निति तथा कार्यक्रम ल्याउन जरुर रहेको बताए ।
कार्यक्रममा विद्यालयमा सर्वश्रेष्ठ दानविर थम बहादुर थापा विद्यालयका पुर्व प्रध्यानध्यापक केदार आचार्य, स्थानिय समाजसेवी रत्नाकर गौतम, शुभलाभ एकेडेमी व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर केसी, विद्यालय व्यवस्थापन समितिका सदस्य शेरबहादुर थापा हिरा बहदुर थापा लगायतले बोलेका थिए ।
कार्यक्रममा विद्यालयका प्रध्यानध्यापक रामबहादुर केसीले शैक्षिक तथा प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । बार्षिकोत्सवकै अवसरमा विद्यालयको शैक्षिक विकासका निम्ती चन्दा प्रदान गर्ने २५० दानविर तथा चन्दादातालाई सम्मान गरिएको थियो । विद्यालयमा हाल दुई सय विद्यार्थी अध्ययनरत रहेका छन । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्न बहादुर थापाको अध्यक्षता शिक्षक भुमिराज आचार्य र विद्यार्थी दुर्गा थापको स्वागत र शिक्षक अर्जुन शर्माको संचालनमा सम्पन्न भएको थियो ।