बागलुङ - बागलुङमा चालु आर्थिक वर्षको अहिले सम्म क्षयरोगका कारण १८ जनाको मृत्यु भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार जिल्लाको गलकोट नगरपालिकामा सवैभन्दा बढि ८ जनाको मृत्यु भएको छ भने बडिगाड गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ । त्यसैगरी बागलुङ नगरपालिकमा १ जना काठेखोला गाउँपालिकामा १ जना, ढोरपाटन नगरपालिकमा २ जना निसीखोला गाउँपालिकामा १ जनाको मृत्यु भएको कार्यालयका जनस्वास्थ्य प्रशासक प्रविण शर्माले जानकारी दिए । गत आर्थिक वर्षमा कुल १९ जनाको मृत्य भएको थियो भने चालु आर्थिक वर्षको हाल सम्मका १८ जनाको मृत्यु भै सकेको छ । मंगलबार विश्व क्षयरोग दिवसको अवसरमा आयोजित पत्रकार अन्तरक्रियामा कार्यालयले सो विवरण सार्वजनिक गरेको हो । चालु आर्थिक वर्षमा जिल्लामा कुल १४४ जना क्षयरोगका विरामीहरु रहेका छन । जसमा पुरुष ८६ जना र महिला ५८ जना रहेको कार्यालय प्रमुख शर्माले जानकारी दिए । जिल्लामा सवैभन्दा बढि ३८ जना क्षयरोगीका संख्या बडिगाड गाउँपालिकामा छन भने सवैभन्दा कम बरेङ गाउँपालिकामा १ जना रहेका छन ।
अघिल्लो आर्थिक वर्षमा कुल २६४ क्षयरोगका विरामी रहेको बागलुङ यस वर्षको साउन यता १४४ पुगिसकेको छ । जिल्लामा क्षयरोगको पत्ता लगाउने दर बढ्दै गएको हुँदा शंकास्पद विरामीको परिक्षण पश्चात संक्रमित पनि बढ्दै गएको प्रदेश जनस्वास्थ्य कार्यालयका बरिष्ठ क्षयकुष्ठ निरिक्षक देवप्रकाश घिमिरेले जानकारी दिए ।
रोग नियन्त्रणका लागि बागलुङका स्वास्थ्य संस्थाबाट निःशुल्क रूपमा परिक्षण र औषधी प्रदान गरिँदै आएको घिमिरेले बताए । बागलुङमा बडिगाड, गलकोट, काठेखोला र बागलुङ नगरपालिकामा क्षयरोग मुक्त अभियान समेत सुरु भएको छ । ति पालिकामा क्षयरोगको नियन्त्रणका लागि विभिन्न कार्यक्रम भै रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । क्षयरोग लागेपछि नियमित औषधी सेवन नगर्दा झनै बढ्ने खतरा हुने भएको हुँदा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधी सेवन गर्नुपर्ने हुन्छ । क्षयरोग एक सरुवा रोग हो जुन माइकोव्याक्टेरियम ट्युवरकुलोसिस भन्ने आंखाले देख्न नसकिने सुक्ष्म किटाणुबाट हुन्छ । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वास प्रश्वासको माध्यमबाट सर्दछ ।
फोक्सोको क्षयरोग भएका विरामीहरुले खोक्दा, हाच्छिउँ गर्दा र थुक्दा क्षयरोगका किटाणुहरु वाहिर वातावरणमा निस्कन्छन् र स्वस्थ मानिसमा श्वास प्रश्वासको माध्यमबाट फोक्सोमा पुग्दछन् र क्षयरोग लाग्न सक्छ ।
क्षयरोगका किटाणुबाट प्रभावित भएका सबै व्यक्तिलाई क्षयरोग लाग्दैन । यदि क्षयरोगका किटाणुहरुले आक्रमण गरेका व्यक्तिहरुमा रोगसँग लड्ने क्षमता राम्रो छ भने रोग लाग्दैन । तर रोगसँग लड्ने क्षमता कम भए यो रोगले छिटो आक्रमण गर्दछ । जस्तै कुपोषण, एच.आई.भी.संक्रमण भएका मानिसहरुमा यो रोग छिटो विकसित हुन्छ । एक जना क्षयरोगीले १ बर्षमा १० देखी १५ जनासम्म स्वस्थ्य व्यक्तिलाई सर्न सक्छ ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष राम थापा अविरलले क्षयरोग नियन्त्रणमा मिडिया र संचार माध्ययम संचारकर्मीको महत्वपुर्ण भुमिका हनुे बताए ।
कार्यक्रम प्रदेश जनस्वास्थ्य केन्द्रका प्रमुख प्रविण शर्माको अध्यक्षता जनस्वास्थ्य अधिकृत समिता घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।