'गाडी त्रिशूली नदीको सतहमा थियो, पानी गाडीभित्र छिरेर शरीर भिजेपछि मेरो होस् आयो'

  • भदौ ७, २०८०

काठमाडौं-  बागलुङकी सुष्मा क्षत्री गत साउन १४ गते उपचार निम्ति काठमाडौं आएकी थिइन्।  उनी तारकेश्वर नगरपालिकास्थित मनमैजुमा आफ्नी आमाजु तारा क्षत्रीसँग बसेर टिचिङ अस्पताल महाराजगन्ज आउजाउ गर्थिन्। अस्पतालमा १५ दिन उपचार गराउँदा सबै रिपोर्ट सामान्य आएपछि उनी बाग्लुङ फर्कने तयारीमा थिइन्।

गत वैशाखमा विवाह भएको २० वर्षीया सुष्माका श्रीमान वैदेशिक रोजगारीका लागि कतारमा छन्। विवाहपछि पढाइलाई निरन्तरता दिँदै प्लस-टु सकेर बसेकी उनी थप अध्ययनका लागि विदेश जाने तयारीमा थिइन्। त्यसका लागि बाग्लुङ बजारमै बसेर भाषा पढिरहेकी थिइन्।  काठमाडौंमा लामो समय बस्दा उनको भाषा कक्षा छुटेको थियो। अस्पतालले स्वास्थ्य सामान्य भएको रिपोर्ट दिएपछि उनी बुधबार बाग्लुङ फर्कने भइन्।

बिहान टिकट नपाउँला भनेर ताराले मंगलबार साँझ नै बसपार्क पुगेर सुष्माका लागि टिकट लिइदिएकी थिइन्। 'गाडीमा उनलाई बान्ता हुन्थ्यो। त्यसैले झ्यालतर्फ बी-२ सिटको टिकट लिइदिएको थिएँ,' ताराले भनिन्।

बुधबार बिहान साढे ७ बजे गाडी छुट्ने भनिएको थियो। सुष्माले बसपार्कबाट गाडी चढेपछि दिदीलाई फोन गरेर 'हिँडे है' भनेकी थिइन्। कलंकीबाट केही मान्छे चढेपछि निर्धारित समयभन्दा केही ढिला गरी बस गन्तव्यतर्फ प्रस्थान गर्‍यो।

कलंकी पुग्ने बेलासम्म सुष्मालाई रिंगटा चलिसकेको थियो। थानकोट पुगेपछि असह्य भयो। झ्यालको आडमा टाउको राखेर निदाउने प्रयास गरिन्।

थानकोट कटेपछि गाडीले रफ्तार लियो। उनले आँखा खोलेकी थिइनन्, तर गाडीको तीव्र गति अनुभव गरिरहेकी थिइन्। केही यात्रुले चालकको आत्मविश्वासको प्रशंसा गरेको पनि सुष्माले सुनेकी थिइन्।  एकाध घन्टामा नास्ताको निम्ति गाडी रोकियो। उनलाई ठाउँको नाम थाहा छैन। अधिकांश यात्रु झरे। बान्ता गर्दागर्दा शिथिल भएकी सुष्मा भने झरिनन्। 'केही खायो भने झन् बढी बान्ता हुन्छ भनेर म गाडीमा यात्रा गर्दा केही खादिनँ,' उनले भनिन्।

आधा घन्टाजति रोकेपछि गाडी फेरि राजमार्गमा हुइँकिन थाल्यो र बिस्तारै पहिलेकै रफ्तार समात्यो।

'खाजा खाइसकेपछि गाडीको स्पिड अझै धेरै थियो,' सुष्माले भनिन्।  धादिङको गजुरी गाउँपालिका-२ चालिसेछहरा पुगेपछि गाडी कुनै चिजसँग ठोक्किएजस्तो ड्वाङ्ग आवाज आएको र जोडले हल्लिएको सुष्माले बताइन्।

उनी अत्तालिएर चिच्याइन्। गाडीमा रहेका अन्य यात्रुको चिच्याहट पनि उनले सुनेकी थिइन्। त्यसपछि के भयो उनलाई थाहा छैन।

होसमा आउँदा उनले आफूलाई गाडीभित्र पाइन्। गाडी त्रिशूली नदीको सतहमा थियो। 'पानी गाडीभित्र छिरेर शरीर भिजेपछि मेरो होस् आयो,' सुष्माले भनिन्।

गाडीभित्रै रहेकी सुष्मालाई केही व्यक्तिले बाहिर निकालेर नदी किनारामा ल्याए। उनको वरिपरि क्षतविक्षत अवस्थाका केही शव थिए। कोही छटपटाइरहेका थिए, कसैको श्वास चलेको थिएन। कोही असह्य पीडाले चिच्याइरहेका थिए।

सुष्माले आफूलाई नियालिन्। निधार र हातखुट्टाबाट रगत बगिरहेको थियो। सिसाले काटेर शरीरभरि चोट थियो। 'पीडा यति थियो कि रूनसम्म सकिनँ,' उनले भनिन्।

गाडी सडकबाट ३०/४० मिटर तल खसेको थियो। उनको शरीरबाट धेरै रगत बगिसकेको थियो। उद्धारमा खटिनेहरु कसैले तलबाट ठेले भने कसैले माथिबाट तानेर सुष्मालाई सडकसम्म ल्याए। उनलाई तत्कालै एम्बुलेन्समा हालेर काठमाडौं पठाइयो।

एम्बुलेन्समा राखेदेखि काठमाडौं ल्याएसम्मको घटना सुष्मालाई थाहा छ। एम्बुलेन्स चालकले बीचमा रोकेर उनीसँग आफन्तको सम्पर्क नम्बर मागेका थिए। उनले आमाको नम्बर टिपाइदिएकी थिइन्।

त्रिशूलीमा सवा ११ बजेतिर उक्त बस खसेको थियो। साढे ११ बजेसम्म खबर छ्यापछ्याप्ती भइसकेको थियो। काठमाडौंमा ताराले पनि दुर्घटनाको समाचार सुनेकी थिइन्। तर सुस्मा चढेकै बस होला भन्ने ठानेकी थिइनन्।

गाडी नम्बर सार्वजनिक भएपछि उनी छाँगाबाट खसेझैं भइन्। तत्कालै बसपार्क पुगिन् र काउन्टरमा बुझ्दा थाहा पाइन्, सुष्मा चढेकै बस दुर्घटनामा परेको रहेछ।

उनले सुष्मालाई लगातार फोन गरिरहिन्, तर उठेन। काउन्टरका मान्छेबाट दुर्घटनामा परेका घाइतेलाई ट्रमा सेन्टर ल्याइँदै छ भन्ने थाहा पाएर उनी त्यतै हानिइन्।

साढे १ बजेदेखि ट्रमा सेन्टरको प्रवेशद्वारमा बसिन्। दुई घन्टा कुरेपछि अपराह्न तीन बजे एउटा एम्बुलेन्स ट्रमा सेन्टरमा आयो। त्यही एम्बुलेन्समा रक्ताम्मे अवस्थामा थिइन् सुष्मा। तर बोल्न भने सक्थिन्। 

'उनलाई बोल्न सक्ने अवस्थामा देखेपछि केही राहत महसुस गरेँ,' ताराले भनिन्। अहिले सुष्मा खतरामुक्त छिन्। घाउ सफा गरेर अब्जरभेसनमा राखिएको छ।

यो दुर्घटनामा आठ जनाले ज्यान गुमाएका छन्। तीमध्ये छ जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार सनाखत भएकाहरू जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिका-३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका-१ का १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका- ८ का अन्दाजी २४/२५ वर्षका सविन रम्तेल र कास्की फूलबारीका अन्दाजी २४/२५ वर्षका सुमन थापा छन्।

त्यस्तै, पर्वत जिल्ला जलजला गाउँपालिका-६ की ४२ वर्षीया राधिका सापकोटा र पर्वतको मोदी गाउँपालिका-५ का ४५ वर्षीय झपटबहादुर क्षेत्रीको मृत्यु भएको एसपी मिश्रले जानकारी दिए। बाँकी दुई मृतकको परिचय खुलाउने प्रयास भइरहेको उनले बताए।

चालक र सहचालक गरी बसमा २५ जना सवार थिए। तीमध्ये बाग्लुङ गलकोटका ६८ वर्षीया बुढामगर सामान्य उपचार गरी डिस्चार्ज भएका छन् भने बसका सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका-६ का ३४ वर्षीय रोशन तामाङलाई सकुशल उद्धार गरिएको छ। उनलाई अहिले इलाका प्रहरी कार्यालय गजुरीको हिरासतमा राखेर सोधपुछ भइरहेको एसपी गौतमले जानकारी दिए।

दुर्घटनामा १५ जना घाइते भएका छन्। उनीहरूलाई काठमाडौं ल्याई विभिन्न अस्पताल भर्ना गरिएको छ। एसपी गौतमका अनुसार नौ जनाको ट्रमा सेन्टर, चार जनाको वयोधा हस्पिटल, एक जनाको मेडिसिटी र एक जनाको बिएन्डबी अस्पालतमा उपचार भइरहेको छ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ। गम्भीर घाइतेहरूमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ की २२ वर्षीया अञ्जु राना मगर, म्याग्दीको गरूंगा गाउँपालिका- ७ का २९ वर्षीय प्रविन पुन, ४५ वर्षीया सुनिता छन्त्याल, बंगलादेश बस्ने सुदीप मण्डल, बेनी नगरपालिका-३ का २९ वर्षीय गौतम छन्त्याल छन्।

अरू घाइतेहरूमा पर्वतको ‍मोदी गाउँपालिका-१ का ४१ वर्षीय गुरूदत्त पौडेल, बसका चालका म्याग्दीको बेनी नगरपालिका-६ का ३० वर्षीय दीपक थापा, बेनी नगरपालिका-३ का २४ वर्षीय पूर्ण छन्त्याल, अन्नपूर्ण गाउँपालिका- १ का १९ वर्षीय कुशल अधिकारी, काठमाडौंको कीर्तिपुर नगरपालिका-९ का ५२ वर्षीय खड्ककुमार श्रेष्ठ, म्याग्दीको मंगला गाउँपालिका-२ का १६ वर्षीया गीता जग्जाली छन्।

त्यस्तै, बाग्लुङकी १९ वर्षीया सुष्मा क्षेत्री, पर्वतको फलेवास नगरपालिकाकी ६३ वर्षीया हरिकला गौडेल, ३२ वर्षीय बंगलादेशी नागरिक मोहमद हजिरहुल र म्याग्दीको रघुगंगा गाउँपालिका-६ की २३ वर्षीया रिना रानामगर घाइते छन्।

साँघुरो सडकमा ओभरटेक गर्ने क्रममा बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको अनुमान छ। यसबारे अनुसन्धान भइरहेको एसपी मिश्रले जानकारी दिए। सेतोपाटीबाट साभार 

प्रतिक्रिया