बागलुङ -बागलुङ नगरपालिका भित्र १६ हजार ७ सय ५३ जनालाई टाईफाईड रोग विरुद्धको खोप लगाईने भएको छ । खोपको बारेमा जानकारी दिनको लागी सोमबार जिल्लामा क्रियाशिल पत्रकारहरुसंग आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सोको बारेमा जानकरी गराईएको थियो । नगरपालिका भित्र यही चैत्र २५ गते देखी ३० गते सम्म डाईफाईड विरुद्धको खोप अभियान संचालन गरिने स्वास्थ्य शाखा संयोजक रामप्रसाद खनालले जानकारी दिए । नगरपालिका भित्र कुल ७३ वटा खोप केन्द्रबाट र १ सय ३ विद्यालयबाट खोप प्रदान गरिने छ । नगरभित्रका १५ महिनादेखि १५ वर्ष उमेर समुहका बालबालिकालाई खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य शाखाले जनाएको छ ।
अभियानमा करिब दुई सय १९ कर्मचारी खटिने छन् । पहिले १५ महिना देखि १५ वर्ष सम्मका बालबालिकालाई खोप दिने र त्यसपच्चात बालिबालिकालाई नियमित रुपमा दादुरा–रुबेला विरुद्धको खोपको समयमा दिईन स्वास्थ्य शाखा प्रमुख खनालले जानकारी दिए । यस खोप करिब ९६ प्रतिशत प्रभावकारी रहेको स्वास्थ्य शाखाका सिनियर अहेब नारायण पौडेलले जानकारी गराए । अभियानका लागी तयार तालिमका कार्यक्रम समेत सम्पन्न भैसकेको उनले बताए । टाईफाईड खोप लगाउनुभन्दा १५ दिन अगाडि र लगाईसकेपछि १५ दिनसम्म कोरोनाको खोप लगाउन नहुन पौडेलले बताए । विश्वमा प्रत्यक वर्ष दुई करोड व्यक्तिमा संक्रमण हुने र करिब एक लाख ६१ हजार व्यक्तिको मृत्यु हुने तथ्याङ्क रहेको छ । नेपालमा भने प्रत्येक वर्ष चार लाख ५० हजारमा टाईफाईडको संक्रमण हुने गरेको कार्यक्रममा जानकारी गराईएको थियो । वयस्क व्यक्तिभन्दा बालबालिकालाई यस रोगको सम्भावन ११ प्रतिशत बढि रहेको छ ।