पाँच हजार फण्टलाईनरलाई 'बुस्टर डोज'
बागलुङका ७८ प्रतिशत नागरिकले कोरोना भाईरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन । जिल्लामा १८ वर्ष उमेर पुगेका कुल नागरिकको ७८ प्रतिशतले कोरोना विरुद्धको पुर्ण खोप प्राप्त गरेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । १८ वर्ष माथिका कुल १ लाख ५९ हजार ३०४ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य अनुसार हाल हाल १ लाख २४ हजार ७ सय ६८ जनाले पुर्ण खोप प्राप्त गरेको स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाईजर राजु खत्रीले जानकारी दिए ।
खत्रीका अनुसार विभिन्न चरणमा सञ्चालित खोप अभियानबाट १ लाख ४३ हजार ४०८ जना अर्थात ९० प्रतिशतले पहिलो मात्रा खोप लगाएका हुन । जसमा १८ हजार ६४० जना दोस्रो डोजको पर्खाइमा छन् । जिल्लामा कुल २ लाख ८२ हजार ८२८ डोज प्राप्त भएको थियो । प्राप्त खोप मध्ये ७१ हजार १२० कोभिडसिल्ड र अस्टाजेनिका, १ लाख ९३ हजार ३९४ भेरोसेल, १६ हजार ३१० जोन्सेन, २ हजार ४ डोज फाईजर रहेको थियो । जसमा २ हजार २७६ जनाले कोभिसिल्ड र अस्टाजेनिका, ८८ हजार ९ सयले भेरोसेल, १२ हजार ४४३ ले जोन्सेन र १ हजार नौले फाईजर खोप प्राप्त गरेको खोप सुपरभाईजर खत्रीले जानकारी दिए । जिल्लामा १८ वर्ष माथिका १८ हजार ६४० जना दोस्रो डोजको पर्खाइमा छन् भने ३४ हजार ५३६ नागरिक खोपले अहिले सम्म कुनै पनि खोप लगाएका छैनन ।
बागलुङमा पाँच हजारलाई ‘बुष्टर’ डोज
खोप लगाउन बाँकी नागरिकलाई पनि लगत्तै खोप प्रदान गर्ने कार्यक्रम रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ५ हजार नागरिकलाई लक्षित गरी सोमबार देखी ‘बुस्टर’ डोज लगाउन सुरु गरिएको छ । सरकारले अग्रपंक्तिमा काम गर्नेलाई ‘बुस्टर’ डोज दिन निर्णय गरे सँगै उनिहरुका लागि बुस्टर’ डोज प्रदान गर्न लागिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए । बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ । खोप लगाउन आउने नागरिकले खोप कार्ड पनि अनिवार्य लैजानु पर्ने छ । उक्त खोप जिल्लाका १० वटै स्थानिय तहबाट संचालन गरिएको कार्यालयले जनाएको छ । १२ देखी १७ वर्ष उमेर समुहका लागि माघ ७ गते देखी खोप लगाईने छ । जसमा झण्डै २८ बजार ५ सयले खोप लगाउने लक्ष्य रहेको कार्यालाय प्रमुख गुरौले जानकारी दिए ।